Skip to content

भारत बन्यो फ्रेन्च फ्राइजको सुपरपावर, आलुले कसरी बदलेको छ किसानको जीवन ?

nabil bank
एजेन्सी । भारत गुजरातका जितेश पटेल परम्परागत कपासखेती गर्ने किसान परिवारबाट हुन् । लामो समयदेखि कपासखेती गर्दै आएका पटेल परिवारको आम्दानी निकै कम थियो । त्यसमाथि सन् २००१ र २००२ मा गुजरातमा परेको कठोर खडेरीले अवस्था झन् संकटपूर्ण बनायो । त्यसपछि पटेल परिवारले नयाँ विकल्प खोज्नुपर्ने निष्कर्षमा पुग्यो ।
जितेश पटेल भन्छन्, “हामीलाई थाहा भयो कि अब त्यस्तो बाली लगाउनुपर्छ, जसलाई धेरै पानी नचाहियोस् ।”
त्यसपछि उनले आलुखेती सुरु गरे । सुरुमा उनले दैनिक उपभोगका लागि प्रयोग हुने आलु उत्पादन गरे, तर त्यसबाट अपेक्षित आम्दानी हुन सकेन । कपासबाट हुने आम्दानीभन्दा पनि कम भयो ।
तर सन् २००७ मा गुजरातमा फ्रेन्च फ्राइज बनाउने कम्पनीहरूले पाइला टेक्दा पटेलको जीवनले नयाँ मोड लियो । त्यही समयदेखि उनले प्रशोधित खाद्य उद्योगमा प्रयोग हुने विशेष किसिमका आलु उत्पादन गर्न थाले र, त्यो निर्णय निकै सफल सावित भयो । “त्यसपछि म कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन ” , पटेल मुस्कुराउँदै भन्छन् ।
आलु उत्पादनमा दोस्रो ठूलो मुलुक
भारत अहिले विश्वको दोस्रो ठूलो आलु उत्पादक देश बनेको छ । विशेषगरी फ्रेन्च फ्राइजको सन्दर्भमा भारतले तीव्र प्रगति गरेको छ । गुजरात फ्रेन्च फ्राइज उत्पादनको राजधानीजस्तै बनेको छ । त्यहाँ चिप्स बनाउने विशाल कारखाना छन्, जसमा क्यानडाको बहुराष्ट्रिय कम्पनी म्याककेन फुड्स र भारतकै सबैभन्दा ठूलो फ्रेन्च फ्राइज कम्पनी ‘हाइफन फुड्स’ पनि छन् । गुजरातबाट बनेका फ्राइजहरू अहिले विश्वभर निर्यात भइरहेका छन् ।
ठूलो बजारको सम्भावना
आलु बजारको निगरानी गर्दै आएका विज्ञ देवेन्द्र के अनुसार एशियाली मुलुकहरू—फिलिपिन्स, थाइल्याण्ड र इन्डोनेसिया—प्रमुख निर्यात गन्तव्य हुन् । यस वर्षको फेब्रुअरी महिनामा भारतको फ्रोजन फ्राइज निर्यात पहिलोपटक २०,००० टनभन्दा माथि पुगेको छ। अहिलेसम्म कुल १ लाख ८१ हजार ७७३ टन फ्राइज निर्यात भइसकेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशत बढी हो ।
यस सफलता पछाडि भारतको फ्रोजन फ्राइजको सस्तो मूल्य पनि एक प्रमुख कारण हो । देवेन्द्र भन्छन्, “भारतका फ्रोजन फ्राइज विश्व बजारमा सस्तो मूल्यका कारण लोकप्रिय छन् ।”
 सन् २०२४ मा भारतीय फ्राइजको औसत मूल्य चीनको तुलनामा पनि सस्तो रहेको उनले बताए ।
हाइफनको नेतृत्व
हाइफन फुड्सका प्रमुख कार्यकारी अधिकृत हरेश करमचन्दानीका अनुसार भारत अहिले भरपूर कृषि उपज, कम लागतमा उत्पादन र गुणस्तरप्रति बढ्दो ध्यानका कारण एक प्रमुख निर्यातकर्ताको रूपमा उदाएको छ ।
हाइफनले गुजरातमा आलु प्रशोधन गर्ने सातवटा प्लान्ट सञ्चालनमा ल्याइसकेको छ भने २०२६ सम्म दुईवटा नयाँ प्लान्ट थप्ने योजना बनाएको छ । करमचन्दानी भन्छन्, “शहरीकरण, बढ्दो आम्दानी र बदलिंदो जीवनशैलीका कारण घरभित्र र बाहिर दुवैतिर फ्रोजन फूडको माग तीव्र रूपमा बढिरहेको छ ।”
खेतीमा वैज्ञानिक प्रयोग
बढ्दो माग पूरा गर्न किसानहरू दशकौँदेखि प्रयासरत छन् । कृषि विज्ञानमा विश्वविद्यालय स्तरको अध्ययन गरेका जितेश पटेल आफैं खेतीमा वैज्ञानिक प्रयोग गर्दै आइरहेका छन् । आफ्ना साथी र परिवारसँग मिलेर उनले आलु उत्पादनमा नयाँ विधिहरू अपनाउँदै आएका छन् । “हामी शिक्षित किसान हौं, त्यसैले हामी लगातार नयाँ प्रयोग गरिरहेकै हुन्छौं”, उनी भन्छन् ।
सन् २००३ मा पटेलले आफ्नो खेतमा ड्रिप इरिगेसन प्रणाली लागू गरे । उनले गर्मीमा खेतलाई विश्राम दिने, गोठको गाईगोरूको गोबरलाई जैविक मलको रूपमा प्रयोग गर्ने अभ्यास थालेका छन् । हाल उनी आफ्ना खेतको माटो र मौसमअनुकूल उपयुक्त आलु प्रजातिको खोजीमा छन् । “हामी बीउसँग प्रयोग गर्दैछौं, चाँडै नै हामीसँग नयाँ किसिमको प्रजाति हुनेछ”, उनी बताउँछन् ।
उन्नत सिंचाइ र बीउ प्रविधि
भारतको प्रमुख कृषि प्रविधि कम्पनी ‘जैन इरिगेसन सिस्टम्स’ सिंचाइ उपकरण बेच्नुका साथै आलुसहित अन्य बालीको उन्नत बीउ विकासमा संलग्न छ । कम्पनीले टिशू कल्चर नामक प्रविधिबाट आलुको उन्नत प्रजातिको क्लोनिङ गर्छ, जसले रोग प्रतिरोधी गुणसहितको बीउ उत्पादन गर्न मद्दत गर्छ । यस प्रविधिमा आलुका टिशूलाई प्रयोगशालामा विषाणुरहित वातावरणमा हुर्काइन्छ, जसबाट बीउ उत्पादन गरिन्छ । कम्पनीका मार्केटिङ उपाध्यक्ष विजय सिंहका अनुसार बीउ उत्पादनमा धेरै सावधानी अपनाइन्छ ।
हाल सिंह एक प्रमुख समस्यासँग जुधिरहेका छन् । चिप्स निर्माणमा प्रयोग हुने आलु प्रजातिमा चिनीको मात्रा बढी भएपछि पकाउँदा कालो देखिने समस्या आएको छ । “हामीजस्ता टिशू कल्चर कम्पनीहरूले उद्योगका यस्ता समस्यालाई समाधान गर्न नयाँ प्रजाति विकास गर्ने प्रयास गरिरहेका छौं”, उनले भने ।
पूर्वाधारमा चुनौती
भारतीय किसान उत्पादन सुधारमा लागिपरेका छन्, तर फ्रोजन फूड उद्योगले अझै लगानीको खाँचो महसुस गरिरहेको छ । विशेष गरी आलुलाई शून्य डिग्री भन्दा तलको तापक्रममा भण्डारण गर्ने र समयमै ग्राहकसम्म पुर्याउने पूर्वाधारको अभाव रहेको छ ।
इन्डो एग्री फुड्सका सह–संस्थापक विजयकुमार नायकका अनुसार हाल भारतमा १०–१५ प्रतिशत मात्र कोल्ड स्टोरेज यस्ता फुडका लागि उपयुक्त छन् । ग्रामीण तथा दुर्गम क्षेत्र यस्ता सुविधाबाट अझै पनि वञ्चित छन् । कोल्ड स्टोरेजपछि अर्को चुनौती हो–तत्काल ट्रान्सपोर्ट ।
नायक भन्छन्, “भारतमा रेफ्रिजिरेटेड ट्रक र कन्टेनरहरूको ठूलो अभाव छ । तापमान नियन्त्रित ढुवानी असम्भवजस्तै हुन्छ। नतिजा, फ्रोजन फूड बिग्रिन्छ ।”  फ्रोजन फूड उद्योगका लागि भरपर्दो विद्युत आपूर्ति पनि अत्यावश्यक छ । “कसैकसै ठाउँमा बारम्बार लोडसेडिङ हुने भएकाले खाद्यवस्तु नष्ट हुने जोखिम बढेको छ, यस्तो अवस्थामा फ्रोजन फूडको आपूर्ति सञ्जाल मजबुत बनाउनु चुनौतीपूर्ण छ”, नायक भन्छन् ।
उज्यालो भविष्यतर्फ किसान
तर गुजरातस्थित आफ्नै फार्ममा जितेश पटेल अहिले खुसी छन् । कारण, चिप्स बनाउने कम्पनीहरू सीधै किसानसम्म आइपुगेका छन् । “गुजरात अहिले फूड प्रोसेसिङको केन्द्र बनेको छ। म मात्र होइन, धेरै किसान ठेक्कामा खेती गर्दैछौं । यसले हामीलाई सुरक्षासहित राम्रो आम्दानी पनि दिएको छ”, उनी उत्साहपूर्वक भन्छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime