Skip to content

पाव भाजीले खोल्यो दुई करोडको लुटको रहस्य

nabil bank

 एजेन्सी । सुन व्यापारी फारूक अहमद मलिकले तयार पारेको करोडौं रुपैयाँ बराबरको लुट योजना पाव भाजीको एक प्लेटले भण्डाफोर गरेको छ। भारतमा लोकप्रिय खाद्य परिकार पाव भाजीकै कारण मलिकसहितको लुट गिरोह प्रहरीको फन्दामा पर्‍यो।

मलिकले लामो समयदेखि सुनको व्यापार गर्दै आएका थिए। तर, उनी ४० लाख रुपैयाँ ऋणमा डुबेका थिए। सो ऋण तिर्न उनले अर्का सुन व्यापारी मुथुल्ला मलिकको पसल लुट्ने योजना बुने। योजना अनुसार उनले पाँच सदस्यीय गिरोह तयार गरे, जसले कर्नाटकको कलबुर्गीस्थित मुथुल्ला मलिकको ज्वेलरी पसल लुट्ने योजना बनाए।

लुटको दिन, गिरोहका पाँचमध्ये चार जना अनुहार छोपेर पसलमा पसे। उनीहरुले मुथुल्ला मलिकलाई डराउन पिस्टलजस्तो देखिने लाइटर देखाए। त्यसपछि उनको हातखुट्टा डोरीले बाँधेर मुखमा कपडा ठूसेर टेपले चिप्लाए। पसलका सिसिटिभी क्यामरा बन्द गरी करिब दुई करोड १५ लाख भारतीय रुपैयाँ बराबरको सुन र गहना लुटे।

मुथुल्ला मलिकले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरे अनुसार, घटना ११ जुलाई दिउँसो १२ः१५ बजे घटेको हो। चार जनाले पसलमा पसेर बन्दुक र चक्कुले धम्क्याएर लुटपाट गरेका थिए। उजुरीको आधारमा कलबुर्गी प्रहरीले तत्काल पाँच वटा टोली गठन गरी अनुसन्धान अघि बढायो।

घटनास्थलको सिसिटिभी फुटेज विश्लेषण गर्दा पसल भित्र चार जना मात्रै प्रवेश गरेका थिए, तर बाहिर पाँच जना देखिएको पुष्टि भयो। चार जनाले आफ्नो मोबाइल फ्यालेका थिए, तर पाँचौं व्यक्तिको मोबाइल ट्रेस हुन सकेन।

इलाकाका अरू सिसिटिभी फुटेज जाँच्दा एक व्यक्तिलाई पाव भाजी पसलमा देखियो। त्यहीँबाट उनको मोबाइल नम्बर फेला पर्यो, जसबाट घटनाको मास्टरमाइन्ड फारूक मलिकको पहिचान भयो।

अनुसन्धानमा खुलेको तथ्य अनुसार, अयोध्या प्रसाद चौहान उत्तर प्रदेशका बासिन्दा भए पनि मुम्बईमा फुटपाथमा कपडा बेच्ने गर्छन्। सुहैल मोबाइल चोरीजस्ता साना आपराधिक क्रियाकलापमा संलग्न थिए। फारूक मलिक पश्चिम बङ्गालका मूल निवासी भए पनि कलबुर्गीमा सुनको व्यापार गर्छन्। अरबाज र साजिद भने स्थानीय हुन्।

घटनाको बेला मलिक पसलभित्र प्रवेश नगरी बाहिरै थिए। लुटपाटपछि उनी घटनास्थलबाट भागेका थिए। तर, प्रहरीले उनको मोबाइलमार्फत सम्पर्क नम्बर ट्रेस गर्दै सबै सदस्यसम्म पुग्यो।

कलबुर्गीका प्रहरी कमिश्नर डा. एस. शरणप्पाले भने, ‘‘फारूक मलिकले लुटको बेला फरक मोबाइल प्रयोग गरेका थिए। तर, पाव भाजीको भुक्तानी गर्दा अर्को नम्बर प्रयोग गरे। यही नम्बरबाट हामी उनीसम्म पुग्न सफल भयौं।’’

उनले थपे, ‘‘सिसिटिभी फुटेजमा पसलमा चार जनामात्र पसेको देखिन्छ। पाँचौं व्यक्ति पसलमा नगई बाहिरै रहनु र पाव भाजी किन्नु नै निर्णायक सुराक बन्न गयो। ती व्यक्ति मलिक नै थिए।’’

प्रहरीले २.८ किलो सुन र गहना बरामद गर्‍यो। तर, घटनाको अर्को पाटो तब उजागर भयो जब मुथुल्ला मलिकले प्रहरीसमक्ष केवल ८५० ग्राम सुन चोरी भएको दाबी गरे। बहीखाताको छानबिन गर्दा उनले दुई किलो सुनको हिसाब नदेखाएको पत्ता लाग्यो।

प्रहरीले उनको वित्तीय विवरणमा अनियमितता भेटिएको भन्दै फरक मुद्दा दर्ता गरेको छ। साथै, लुट गिरोह अन्तरराज्यीय स्तरमा संलग्न रहेको खुलासा भएको छ। उनीहरुमाथि १० देखि १५ वटा आपराधिक मुद्दा विभिन्न स्थानमा दर्ता छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime