काठमाडौं । काठमाडौं महानगर पालिका भित्रको जग्गाको मूल्य तीन वर्ष देखि यथावत् रहेको छ । महानगरले सार्वजनिक गरेको आर्थिक विधेयक अनुसार आर्थिक वर्ष प्रस्तावित आर्थिक विधेयक २०८२/०८३ मा जग्गाको मूल्य यतावत राखिएको छ ।
महानगरले प्रस्तावित आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका प्रमुख सडक एवं अन्य सडकको दायाँबायाँ जोडिएका जग्गाहरूको मूल्य तय गरेको छ । महानगरले सार्वजनिक गरेको आर्थिक ऐनअनुसार काठमाडौंका मुख्य क्षेत्र न्युरोड, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार रत्नपार्क लगायतको क्षेत्रको जग्गाको मूल्य प्रतिआना ५० लाख रुपैयाँ तोकेको छ ।
महानगरले केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल मुलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गाहरू, हनुमान ढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्व विश्व ज्योति हल हुँदै तीन धारा पाठशालासम्म मूलबाटासँग जोडिएका, महेन्द्र सालिकदेखि काठमाडौँ प्लाजासम्म मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ५० लाख रुपैयाँ निर्धारण गरिएको छ ।
यसै गरी, माइतीघर, सिंहदरबार पश्चिम गेट, पुतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जय नेपाल, कान्ति पथ जमल, दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू ५० लाख रुपैयाँ निर्धारण गरिएको छ ।
महानगरले जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वारा हुलाक, त्रिपुरेश्वर सम्मको मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ५० लाख रुपैयाँ निर्धारण गरेको छ । यसै गरी, रत्नपार्क, पुरानो बसपार्क, सहिद गेट हुँदै सुनधारा चोकसम्म, सिंहदरबार पश्चिम गेट हुँदै भद्रकालीसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरू ५० लाख रुपैयाँ रहेको छ ।
पुतलीसडक, बागबजार, रत्नपार्क सम्मको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य ४० लाख रुपैयाँ र पुतलीसडक कुमारी बैंक चोकदेखि पुरानो बसपार्कसम्मको (शुक्रपथ) मूलबाटो, पद्मोदय मोडदेखि सभागृह चोकसम्मको मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य ४० लाख रुपैयाँ कायम गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्