Skip to content

सेयर बजारबारे प्रधानमन्त्री ओलीको फेसबुक आईडिबाट गलत सूचना प्रवाह, ऐतिहासिक रेकर्डमा परेन ध्यान

nabil bank

काठमाडौं । सेयर बजारबारे प्रधानमन्त्री केपि शर्मा ओलीको फेसबुक आईडिबाट गलत सूचना प्रवाह भएको छ । ओलीको फेसबुक मार्फत २०८१ मा २१ सय बिन्दुमा रहेको सेयर बजार २०८२मा २८ सय बिन्दुुम्म पुगेको भनेर प्रचार गरिएको छ । तर, आर्थिक वर्ष ०८१–८२ को कुनै कारोबार दिन पनि सेयर बजार २२ सय बिन्दुभन्दा तल आएर कारोबार भएको छैन् ।

ओलीले भने झै पुँजी बजारको सुधारको पक्षमा आर्थिक वर्ष २०८१–८२ मा पुँजीगत लाभकरले भने नयाँ रेकर्ड कायम गरेको छ । तर, त्यस तर्फ ओलीको ध्यान केन्द्रित भएन । सेयर कारोबारबाट राज्यले पाउने पुँजीगत लाभकरमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।

गत आर्थिक वर्ष २०८१–८२ मा सेयर बजारबाट राज्यले १६ अर्ब ५४ करोड ३७ लाख १ हजार ७३९ रुपैयाँ पुँजीगत लाभकर स्वरुप प्राप्त गरेको छ । यो अहिलेसम्मकै धेरै हो । यसअघि आर्थिक वर्ष २०७७–७८ मा राज्यले सेयर बजारबाट १४ अर्ब ६ करोड रुपैयाँ पुँजीगत लाभकर पाएको थियो । यस्तै अघिल्लो आवमा राज्यले करिब ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँ पुँजीगत लाभकर पाएको थियो ।

सिडिएससीका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी साउनमा ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार ८०२ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । यस्तै भदौमा २ अर्ब ५७ करोड ९४ लाख ८० हजार ६०७ रुपैयाँ रहेको थियो । यस्तै मंसिरमा १ अर्ब ४ करोड ६ लाख २३ हजार ५१४ रुपैयाँ, माघमा १ अर्ब ५ करोड ७० लाख ८८ हजार २५५ रुपैयाँ, वैशाखमा १ अर्ब २२ करोड ९२ लाख ५१ हजार ८७३ रुपैयाँ, जेठमा १ अर्ब १७ करोड ८२ लाख २४ हजार ७५४ रुपैयाँ र असारमा १ अर्ब २७ करोड १२ लाख ४५ हजार ७३५ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ ।

सिडिएससीका अनुसार असोज, कात्तिक, पुस र चैतमा लाभकर अर्बभन्दा कम रहेको छ । सिडिएससीका अनुसार असोजमा ५८ करोड ६५ लाख ४० हजार ४६५ रुपैयाँ, कात्तिकमा ७५ करोड ८७ लाख ८१ हजार ३८९ रुपैयाँ, पुसमा ५८ करोड ७ लाख ८५ हजार ४५८ रुपैयाँ र चैतमा ६९ करोड ३५ लाख ८० हजार ८२५ रुपैयाँ लाभकर राज्यले पाएको छ ।

यो एक वर्षको अवधिमा बजार ५६०.०४ अंकले बढेको छ । २०८१ साउन १ गते बजार २३१०.५९ बिन्दुमा थियो । अहिले ५६०.०४ अंकले बढेर २८७०.६३ बिन्दु कायम भएको छ । यो अवधिमा बजार मात्रै बढेको छैन । राज्यले पाउने राजस्व समेत ह्वात्तै बढेको छ ।

सेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले राज्यलाई ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । एक वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा आएको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ । सेयर बजारको कारोबार रकममा आइरहने उतारचढावका कारण पुँजीगत लाभकरमा असर पर्ने गर्छ । बजार घट्दा पुँजीगत लाभकर कम उठने र बढ्दा बढी उठ्ने गर्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime