Skip to content

पुँजी पुर्‍याउन २३ वटा ब्रोकरले पाए थप ९ महिना समय: अर्थले दियो स्वीकृत, कुन ब्रोकरको पुँजी कति ?

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तोकेको चुक्ता पुँजी नपुर्याएका २३ वटा ब्रोकर कम्पनीले पुँजी पुर्याउन ९ महिनाको समय पाएका छन् ।

धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ लाई संशोधन गर्दै ब्रोकरको पुँजी पुर्याउने व्यवस्था ९ महिना थप गरेर स्वीकृतीका लागि अर्थ मन्त्रालयमा पठाएको थियो ।

अर्थ मन्त्रालयले उक्त नियमावली संशोधन गर्दै आज धितोपत्र बोर्डमा पठाएको छ । मन्त्रालयले स्वीकृत गरेर पठाएको नियमावली सेबोनको बोर्ड बैठकले पारित गरेपछि कार्यान्वयमा आउने छ । यो नियमावली असार भित्रै बोर्ड बैठकले स्वीकृत गर्नुपर्ने छ ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पुँजी पुर्याउने समय २ वर्ष थप्न माग गर्दै आएको थियो । तर, बोर्डले पहिलो चरणमा ९ महिनाको मात्रै समय थप्न अर्थमा प्रस्ताव गरेको थियो । २०८२ असार मसान्तभित्र ब्रोकरको चुक्ता पुँजी २० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था थियो । बोर्डले तोकेको समयमा ब्रोकरले पुँजी पुर्याउन नसकेपछि ९ महिना समय थपिएको हो । ब्रोकरले समय २ वर्ष थप्न माग गरेका थिए । तर अहिले ब्रोकरले ९ महिनाको मात्रै समय दिएको हो ।

बोर्डले धितोपत्र व्यवसायी गाभ्ने र गाभिने वा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका–२०८१ गत चैत १५ गते जारी गरेको छ । बोर्डले मर्जको निर्देशिका ढिला जारी गरेका कारण ब्रोकरलाई पुँजी पुर्याउने योजना बनाउन समय लागेकाले समय थप्न आग्रह गरेको एसोसिएसनका अध्यक्ष सागर ढकालले बताए ।

बोर्डका अनुसार २३ वटाको पुँजी अझै पुग्दैन् । पुँजी नपुग्ने ब्रोकरमा एबिसी सेक्युरिटिज, अरण सेक्युरिटिज, एशियन सेक्युरिटिज, क्रियटिभ सेक्युरिटिज, क्रिस्टल कन्चजंघा सेक्युरिटिज, दिब्या सेक्युरिटिज, इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल, कालिका सेक्युरिटिज, मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ, मार्केट सेक्युरिटिज, मिदास स्टक ब्रोकिङ, नेपाल स्टक हाउसको पुँजी पुगेको छैन ।

यस्तै ओपल सेक्युरिटिज इन्भेष्टमेन्ट, प्रज्ञान सेक्युरिटिज, सगरमाथा सेक्युरिटिज, सेक्योर्ड सेक्युरिटिज, सेवा सेक्युरिटिज, सिल्पा सेक्युरिटिज, साउथ एसियन बुल, श्री हरि सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, स्वेता सेक्युरिटिज र त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनी रहेको छ । यी कम्पनीको पुँजी २० करोडभन्दा कम छ । २३ मध्ये अधिकांश कम्पनीको ब्रोकरको पुँजी १० करोड भन्दा कम छ ।

बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ लाई २०७९ भदौ २९ गते पाँचौ संशोधन गर्दै ब्रोकर कम्पनीको चुक्ता तोकेको थियो । नियमावलीको अनुसूची ९ मा सीमित कार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी २० करोड, पूर्णकार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी ६० करोड र धितोपत्र व्यापारीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार हाल धितोपत्र व्यापारीको संख्या २ (नागरिक स्टक डिलर र नबिल स्टक डिलर) रहेका छन् । यस्तै पूर्ण कार्यगर्ने ब्रोकरको संख्या २ रहेको छ । जसमा हिमालयन सेक्युरिटिज र एनआईएमबि स्टक मार्केट छन् । बाँकी ८८ वटा सीमित कार्य गर्ने ब्रोकर रहेका छन् । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को २०७९ भदौ २९ गते भएको पाँचौं संशोधनको नियम ७ को उपनियम ३ मा ‘धितोपत्र दलाल वा व्यापारीले अर्को धितोपत्र दलाल वा व्यापारीलाई प्राप्ति गर्ने वा गाभ्ने र गाभिने सम्बन्धमा बोर्डले आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ’ भन्ने व्यवस्था गरेको छ । यो ब्यबस्था ब्रोकरको पुँजी पुर्याउन गरिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime