काठमाडौं । अर्थ समितिले अर्थ मन्त्रालयसँग नेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि प्रतिवेदन माग गरेको छ । समितिले अर्थ मन्त्रालयलाई पुनर्संरचनाको सम्बन्धमा हालसम्म नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले अर्थ मन्त्रालयसमक्ष पेश गरेका प्रतिवेदन, सिफारिस प्रस्ताव र अन्य कागजात लगायतका विवरण उपलब्ध गराउन भनेको हो ।
यसैगरी, नयाँ स्टक एक्सचेन्जको आवश्यकता सम्बन्धमा हालसम्म नेपाल धितोपत्र बोर्डले अर्थ मन्त्रालयसमक्ष पेश गरेका प्रतिवेदन, सिफारिस प्रस्ताव र अन्य कागजात माग गरेको छ । अर्थ मन्त्रालय वा मातहतका निकायबाट गठित कुनै आयोग, समिति, कार्यदलले पेश गरेका कुनै प्रतिवेदनमा नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना र नयाँ स्टक एक्सचेन्जको आवश्यकता सम्बन्धमा सिफारिस गरेको भए सो को विवरण पनि उपलब्ध गराउन समितिले भनेको छ ।
समितिले आफ्नो कार्यक्षेत्र अन्तर्गतका विभिन्न निकायहरूलाई दिएका निर्देशनहरूको कार्यान्वयन भए–नभएको बारे सम्बन्धित निकायहरूबाट बुझ्ने र कार्यान्वयन नभएको भए कार्यान्वयन गर्न निर्देशन दिने निर्णय गरेको जानकारी पनि गराएको छ ।
प्रतिक्रिया दिनुहोस्