Skip to content

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयले एसियाली बजार संकटमा

nabil bank

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी वस्तुहरूमा २५ प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएपछि जापानका प्रधानमन्त्री सिगेरु इसिबाले यसलाई गम्भीर रूपमा चिन्ताजनक बताएका छन् । लामो समयदेखि अमेरिका मित्र राष्ट्रका रूपमा रहँदै आएको टोकियोले यस्ता शुल्क टार्न प्रयासरत रहँदै आएको छ ।

जापानले आफ्ना समस्याग्रस्त कार निर्माता कम्पनीहरूका लागि सहुलियत खोजिरहेको थियो भने अमेरिकी चामल बजारमा प्रवेश गराउन ट्रम्प प्रशासनको दबाबलाई रोक्ने प्रयास पनि गरिरहेको थियो । यसबीच धेरै चरणका व्यापार वार्ता भए, र जापानी व्यापार मन्त्रीले गत अप्रिलयता सात पटकभन्दा बढी वासिङ्टन डीसीको भ्रमण गरे । तर ती भ्रमणहरूले खासै उपलब्धि भने ल्याउन सकेनन् ।
वार्ताका क्रममा ट्रम्पले जापानलाई कठोरबाट बिग्रिएको भन्नेसम्मको टिप्पणी गरे । यसै साता जापान पनि ती २३ राष्ट्रहरूको सूचीमा समावेश भयो जसलाई अमेरिकी ट्यारिफ पत्र पठाइएको छ — तीमध्ये १४ राष्ट्र एशियामा पर्छन् ।

शुक्रबार ट्रम्पले क्यानडाबाट आयात हुने वस्तुहरूमा ३५ प्रतिशत शुल्क घोषणा गरे । साथै, उनले प्रायः सबै व्यापारिक साझेदारमाथि हालको १० प्रतिशत ट्यारिफलाई बढाएर २० प्रतिशतसम्म पु¥याउने योजना रहेको बताए ।

विश्वभरका राष्ट्रहरूलाई अमेरिकी बजारमा पहुँच कायम राख्न चाहने हो भने सन् २०२५ अगस्ट १ भित्र अमेरिकासँग सम्झौता गर्नुपर्ने समयसीमा दिइएको छ । तर जापानजस्तो नजिकको मित्र राष्ट्रसमेत उच्च शुल्कको सामना गरिरहेको अवस्थामा अन्य राष्ट्रहरूले सम्झौताको सम्भावनाबारे शंका गर्न थालेका छन् ।

यसका बाबजुद केही अर्थशास्त्रीहरू भने आशावादी छन् । युनाइटेड ओभरसिज बैंकका अनुसन्धान प्रमुख सुआन टेक किनका अनुसार, डेडलाइनले नयाँ वार्ताका लागि दबाब सिर्जना गरेको छ ।
थाइल्यान्ड, मलेसिया, कम्बोडिया, भियतनामलगायतका निर्यातमा निर्भर राष्ट्रहरूले समाधान खोज्न झनै प्रयास गर्ने अपेक्षा गरिएको छ । यी राष्ट्रहरू चीनको निर्यातलाई तेस्रो देशमार्फत घुमाएर पठाउने ‘ट्रान्सशिप्ड गुड्स’ का कारण अमेरिकी निगरानीमा छन् ।

सिंगापुरस्थित नेसनल युनिभर्सिटीका व्यापार विज्ञ एलेक्स क्याप्रीका अनुसार, ट्रान्सशिप्ड वस्तुहरूप्रति शुल्क कसरी लाग्छ भन्ने स्पष्ट छैन । ती तयार वस्तुहरू हुन् कि अन्य देशबाट आयात भएका सामग्री पनि समेटिन्छ भन्ने अस्पष्टता छ ।

शुल्क स्थायी हुने संकेत देखिन थालेपछि सबैभन्दा ठूलो असर विश्व व्यापारमै परेको विश्लेषकहरूको ठम्याइ छ । अमेरिका, युरोप र चीनका बहुराष्ट्रिय कम्पनीहरू जोखिममा छन्, जसको प्रभाव अमेरिकी आयातकर्ता र उपभोक्तामा पनि पर्छ ।

विशेषगरी एशियाली राष्ट्रहरू जहाँ अधिकांश उत्पादनमूलक उद्योगहरू छन् । उनीहरुमा आर्थिक आकांक्षामा ठूलो चोट पुग्ने सम्भावना देखिन्छ । कम्बोडियाका लाखौं कामदारहरू गार्मेन्ट उद्योगमा निर्भर छन्, र ती उद्योगहरू निर्यातमा भर पर्छन् ।

अर्थशास्त्री जेस्पर कोल भन्छन्, “अमेरिकासँग घनिष्ट आर्थिक र सैनिक सम्बन्ध हुँदाहुँदै पनि जापान अन्य एशियाली राष्ट्रसरह व्यवहार भोगिरहेको छ ।” जापानसँग ठूला वित्तीय भण्डार छन् र दीर्घकालीन वार्ताको लागि तयार देखिएको छ ।

अप्रिलमा ट्रम्पले ट्यारिफ घोषणा गरेपछि जापानी सरकारले तत्काल ‘आर्थिक आपतकाल’ घोषणा गरेर सयौं परामर्श केन्द्र सञ्चालनमा ल्याएको थियो । प्रधानमन्त्री इसिबाले अमेरिकाबाट चामल खरिद गर्न अस्वीकार गरेका छन्, जसले जापानमा मूल्यवृद्धि भए पनि घरेलु किसानहरूको संरक्षणलाई प्राथमिकता दिएको छ । उनले सैन्य खर्च बढाउन ट्रम्पको माग पनि अस्वीकार गरेका छन् ।

चीनलाई फाइदा
विश्लेषकहरूका अनुसार ट्रम्पले पारम्परिक कूटनीतिक माध्यमको सट्टा ट्यारिफ पत्रहरू सार्वजनिक रुपमा इन्टरनेटमा राख्नु राजनीतिक नाटक हो जसले अन्य राष्ट्रहरूलाई झस्काएको छ । एलेक्स क्याप्रीका अनुसार, यसरी सिर्जना भएको अन्योल चीनका लागि अवसर बन्नेछ, जसले आफूलाई ट्रम्पको अप्रत्याशित व्यवहारको विकल्पका रूपमा प्रस्तुत गर्न खोजिरहेको छ ।तर अमेरिकी बजार सजिलै छोड्न सकिने छैन, र चीन आफैँ पनि जापानदेखि भियतनामसम्मका देशहरूसँग व्यापारिक तथा कूटनीतिक तनावमा छ ।

चीनसँगको वार्ता सन् २०२५ अगस्ट १३ सम्म चल्न सक्छ, तर कुन देशले अमेरिका वा चीनसँग बलियो सम्बन्ध बनाउँछ भन्ने होड अझै रोकिएको छैन । एनयूएसका प्रोफेसर डेविड ज्याक्सका अनुसार, “दुवै पक्षले सम्बन्ध समाप्त गर्नुपर्ने महसुस गरेका छन्, तर त्यो प्रक्रिया धेरै वर्ष, सायदै दशकौंसम्म लम्बिन सक्छ ।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life