Skip to content

१ वर्षमा कैलाली भन्सारले गर्यो ८ अर्ब ६६ करोड ९८ लाख राजस्व संकलन

nabil bank

कैलाली । कैलाली भन्सार कार्यालय धनगढीले ८ अर्ब ६६ करोड ९८ लाख रूपैयाँ राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असार मसान्तसम्मको एक वर्षको अवधिमा सो राजस्व संकलन गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ मा कार्यालयको ११ अर्ब १६ करोड २६ लाख रूपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा आठ अर्ब ६६ करोड ९८ लाख रूपैयाँ अर्थात् ७७ दशमलव ६७ प्रतिशतमात्रै राजस्व संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार भन्सार महसुलतर्फ तीन अर्ब २३ करोड ९९ लाख रूपैयाँ, मूल्य अभिवृद्धि करतर्फ तीन अर्ब २३ करोड १५ लाख रूपैयाँ, अन्तःशुल्कतर्फ २१ करोड ४४ लाख र अन्यतर्फ एक अर्ब ९८ करोड ३९ लाख रूपैयाँ राजस्व संकलन भएको छ ।

सूचना अधिकारी अर्यालका अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनमा  ५७ करोड ५० लाख रूपैयाँ, भदौमा ५३ करोड ८४ लाख रूपैयाँ, असोजमा ६७ करोड २४ लाख रूपैयाँ, कात्तिकमा ६२ करोड ७८ लाख रूपैयाँ, मङ्सिरमा ८१ करोड १३ लाख रूपैयाँर पुसमा ६५ करोड ८७ लाख रूपैयाँ राजस्व सङ्कलन भएको छ ।

त्यस्तै माघमा रु ७३ करोड दुई लाख, फागुनमा ७२ करोड ७६ लाख रूपैयाँ, चैतमा ७८ करोड १४ लाख रूपैयाँ, वैशाखमा ८१ करोड ८० लाख रूपैयाँ, जेठमा ८७ करोड १३ लाख र असारमा ८५ करोड ६९ लाख रूपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए ।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको थिएन । अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ५८ करोड २४ लाख रूपैयाँ वार्षिक राजस्व संकलनको लक्ष्य रहेकामा ७ अर्ब ९१ करोड ८० लाख रूपैयाँमात्रै राजस्व संकलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए । जुन वार्षिक लक्ष्यको ६८ दशमलव ३६ प्रतिशतमात्रै थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime