काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिबाट सेयर लगानीकर्ता उत्साहित भएका छन् । गभर्नर डा. विश्वनाथ पौडेलले आज आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिले लगानीकर्ताहरु उत्साहित भएको प्रतिकृया दिएका छन् ।
राष्ट्र बैंकले सेयर धितोमा जाने एकल कर्जाको सिमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ । नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष छोडेलाल रौनियारले राष्ट्र बैंकको यो नीतिले बजार थप चलायमान बनाउने बताए ।
उनले गभर्नर डा पौडेलले लिएको यो नीतिले बैंकबाट लोनमा सुविधा सहज हुने बताए ।
यसले सेयर लगानीकर्तालाई प्रोत्साहन मिल्ने र बजारलाई पनि सहयोग गर्ने उनको भनाइ छ ।लगानीकर्ताले १५ करोडको सिमा हटाउन माग गरेको भएपनि २५ करोड पुर्याउनु पनि सकारात्मक भएको तर्क गरे ।
‘हामीले यो एकल कर्जाको सिमा हटाउन माग गरेका थियौ’ उनले भने ‘अहिले यो सिमा केही बढेको छ । यो पनि सकारात्मक विषय हो ।’ यसले बैंकबाट प्रवाह हुने कर्जा बढ्ने र बैंकको ब्याज आम्दानी समेत बृद्धि हुने उनको भनाइ छ ।
यता सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेलले मौद्रिक नीति सेयर लगानीकर्ता मैत्री रहेको बताए । उनले एकल कर्जाको सिमा बढाउनु लगानीकर्ताको हितमा रहेको उल्लेख गरे । उनले गभर्नर पौडेल बजार मैत्री रहेको र उनले लिने नीति पनि सोही अनुसार हुने बताए ।






प्रतिक्रिया दिनुहोस्