काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाहेक संस्थालाई लाभांश वितरणमा थप कडाइ गरेको छ । राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्था (बैंक तथा वित्तीय संस्थाबाहेक) का लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी गर्दै लाभांश वितरणमा कडाइ गरेको हो ।
राष्ट्र बैंकले लाभांश वितरणका लागि संस्थाको वित्तीय अवस्था सबल हुन आवश्यक रहेको जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका कम्पनीहरूले लाभांश घोषणा गर्दा सञ्चित मुनाफा ऋणात्मक नरहेको हुनुपर्ने व्यवस्था गरेको छ ।
यसैगरी, संस्था मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने र सेयर प्रिमियम एवं वार्गेन प्रचेज गेनबाट नगद लाभांश घोषणा गर्न नपाइने एवं सेयर लाभांश वितरण गर्दा संस्थाको नेटवर्थ ऋणात्मक नभएको हुनुपर्ने व्यवस्था गरेको छ ।
नगद लाभांश घोषणा गर्न कम्पनीमा पर्याप्त नगद मौज्दात रहेको हुनुपर्ने तथा संस्थाले उपभोग गरेको कर्जासँग सम्बन्धित सर्तहरूले लाभांश वितरण बन्देज गरेको नगरेको हुनुपर्ने व्यवस्था गरेको छ । यसैगरी, राष्ट्र बैंकबाट भएको स्थलगत एवं गैर स्थलगत निरीक्षणका क्रममा वित्तीय दायित्व सिर्जना हुन सक्ने गम्भीर प्रकृतिका कैफियत रहेको अवस्थामा रहेको कम्पनीले पनि सेयरधनीलाई लाभांश वितरण गर्न पाउने छैनन् ।






प्रतिक्रिया दिनुहोस्