हङकङ । पेसाले शिक्षक अनु राई हङकङ आएको डेढ दशकभन्दा बढी भयो । नेपालमा उनी शिक्षण पेशामा सक्रिय थिइन् । प्रावि हुँदै माध्यमिक तहसम्मका विद्यार्थीलाई उनले पढाउने काम गर्थिन्। ।
हङकङमा उनी अहिले ठूलो फुड कम्पनीमा सेल्स विभागमा कार्यरत छिन् ।
“म पहिलो पटक सन् २००९ मा हङकङ आएकी थिएँ, त्यसपछिका केही समय आउनेजाने क्रम चलिरह्यो, के काम गर्ने ? कसरी गर्ने भन्ने हुन्थ्यो, तर सन् २०१२ मा काम पाएपछि यतै बसे”, मंगलबार सम्पन्न गैरआवासीय नेपाली संघ, हङकङ अध्यक्षमा निर्विरोध निर्वाचित अध्यक्ष राईले भनिन्।
राई हङकङमा आएको समयमा नेपालीहरुका विभिन्न संघसंस्था सक्रिय थिए । उनीहरुले आफ्नै उद्देश्यअनुरुप काम गरिरहेकै थिए । तरमहिला केन्द्रित कुनै संघसंस्था थिएनन् । त्यसैले राईलगायतको अग्रसरतामा सन् २०१३ मा हङकङमा महिला संघ स्थापना भयो । त्यसमा टीका गुरुङलगायतले प्रमुख भूमिका खेले । राईले संघमा सह–कोषाध्यक्षको जिम्मेवारी पाइन् ।
महिला संघ स्थापना भएपछि राईको सामाजिक सेवामा सक्रियता बढ्न थाल्यो । संघमा विभिन्न क्षेत्रमा काम गर्ने करिब ८० जना आबद्ध भएका थिए, त्यो बेला । उल्लेख्य संख्यामा महिलाको आबद्धताले संघले गति लिने अवसर पायो । हाल उनी संघमा महासचिव छिन् ।

संघले तत्कालीन समयमा हङकङका महिलाका लागि कैयौँ उल्लेख्य काम गर्यो । पाठेघर र ब्रेष्ट क्यान्सरका क्षेत्रमा प्रभावकारी रुपमा सचेतनामुलक कार्यक्रम सफल भए । “तत्कालीन समयमा संघले महिलाका लागि क्याबिन क्रु कार्यक्रम सञ्चालन गरेको थियो, बालबालिका र सुस्तमनस्थिती भएका बच्चालाई लक्षित गरी पनि काम भए”, उनले भनिन् ।
तत्कालीन समयमा केही पुरुषहरुले महिला संघ नै चाहिन्न भन्ने अवस्था पनि आएको थियो । आबद्ध भएका महिलाहरुले छाड्ने क्रममा पनि बढ्यो । कुनै समय यस्तो पनि आयो, जतिबेला संघमा टीका र अनु मात्रै रहने अवस्था पनि आयो । तर, टीका र राईले हरेस खाएनन् । संघलाई पुरानै अवस्थामा ल्याएरै छाडे ।
“तत्कालीन समयमा टीका गुरुङ दिदी एनआरएनएमा पनि आबद्ध हुनुहुन्थ्यो, संघमा सँगै काम गरेकी मलाई एनआरएनएमा ल्याउन उहाँकै भूमिका छ”, राईले भनिन् । टीका गुरुङ एनआरएनए हङकङको महिलाका रुपमा पहिलो अध्यक्ष हुन् भने राई दोस्रो महिला अध्यक्ष हुन् । अहिले टीका गुरुङ एनआरएनए आइसीसी महिला सचिव तथा महिला संघको अध्यक्षका रुपमा क्रियाशील छिन् ।
टीका गुरुङकै सल्लाहमा सन् २०१७ मा राई एनआरएनए हङकङमा आबद्ध भइन् । “तत्कालीन समयमा टीका दिदीनै आउनुपर्छ भन्दै हौसाला दिनुहुन्थ्यो, म एनआरएनएमा आएपछि निर्वाचनमार्फत महिला संयोजक भएँ, त्यसपछि मात्रै हो मैले यसबारे राम्रोसँग बुझेको”, राईले सुनाइन् ।
एनआरएनए भएका कैयौँ देशमा अहिले पनि महिला समिति नै नभएको अवस्था छ । राई संयोजक भएपछि तत्कालीन समयमा केही देशमामहिला समिति गठनका लागि अभियान नै सञ्चालन भयो । काम गर्दै जाँदा राईले महिला संयोजकको जिम्मेवारी दोस्रो कार्यकालमा पनि प्राप्त गरिन् ।
उनको कार्यकालमा मकाउ, चीन, हङकङका कमिटि मिलेर नेपालमा स्वास्थ्य शिविर आयोजना भयो । पाठेघरसम्बन्धी रोग लागेकालाई निःशुल्कऔषधि वितरण भयो । बालबालिका तथा आँखासम्बन्धी पनि अभियान सञ्चालन भयो । यसबाट धेरै नेपालीले लाभ लिएको राईको भनाइ छ ।
दुईवटा कार्यकालमा महिला संयोजक भएपछि राईले महिला उपाध्यक्षको जिम्मेवारी पाइन् । उपाध्यक्षका रुपमा पनि उनले दुई वटा कार्यकाल पूरा गरिन्। विभिन्न जिम्मेवारीहरु पूरा गर्दै यतिबेला भने उनी अध्यक्षको जिम्मेवारी पाएकी छन् ।
अध्यक्षका रुपमा हङकङमा भएका रोजगारीका राम्रा क्षेत्रको पहिचान गर्ने, त्यहाँ रोजगारीका लागि समन्वय गर्ने भूमिकामा आफूले अब्बल बनाउने राईको योजना छ । त्यसबाहेक यहाँ रहेका दोस्रो पुस्ताका नेपालीलाई नेपाली कला, परम्परा र संस्कृतिसँग अभ्यस्त गराउने जिम्मेवारी पनि आफूलेसक्रियताका साथ पूरा गर्ने उनको भनाइ छ ।
“यस विषयमा एनआरएनको तर्फबाट विगतमा पनि धेरै काम भएका छन्, युवा संयोजक इन्द्र पुर्जा पुनले पनि जिम्मेवारीका साथ काम गरि रहनुभएको छ,हङकङ आउने युवालाई सम्मानजनक काम गर्न लगाउने, सरकारी तथा गैरसरकारी निकायमा समन्वय गर्ने काम पनि भइरहेको छ”, उनले भनिन् ।
राईको बुझाइमा हङकङमा जन्मने धेरै नेपालीका बालबालिकामा भाषाको समस्या ठूलो छ । उनीहरुलाई नेपाली भाषासँग जोड्नका लागि एनआरएनएले काम गरिरहेको उनको भनाइ छ । सकेसम्म घरभित्र नेपाली नै बोल्ने अभ्यास पनि चलनमा आएको छ । आफ्नो कार्यकालमा पनिनेपाली भाषाका क्षेत्रमा काम गर्ने र यसको प्रवर्द्धमा आफूले प्राथमिकताका लाग्ने राईको अठोट छ ।यसबाहेक घरेलु कामदारको रुपमा रहेका नेपाली महिलाहरुलाई कानुन अनुसार सुविधा दिलाउन तथा उनीहरुको अधिकारको लागि पैरवी गर्ने योजना राईको रहेको छ ।






प्रतिक्रिया दिनुहोस्