काठमाडौं । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले आज नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई सुझाव प्रतिवेदन बुझाएको छ ।
बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा कार्यदल बनेको थियो ।
कार्यदलमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्य एवम् नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्य सचिव रहेका थिए । बैंकबाट गठित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष असार २४ गते नै प्रारम्भिक प्रतिवेदन
बुझाएको थियो । आज भने अन्तिम प्रतिवेदन बुझाएको हो । यही सुझावका आधारमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाएको हो ।
कार्यदललाई बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा अध्ययन गर्न लगाइएको थियो ।
यस्तै आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा, बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा अध्ययन गर्न भनिएको थियो ।
यस्तै नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा र पुँजीबजार विकासमा केन्द्रीय बैंंकको समन्वयात्मक भूमिका सम्बन्धमा अध्ययन गर्न भनिएको थियो ।






प्रतिक्रिया दिनुहोस्