रसुवा । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीमा फसेका ९ जनाको सकुशल उद्धार गरिएको छ । सम्पर्कविहीन भएका ३७ जनामध्ये हराइरहेका २२ जना सुरक्षित ठाउँमा सकुशल रहेको अन्य १५ जना सम्पर्कविहीन रहेको सहायक प्रजिअ द्रुववप्रसाद अधिकारीले जानकारी दिए ।
हराएका र फसेका व्यक्तिलाई उद्धार गर्न हेलिकप्टर तयारी रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिकूल मौसमका कारण रसुवाको आकाशमा हेलिकप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ भएको छ । हेलिकप्टर भने नुवाकोटको त्रिशूलीमा तयारी अवस्थामा राखिएको जनाएको छ ।
सेनाको हेलिकप्टरद्वारा २ जनाको उद्धार
त्यस्तै, नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका कारण त्रिशूली नदीको उच्च वहावमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरद्वारा बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणको अनुसार नुवाकोट विदुर नगरपालिका–१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको वर्षाका कारण एक्कासी त्रिशूलीमा आएको बाढीमा फसेका थिए । अहिले दुवै जनाको हेलिकोप्टरद्वारा सकुशल उद्धार भइसकेको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ ।
ल्हेन्दे खोलाको बढी सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति
नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित ईभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी बगाएको छ ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेका आठ–नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ।
बढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्याएको जानकारी दिइएको छ। खोलामा बढी आएलगत्तै सशस्त्र प्रहरी बल रसुवाबाट सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमाण्डमा तालिमप्राप्त सातसहित २१ जनाको टोली खटाइएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
भोटेकोशीको बहाब कायमै रहेकाले उद्धार सामग्रीसहित खटिएका टोली घटनास्थल क्षेत्रमा पुग्ने प्रयास गरिरहेको जानकारी दिइएको छ । प्रहरीका अनुसार ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएको छ ।
रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध रहेको जानकारी दिइएको छ ।








प्रतिक्रिया दिनुहोस्