Skip to content

काहुँ सिस्नेरीका थापा च्याउखेतीमा लगानी बढाउँदै

nabil bank

गण्डकी । युवाहरूको विदेश मोह बढेसँगै देशव्यापी रूपमा कृषिप्रतिको अनाकर्षण बढिरहेको अवस्थामा पोखरा महानगरपालिका–११ का ध्रुवबहादुर थापाले भने व्यावसायिक च्याउखेतीमा लगानी बढाउँदै जाने बताएका छन् ।

काहुँ सिस्नेरी एग्रो फार्म सञ्चालन गर्दै आएका उनले च्याउखेतीका लागि करिब १ करोड ५० लाख रुपैयाँ बढी लगानी गरिसकेका छन् । विगतमा खाद्यान्न आपूर्तिको काममार्फत व्यावसायिकतामा लागेका उनले कोरोना महामारीपछि व्यावसायिक रूपमा च्याउखेती सुरु गरेका हुन् ।

कोरोनाकालीन समयमा आएको व्यावसायिक च्याउखेतीको योजनालाई व्यवहारमा उतार्नुअघि विसं २०७४ देखि अध्ययन तथा प्रक्रियागत काम सुरु गरेका थिए । अहिले उनले चिस्यानसहितको आधुनिक प्रविधियुक्त टनेलमा च्याउखेती गरिरहेका छन् ।

विसं २०७७ फागुनमा चिस्यानसहितको प्रविधियुक्त टनेलको काम सकेपछि च्याउखेती थालेका उनले सुरुमा ५० लाख लगानी गरेको जानकारी दिए । उनका अनुसार सुरुमा १२ टन क्षमताको उक्त टनेलबाट प्रत्येक तीन महिनाको एक याममा दुई हजार ४०० किलोसम्म गोब्रे च्याउ उत्पादन भएको थियो ।

बजारको बढ्दो मागसँगै च्याउखेतीप्रतिको लगाव बढेपछि अहिले १२ टन क्षमताको टनेललाई विस्तार गरी २० टन बनाएको जनाउँदै थापाले थप २० टन क्षमताको टनेल निर्माण गरिरहेको बताए । बाह्र टन क्षमताको टनेलको क्षमता वृद्धिसँगै अर्को टनेल निर्माण गर्दा करिब रु ७० लाख लगानी भएको उनले जानकारी दिए।

पछिल्ला समयमा गरिएको थप टनेल निर्माण तथा क्षमता विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत २७ लाख ९१ हजार ८ सय ८८ रूपैयाँ अनुदानबापतको रकम प्राप्त भएको थापाले उल्लेख गरे । उनका अनुसार दैनिक करिब पाँच सय किलो गोब्रे च्याउ टिप्दै आइएको छ ।

‘कन्ये च्याउ सामान्य टहरामा उत्पादन गर्न सकिए पनि गोब्रे च्याउका लागि हाइटेक प्रविधि जडित टनेलभित्र गर्नुपर्ने हुन्छ । आफूले उत्पादन गरिरहेको च्याउको खपत पोखरामा हुने गरेको छ’, थापाले भने । बीस टन क्षमताका दुईवटा टनेलबाट पूर्णरूपमा उत्पादन हुँदा प्रत्येक तीन महिनाको समयावधिमा छ हजार किलो च्याउ उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

‘बजारमा प्रतिकिलो तीन सयदेखि तीन सय ५० रुपैयाँसम्ममा च्याउ बिक्री हुन्छ’, उनले भने, ‘पोखराको बजारमा दैनिक छ सय किलोसम्म यो च्याउको माग छ ।’ थापाको च्याउखेती फार्ममा हाल १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । च्याउको कम्पोष्ट राख्ने, टिप्ने, त्यसको व्यवस्थापन गर्नेलगायत कामका लागि आवश्यकताअनुसार अन्य जनशक्ति खटाइएको गरिएको उहाँले बताए ।

बहुपोषणयुक्त च्याउमा ३५ प्रतिशत प्रोटिन पाइन्छ भने क्यालोरी तथा चिल्लो पदार्थको मात्रा कम हुने भएकाले पछिल्लो समय यसको माग र प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको थापाको भनाइ छ । ‘च्याउमा ‘एर्गो थियोनिन’ भन्ने तत्व हुन्छ, जसले चाउरीपना हटाउनुका साथै छालाको सुरक्षा गर्दछ । यसमा ‘एन्टी अक्सिडेन्ट’ प्रशस्त मात्रामा पाइन्छ’, उनले भने।

रोग प्रतिरोधात्मक क्षमता हुने च्याउमा भिटामिन डि प्राप्त हुन्छ भने कम मात्रामा कार्बोहाइड्रेड हुन्छ । नियमित रूपमा च्याउ खानाले उच्च रक्तचाप, मधुमेहलगायत रोग नियन्त्रण गर्न मद्दत पुग्ने तथा क्यान्सरको जोखिम कम गर्नुका साथै तौल घटाउन पनि उपयोगी मानिन्छ ।

च्याउ खेतीमा आकर्षण बढाउँदै परियोजना

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, कास्कीले पोखरा र आसपासमा व्यावसायिक च्याउ खेतीप्रतिको आकर्षण बढाउन अनुदान, सहयोगलगायतका कार्यक्रम अघि बढाएको छ ।

परियोजनाअन्तर्गत पोखरा र आसपासका क्षेत्रमा च्याउखेतीको विकासका लागि गत आवमा करिब रु ४० लाख लगानी गरिएको परियोजना कार्यान्वयन इकाईका प्रमुख माधव लम्सालले जानकारी दिए । पोखरा कन्ये च्याउमा आत्मनिर्भर बनिसकेको बताउँदै उनले गोब्रे च्याउमा आत्मनिर्भर बनाउनका लागि पहल भइरहेको उल्लेख गरे ।

आगामी एक–दुई वर्षभित्रमा यस क्षेत्रलाई गोब्रे च्याउमा पनि आत्मनिर्भर बनाउने गरी काम भइरहेको उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime