काठमाडौं । बैंकर सशिन जोशी काठमाडौं फिनटेकको सल्लाहकारमा नियुक्त भएका छन् ।
काठमाडौं फिनटेकको सल्लाहकारमा सशिन जोशीजस्ता प्रतिष्ठित बैंकिङ व्यवसायीलाई स्वागत गर्न पाउँदा गौरवान्वित भएको फिनटेकले जनाएको छ ।
काठमाडौँ फिनटेक, नेपालको बैंकिङ र फिनटेक क्षेत्रमा सीप, ज्ञान र क्षमताको वृद्धिका लागि स्थापित तालिम र परामर्श प्रदायक संस्था हो । यो संस्था देश तथा विदेशका प्रतिष्ठित संस्थाहरूसँग सहकार्य गर्दै बैंकिङ र फिनटेक क्षेत्रका लागि आवश्यक ज्ञान र सीप हस्तान्तरण तथा परामर्श प्रदान गर्दै आएको छ।
फिनटेक क्षेत्रको दिगो विकासलाई केन्द्रमा राखेर यस संस्थाले प्रतिपादित गरेको ूनेपाल फिनटेक फेस्टिवलू देशकै प्रतिष्ठित वार्षिक कार्यक्रमको रूपमा स्थापित भइसकेको छ।
३ दशकभन्दा बढी बैंकिङ तथा वित्त क्षेत्रमा अनुभव भएका जोशी रणनीतिक योजना, डिजिटल नवप्रवर्तन र नेतृत्वमा विशिष्ट योगदान पुर्याउँदै आएका छन्। उनी फोन पे का अध्यक्ष, जवालाखेल ग्रुप अफ इन्डस्ट्रीजका समूह कार्यकारी निर्देशक, नबिल बैंक र एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत, साथै स्टान्डर्ड चार्टर्डमा कर्पोरेट तथा संस्थागत बैंकिङको नेतृत्वदायी भूमिका निभाएका छन् ।
जोशीजस्तो सम्मानित बैंकिङ व्यक्तित्व काठमाडौँ फिनटेकको सल्लाहकारमा आवद्ध हुनु संस्थाका लागि मात्र नभएर समग्र बैंकिङ र फिनटेक क्षेत्रका लागि गौरवको कुरा भएको संस्थापक र प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले बताए ।
काठमाडौं फिनटेकले नेपालमा फिनटेक र बैंकिङको डिजिटल भविष्यलाई सशक्त बनाउन आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदै जानेछ।






प्रतिक्रिया दिनुहोस्