एजेन्सी । विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले अमेरिकास्थित दुर्लभ खनिज उत्खनन गर्ने कम्पनी एमपी मटेरियल्ससँगको साझेदारीमार्फत ५० करोड डलर बराबरको लगानी गर्ने घोषणा गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उत्पादनहरू स्वदेशमै निर्माण गर्न दबाब दिएपछि एप्पलले यो निर्णय लिएको हो ।
साझेदारीअन्तर्गत एप्पलले अब एमपी मटेरियल्सबाट दुर्लभ खनिजबाट बनेका चुम्बकहरू खरिद गर्नेछ, जसले अमेरिकाभित्रको आपूर्ति श्रृंखला बलियो बनाउने विश्वास गरिएको छ । साथै, कम्पनीले क्यालिफोर्नियामा नयाँ पुनःप्रयोग केन्द्र निर्माण गर्नेछ, जहाँ पुराना उपकरणबाट पुनःप्राप्त दुर्लभ खनिजहरू प्रशोधन गरिनेछन् र ती सामग्री एप्पलका नयाँ उपकरणहरूमा प्रयोग गरिनेछन् ।
यो योजना एप्पलले यसै वर्ष घोषणा गरेको ५० खर्ब डलर बराबरको स्वदेशी लगानी योजनाको एक हिस्सा हो । राष्ट्रपति ट्रम्पको प्रविधि उत्पादनहरू स्वदेशमै निर्माण गराउने अभियानसँग पनि यो योजना मेल खान्छ । दुर्लभ खनिजहरू मोबाइल, टेलिभिजन, र सैन्य विमानदेखि लिएर विभिन्न प्रविधिमा अत्यावश्यक सामग्री हुन्। हालसम्म चीनले यस्तो खनिज प्रशोधनको लगभग सम्पूर्ण नियन्त्रण गरेको छ ।
एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले भने, “अमेरिकामा हुने नवीनता हाम्रो प्रत्येक कामको मूल मर्म हो, र हामी अमेरिकाको अर्थतन्त्रमा हाम्रो लगानी अझ गहिरो बनाउँदा गर्व गर्दछौं । दुर्लभ खनिजहरू अत्याधुनिक प्रविधिको निर्माणका लागि अनिवार्य हुन्छन्, र यो साझेदारीले यस्ता सामग्रीहरूको आपूर्ति स्वदेशमै सुदृढ बनाउनेछ ।”
टेक्सास राज्यको फोर्ट वर्थ नामक स्थानमा रहेको एमपी मटेरियल्सको केन्द्रमा एप्पलका उपकरणहरूका लागि छुट्टै चुम्बक निर्माण लाइन स्थापना गरिनेछ । सन् २०२७ देखि आपूर्ति सुरु हुने योजना छ, जसले सयौँ मिलियन उपकरणहरूलाई सामग्री प्रदान गर्नेछ ।
एप्पलका अनुसार यस परियोजनाले थुप्रै नयाँ रोजगारी सिर्जना गर्नेछ । साथै, दुवै कम्पनीले अमेरिकी श्रमिकहरूलाई चुम्बक निर्माणसम्बन्धी तालिम दिनेछन्, जसले आवश्यक जनशक्ति विकासमा सहयोग पुग्नेछ ।
चीनले अहिले दुर्लभ खनिज प्रशोधनको ९२ प्रतिशत हिस्सा नियन्त्रणमा राखेको छ । ती खनिजहरू पृथ्वीको सतहभरि पाइने भए पनि निकाल्न र प्रशोधन गर्न जटिल र महँगो पर्ने भएकाले चीनजस्तो देशमा मात्र प्रशोधन सम्भव भएको हो ।
राष्ट्रपति ट्रम्पले प्रविधि कम्पनीहरूलाई आफ्ना उत्पादनहरू भारत, चीन वा अन्यत्र नभई अमेरिका भित्रै बनाउन आग्रह गर्दै आएका छन् । उनले गत मे महिनामा सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै भनेका थिए, “मैले एप्पलका प्रमुखलाई धेरै पहिलेदेखि नै भनिसकेको छु। अमेरिकामा बिक्री हुने मोबाइल फोनहरू अमेरिकामै बनिनुपर्छ, अन्यथा कम्तीमा २५ प्रतिशत शुल्क तिर्नुपर्नेछ ।”
यद्यपि, एप्पलले हालसम्म आफ्ना मुख्य उत्पादनहरू अमेरिका भित्रै बनाउने निश्चित योजना सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्