Skip to content

चीनले ४ वटा परियोजनामा लगानी गर्ने, अर्थ मन्त्रालयमा हस्ताक्षर

nabil bank

काठमाडौं । चीनले नेपालको चार वटा परियोजनामा लगानी गर्ने भएको छ । जसको लागि सोमबार अर्थमन्त्रालयमा द्विपक्षीय हस्ताक्षर कार्यक्रम भएको छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

यसैगरी, अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भएको छ ।

हाल चितवनको भरतपुरस्थित विपि कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्टशन निर्माणसम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पातालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जसमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गरेका हुन् ।

भरतपुर स्थित विपि कोइराला मेमोरियल क्यान्सर अस्पातालमा १ हजार ८३४ वर्ग मिटर क्षेत्रमा फैलिएको बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक मेसिनरीको जडान हुनेछ।यसबाट बोनम्यारो क्यान्सरको उपचारमा उल्लेख्य योगदान पुग्नेछ ।

यसैगरी, निजामती कर्मचारी अस्पातालको विस्तारको सम्भाव्यता अध्ययन समेत हुनेछ । यी दुई सम्झौताको कार्यान्वयनबाट नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । यही अवसरमा नेपाल र चीनबीच मानव संशाधन विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो।

यसबाट १ हजार २७० जना सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरुले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ। यसबाट कर्मचारीको क्षमता अभिवृद्धिमा उल्लेख्य योगदान पुग्नेछ ।

यही अवसरमा रसुवागढी केरुङ्ग सिमापार ट्रान्समिसन लाईन निर्माणको सम्भाव्यता अध्ययन सम्बन्ध माइन्युटमा नेपाल विद्युत प्राधिकरणका एमडी हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गरेका छन् । यसबाट रसुवागढी केरुङ्ग ट्रान्समिसन लाइन निर्माणसम्बन्धी सम्भाव्यता अध्ययनको काम अगाडि बढ्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime