Skip to content

डाक्टर बन्ने सोच बोकेका सारु कसरी सीए बन्दै आइक्यानको अध्यक्ष बने

nabil bank

पाल्पा रामपुरको जनविकास माध्यमिक विद्यालयबाट २०५४ सालमा पहिलो श्रेणीमा एसएलसीमा पास गरेपछि निलबहादुर सारू मगर डाक्टर बन्ने सपना बोकेर सदरमुकाम तानसेन पुगेका थिए । उनको तानसेनको यात्रा दोस्रो पटक थियो । पहिलो पटक एसएलसी पास नहुँदै र दोस्रो पटक एसएलसी पास भएपछि ।

गाउँका अधिकांश लाहुरे भए पनि उनको परिवार कृषिमै निर्भर थियो । सारूका हजुरबुबाले लाहुरे बन्नुभन्दा डाक्टर बनेर सेवा गर्न सके इज्जत र पुण्य दुवै मिल्छ भन्नुहुन्थ्यो । हजुरबुबाको चिकित्सक बन्नु भन्ने सुझावलाई सपना
बनाएर उनी तानसेनमा विज्ञान पढ्न आएका थिए ।

“तानसेनमा रहेको त्रिभुवन बहुमुखी क्याम्पसमा विज्ञान पढ्नका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुनुपर्थ्यो, मेरो पहिलो प्रयास असफल भयो”, सारूले भने, “दोस्रो र तेस्रो प्रयास गर्नुभन्दा बरु आइकम पढ्न बेस लाग्यो ।” सारूलाई विज्ञानबाट व्यवस्थापन संकाय पढेर सीए बन्नुपर्छ भन्ने सोच गाउँले विजयराज घिमिरेबाट आएको थियो ।

घिमिरे पेसाले चार्टर्ड एकाउन्टेन (सीए)का साथै नेपाली कांग्रेसको राजनीतिमा पनि उत्तिकै सक्रिय थिए । गाउँमा उनको राम्रो इज्जत थियो । तत्कालीन समयमा सीए घिमिरे गाउँका युवाका लागि प्रेरणाको स्रोत थिए
। “उहाँलाई हामी धेरैले आइडलाइज गर्दथ्यौँ, उहाँले पढेको विषय गाह्रो हुन्छ रे भन्ने सुनेका थियौँ, उहाँकै पदचाप पछ्याउँदै आइकम, बिबिएस हुँदै सीए पढ्ने योजना बनाएको हुँ”, सारूले लगानीन्यूजसँगको कुराकानीमा भने ।

सीए पढाइमा घिमिरेको अभिप्रेरणाले काम गरेको बताउने सारू लेखा व्यवसायहरूको नियमनकारी संस्था नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था(आइक्यान)को अध्यक्ष बन्दै गर्दा घिमिरेले यो लोकबाट बिदा भइसकेका छन् ।

चिकित्सकबाट सीए बन्ने सारुको निर्णयमा परिवारले दख्खल गरेन । उनले आफू रुचिको विषय पढ्दै गए । तानसेनमा आइकम पूरा गरेपछि उनी बीबीएस पढ्नका लागि काठमाडौँ आएर शंकरदेव क्याम्पसमा भर्ना भए । क्याम्पसमा बीबीएसको पढाइसँगै विद्यार्थी राजनीति पनि गरे । पढाइ पूरा हुँदै गर्दा सीए पढ्ने रहर अझ बलियो भयो । यसबारे धेरै कुरा जान्ने मौका पनि पाए । साथीहरूसँग मिलेर उनले काठमाडौँमै सीए पढाइ हुने संस्था पनि खोजी गरे । त्यसै क्रममा भारतको राजधानी दिल्लीमा राम्रो पढाइ हुन्छ भन्ने थाहा पाएपछि उनी २०६० सालमा दिल्ली हानिए ।

पढाइमा सानैदेखि अब्बल सारूलाई दिल्लीमा पनि समस्या भएन । पढाइमा मात्रै केन्द्रित हुँदा लक्ष्य प्राप्ति अझ सहज भयो । उनले नौ महिनामा इन्टरमिडियट पूरा गरे भने सीएको बाँकी कोर्स अर्को दुई वर्षमा सकाए । “म त्यो बेलामा कुनै पनि विषयमा फेल नभई उत्तीर्ण हुने थोरै विद्यार्थीमध्येमा थिएँ, म भारतको शीर्ष १० भित्र पर्छु भन्ने आशा पनि थियो, तर थोरै नम्बरले त्यो सूचीमा अट्न सकिन ।” यद्यपि उनले सीए पढ्दै गर्दा प्राप्त गरेको सफलता भने सामान्य थिएन ।

सीएको पढाइ पूरा गरेपछि उनी नेपाल आएर केही नयाँ काम गर्न चाहन्थे । तर अवस्था कस्तो भइदियो भने दिल्लीमै पनि अवसरले सारूलाई अल्झाइदियो । राम्रो अंक ल्याएर उत्तीर्ण सारूलाई विभिन्न कम्पनीबाट अफर आउन थाल्यो ।
उनले आइसिआइसिआइ र स्ट्यान्डर्ड चार्र्टर्ड बैंकमा जागिरका लागि आवेदन पनि दिए । आइसिआइसिआइ बैंकले अफर लेटर नै दिएको थियो, सँगै स्ट्यान्डर्ड चार्टर्ड बैंकले आकर्षण तलब र पद दिएपछि उनले त्यसैमा काम गर्न थाले ।
उनले स्ट्यान्डर्ड चार्टर्डमा झन्डै एक वर्ष काम गरे । त्यति बेलासम्म उनलाई नेपालमै गएर केही गर्नुपर्छ भन्ने सोच अझ बलियोसँग हाबी हुँदै गयो ।

“त्यो सन् २००८ को समय थियो, विश्वमा आर्थिक मन्दी छाएको थियो, यस्तोमा भएको राम्रो जागिर छाड्नु सहज थिएन, बैंकका सहकर्मीहरूले पनि जागिर नछाड्न बरु नेपाल ट्रान्सफर लिन सुझाव दिएका थिए”, उनले भने, “नेपाल फर्किएर पनि बैंकमा एक पटक कुरा गर्न गएको थिए, तर मनले आफ्नै काम गर्नुपर्छ भन्ने लागेर त्यता धेरै ध्यान दिइन ।”

त्यति बेला सारूसँग नेपालमै आफैले नयाँ काम गर्ने र समाजसेवामा पनि उत्तिकै सक्रिय हुने भन्ने सोच थियो । त्यसैले बैंकमा जागिर गर्दै उद्देश्य पूरा गर्नु सहज थिएन । सारूले साथीहरूसँग मिलेर सन् २००९ जुलाईमा सिए फर्म दर्ता गरे र काम सुरु भयो । सुरुमा सारू र विनोद मिलेर सुरु गरे पनि दुई महिनापछि दिल्लीमा सीए पढ्दाका सहकर्मी दुर्गा ज्ञवाली पनि फर्किएपछि टिम बन्यो । जसमा अन्य सदस्य पनि थपिए ।

सारू पढाइमा जति सक्रिय थिए, राजनीतिमा रूपमा पनि उत्तिकै चाख राख्दे । कक्षा ९÷१० मै पढ्दादेखि उनमा राजनीतिक चेत सुरु भइसकेको थियो । पछि शंकरदेव क्याम्पसमा त्यसले निरन्तरता पायो भने दिल्ली गइसकेपछि भने उनी राजनीतिबाट निष्क्रिय भए ।

जब नेपालमा व्यावसायिक रूपमा चार्टर्ड एकाउन्टेनको काम गर्न थाले उनले नेपाल चार्टर्र्ड एकाउन्टेन्स् संस्था (आइक्यान)मा पनि सक्रिय हुन थाले । सन् २०१४ मा उनी काउन्सिल सदस्यका लागि निर्वाचनमा पनि भाग लिए । तर झिनो मतान्तरले उनी सफल भएनन् । यद्यपि वर्तमान कार्यसमितिमा भने उनी उपाध्यक्षमा निर्वाचित भएका छन् ।

“हाम्रो क्षेत्रमा देखिएका समस्या समाधान गर्न र आवश्यकता सम्बोधन गर्नका लागि आफू सक्रिय हुनुपर्छ भन्ने बोधले आई क्यानमा सक्रिय भएको हुँ, अब मेरो भूमिका अध्यक्षका रूपमा अगाडि बढ्छ”, उनले भने । उनी अबको एक वर्ष आइक्यानको अध्यक्षका रूपमा काम गर्नेछन् ।

सारूका शब्दमा सिएको काम विश्वको आर्थिक जगत्मा विश्वास सृजना गर्नु हो । सीएले गरेको लेखापरीक्षणले आर्थिक रूपमा विश्वसनीयता सृजना गरेको हुन्छ । सीएले तयार पारेको प्रतिवेदनका आधारमा ठूलो लगानी गरिएका हुन्छन्
। त्यसैले यो विश्वासलाई थप बलियो बनाउनका लागि अध्यक्षका रूपमा योजनाबद्ध ढंगले काम गर्ने उनको योजना छ ।

“नेपालको सन्दर्भमा सुरुदेखि नै सीएको संख्या कम नै हो, त्यसैले पनि होला अहिले ठुला काम गर्नका लागि अझै पनि विदेशी संस्थाहरू गुहार्नुपर्ने अवस्था छ, अब त्यो काम हामी नेपालभित्रबाटै गर्न सक्छौ र हामी सक्षम छौँ भन्ने सन्देश पनि दिनुपर्ने छ”, उनले भने, “अध्यक्षका रूपमा मैले गर्ने काम पनि सोही प्रकारको हुनेछ ।”

त्यसबाहेक सीएको काम र प्रकृतिबारे सरोकारवालालाई बुझाउनुपर्ने अवस्था छ । यसका लागि आई क्यानले सचेतना अभियान नै सञ्चालन गर्ने योजना बनाएको उनको भनाइ छ । सदस्यहरूका हकमा मार्गदर्शन निर्देशिका बनाउनेदेखि क्षमता अभिवृद्धिका कैयौँ काम पनि प्रभावकारी रूपमा सञ्चालन गर्ने सारुको योजना छ । अहिले फाउन्डेसन तहमा बेलायतको संस्थासँगको सहकार्यमा सोही स्तरको काम भइरहेको छ ।

“हाल आई क्यानले गरिरहेको छानिबन र कारबाहीलाई अझ प्रभावकारी बनाउने छौँ भने सकेसम्म गल्ती नहुने गरी काम होस् भन्ने ढङ्गबाट सदस्यहरूलाई अगाडि बढाउने योजना छ, विगतको तुलनामा जसरी सीएहरुप्रतिको विश्वास बढ्दै गएको छ, यो विश्वासलाई थप बलियो बनाउने गरी काम गर्नेछु”, उनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime