काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सञ्जाल फोनेपेले कुमारी बैंक लिमिटेडसँगको साझेदारीमा कुमारी फोनेपे क्रेडिट कार्ड सार्वजनिक गरेको छ ।
यसले नेपालको डिजिटल क्रेडिट प्रणालीलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। फोनेपे क्रेडिट कार्ड योजना अन्तर्गत जारी गरिएको यो भर्चुअल क्रेडिट कार्ड अब कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत कुमारी बैंकका ग्राहकहरूका लागि उपलब्ध भएको छ।
कुमारी फोनेपे क्रेडिट कार्ड एक पूर्ण रूपमा डिजिटल सेवा हो जसले प्रयोगकर्ताहरूलाई देशभरका कुनै पनि फोनेपे क्यूआर मर्चेन्टहरूमा स्क्यान गरी भुक्तानी गर्न सक्षम बनाउँछ ।
यसले परम्परागत क्रेडिट कार्डका मुख्य सुविधाहरूमा ४५ दिनसम्मको ब्याजमुक्त अवधि र लचिलो किस्ताबन्दी विकल्पलाई क्युआर भुक्तानीको सहजता र सुरक्षासँग संयोजन गरी, परम्परागत कार्डको आवश्यकतालाई पूर्ण रूपमा हटाएको छ।
यसको शुभारम्भ गर्दै कुमारी बैंकले ५० प्रतिशत क्यासब्याक (अधिकतम ५०० सम्म) रुपैयाँको विशेष अफर घोषणा गरेको छ । जुन कुमारी फोनेपे क्रेडिट कार्डमार्फत गरिएका कारोबारमा लागु हुनेछ । यो सीमित अवधिको अफरले क्यूआर आधारित क्रेडिट भुक्तानीको अनुभवलाई प्रवर्द्धन गर्दै दैनिक खर्चमा बचत गर्न मद्दत गर्ने उद्देश्य राखेको छ ।
फोनेपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमार भन्छन् ”कुमारी बैंक फोनेपे क्रेडिट कार्ड नेटवर्कमा आबद्ध भएपछि, हामी हाम्रो पहुँचलाई उल्लेखनीय रूपमा विस्तार गर्दैछौं — जसले प्रयोगकर्ताहरूलाई तत्काल, सुरक्षित र सजिलो रूपमा भर्चुअल क्रेडिट पहुँच गर्न सक्षम बनाउँछ। यो पूर्ण रूपमा भर्चुअल क्रेडिट कार्डले क्रेडिटलाई सबै नेपालीका लागि पहुँचयोग्य र समावेशी बनाउने दिशामा एक महत्वपूर्ण कदम चालेको छ। हाम्रो दृष्टिकोण भनेको डिजिटल युगको लागि क्रेडिटलाई पुनर्परिभाषित गर्नु हो — जहाँ क्रेडिट कार्ड प्राप्त गर्नु त्यति नै सजिलो हुन्छ जति भुक्तानी गर्न स्क्यान गर्नु।”
अब कुमारी बैंक फोनेपेको भर्चुअल क्रेडिट समाधान अपनाउने वित्तीय संस्थाहरूको बढ्दो सूचीमा समावेश भएको छ । जुन नेपालमा अझ स्मार्ट, सुरक्षित र समावेशी डिजिटल बैंकिङ भविष्यतर्फको संकेत हो। यो साझेदारीले डिजिटल क्रेडिट पहुँचलाई आधुनिक बनाउँदै प्रयोगकर्ताहरूलाई सहज, सुरक्षित र डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने साझा दृष्टिकोणलाई प्रतिविम्बित गर्छ। फोनेपे क्रेडिट कार्ड अब सिटिजेन बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक र कुमारी बैंकमा उपलब्ध छ।






प्रतिक्रिया दिनुहोस्