Skip to content

गोल्डस्टार जुत्ताको व्यापार खस्कियो, यस्तो छ घट्नुको कारण

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनासम्म आउँदा किरण सुज म्यानुफ्याक्चरर प्रालिको व्यापार खस्किएको छ । गोल्डस्टार जुत्ताको व्यापार गर्ने यस कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा साढे ७९ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२४ मा २ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीको व्यापार चालु आर्थिक वर्षमा भने घटेको पाइएको छ । यसैगरी, यस कम्पनीले सन् २०२३ मा २ अर्ब १५ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा २ अर्ब ४२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

गोल्डस्टार प्रमुख निर्यात बजार भारत हो । भारतले बीआईएस प्रमाणपत्र अनिवार्य गरेपछि यस कम्पनीको निर्यात करिब ३–४ महिनाका लागि निर्यातमा अस्थायी रोक लगाउनु परेको थियो । जसको कारण कम्पनीको व्यापारमा संकुचन आएको हो ।

यस अवधिमा कम्पनीको सञ्चालन नाफा (इबिट्डा मार्जिन ) सुधार आएको छ । चालु आवको ६ महिनामा यस कम्पनीको यस्तो मार्जिन २२.४४ प्रतिशत रहेको छ । सन् २०२४ सञ्चालन नाफा २२.१० प्रतिशत रहेको थियो । यसैगरी, सन् २०२२ मा १२.४८ प्रतिशत र सन् २०२३ मा १८.९९ प्रतिशत रहेको थियो ।

यस कम्पनीले सन् १९७० को दशकदेखि विभिन्न प्रकारका जुत्ता उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले वार्षिक १ करोड ६६ लाख ५० हजार जोडी जुत्ता उत्पादन गर्दै आएको छ । कम्पनीले तीनवटा स्थानबाट उत्पादन गरिरहेको छ । कम्पनीअनुसार चप्पलकारखाना, बालाजु र भैरहवाबाट उत्पादन गरी व्यापार गर्दै आएको छ । तर पछिल्लो ४ वर्षमा औषतमा २९ प्रतिशत मात्र जुत्ता उत्पादन क्षमता उपयोग भइरहेको छ ।

यस कम्पनीमा अमिरप्रताप जंगबहादुर राणाको २८ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीको नेतृत्व कार्यकारी निर्देशक विदुषी राणाले गर्दै आएकी छन् । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब रुपैयाँको रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यस कम्पनीको ऋणलाई ‘आईआरएन बीबी/एफो’ रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको दीर्घकालीन तथा अल्पकालीन ऋण तिर्ने क्षमता कमजोर र जोखिम युक्त रहेको छ, भन्ने जनाउँछ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime