Skip to content

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ चयन

nabil bank

काठमाडौं । प्रेस काउन्सिल, नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन भएका छन् ।

अफ्रिकी मुलुक ताञ्जानियामा जारी काउन्सिलको शिखर सम्मेलनबाट उनी उपाध्यक्ष निर्वाचित भए । श्रेष्ठ विश्व प्रेस काउन्सिलको निवर्तमान महासचिवसमेत भए । काउन्सिलको आगामी तीन वर्षका लागि सर्वसम्मतिबाट नयाँ नेतृत्व चयन भएको हो । यद्यपि, चुनावका सम्पूर्ण प्रक्रिया पूरा गरिएको नवनिर्वाचित उपाध्यक्ष श्रेष्ठले बताए ।

नेपालको प्रतिनिधित्व गरेका श्रेष्ठको प्रस्तावकमा भारतीय प्रेस काउन्सिलका प्रतिनिधि सुधीरकुमार पण्डा तथा समर्थकमा जिम्बाब्वेका लफ्टी दुबे, म्यान्मारका डा तिन तुन ओ, कोसोभोका इब्राहिम अर्सलान र तान्जानियाका काजुबी मुकाजाङ्गा रहेका थिए ।

काउन्सिल अध्यक्षमा डेभिड ओम्ओयो (केन्या) र अर्का उपाध्यक्षमा अली हान्सेर्ली (साइप्रस) निर्वाचित भए । यस्तै, तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा महासचिवको जिम्मेवारीमा आउँदा टर्कीका तामेर अताबारुत कोषाध्यक्ष भएका छन् ।

अन्तरराष्ट्रिय सम्पर्क संयोजकमा भारतका सिके नायक र तान्जानियाका जियादा किलोबो छानिएको जनाइएको छ ।

सोमबारदेखि तान्जानियाको आरुसामा भइरहेको काउन्सिलको विश्व सम्मेलन शुक्रबार समापन हुँदैछ । सम्मेलनमा नेपालसहित २७ राष्ट्रका प्रतिनिधिको सहभागिता रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime