काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा ८२ प्रतिशत मात्र बजेट खर्च गरेको छ । बिहीबारबाट नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । बुधबारसम्म सरकारले बजेटको ८१.८७ प्रतिशत हिस्सतामात्र खर्च गरेको हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १८ खर्ब ६० अर्बको बजेट कार्यान्वयन गरिएको थियो । असार मसान्तसम्म खर्च भने मात्र १५ खर्ब २३ अर्ब १० करोड बराबर भएको छ । यो लक्ष्यको ८१.८७ प्रतिशत हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्षमा पनि सरकार पुँजीगत खर्च गर्न उदासीन देखिएको छ। सरकारले गत आवमा तीन खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरेको थियो । विनियोजन भएको बजेट खर्च दुई खर्ब २२ अर्ब मात्र भयो । जुन लक्ष्यको ६३.२ प्रतिशत मात्र हो । चालु खर्च ८५.९५ र वित्तीय व्यवस्था तर्फको बजेट ८७.१४ प्रतिशत मात्र खर्च भएको छ ।
यसैगरी, सरकारले चालु आवको लागि १५ जेठमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । यसमध्ये चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत ४ खर्ब ८० अर्ब र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७५ अर्ब विनियोजन गरिएको छ । सरकारले ल्याएका नयाँ करका दरहरू कतिपय १५ जेठ र बाँकी सबै आजैदेखि कार्यान्वयनमा आएका छन् ।






प्रतिक्रिया दिनुहोस्