काठमाडौँ । चौधरी ग्रुपले सञ्चालन गरेको सिजी ब्रुअरी नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८१–८२ मा २ अर्ब २१ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । पछिल्लो केही वर्ष यता यस कम्पनीको व्यापार घट्दो अवस्थामा रहेको कम्पनीले सार्वजनिक गरेको विवरणले देखाउँछ ।
यस कम्पनीले सन् २०२१ मा ३ अर्ब ९१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । यसपछिको वर्ष सन् २०२२ मा कम्पनीले ४ अर्ब ५४ करोड ४१ लाख रुपैयाँको व्यापार गरेको थियो । यसपछिका वर्षमा कम्पनीको व्यापार क्रमशः घटेको छ । सन् २०२३ मा कम्पनीले ३ अर्ब ५ करोड १० लाख रुपैयाँ मात्र व्यापार गरेको छ भने सन् २०२४ मा कम्पनी २ अर्ब ६६ करोड ७० लाख रुपैयाँ मात्र व्यापार गरेको हो ।
सन् २०१४ मा २.४ प्रतिशत ऋणात्मक रहेको यस कम्पनीको सञ्चालन मुनाफा (ओबिड्टा-ओआई) भने सन् २०२५ को ९ महिनासम्म सामान्य सुधार भएको छ । गत आवको ९ महिनासम्म यस कम्पनीको यस्तो मुनाफा २.४ प्रतिशत पुगेको छ । सन् २०२३ मा पनि कम्पनीको यस्तो मुनाफा ३ प्रतिशतले ऋणात्मक रहेको थियो ।
सन् २०२२ मा कम्पनीको यस्तो मुनाफा ११.८ प्रतिशत र सन् २०२१ मा २०.५ प्रतिशत रहेको थियो । यस कम्पनीले अल्पकालीन ऋणको लागि १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणको रेटिङ गराएको छ। यस कम्पनीको ऋणलाई रेटिङ एजेन्सी इक्रा नेपालले ए फोर प्लस रेटिङ दिएको छ । यसले कम्पनीको ऋण तिर्न सक्ने क्षमता कमजोर रहेको देखाउँछ ।
सन् १९९३ मा गोल्ड ब्रुअरीको नाममा स्थापना भएको सिजी ब्रुअरी नेपाल चौधरी समूहको बियर उत्पादन गर्ने इकाई हो। यस कम्पनीको वार्षिक ५ लाख ८५ हजार हेक्टोलिटर बियर उत्पादन गर्ने क्षमता छ । यस कम्पनीले नेपाल आइस, रियल गोल्ड र मुस्ताङ जस्ता चर्चित ब्रान्डहरू बेच्ने गरेको छ ।
सिजीकाे यी ब्रान्डहरू नेपालमा मात्र नभएर हङकङ, जापान, बेलायत, अमेरिका र अस्ट्रेलिया जस्ता देशहरूमा समेत निर्यात हुने गरेका छन् । सिजी ब्रुअरीमा चौधरी समूहको सम्बन्धित व्यक्ति तथा संस्थाहरूले लगानी रहेको छ ।
यसको प्रमुख सेयरधनीको रूपमा सिजी फुड्स नेपाल रहेको छ । यसको केन्द्रीय कार्यालय नवलपरासीमा रहेको छ । जहाँ बियर उत्पादन र बोटलिङ कार्य गरिन्छ । बियर उत्पादनका लागि आवश्यक माल्टा युरोप तथा भारतबाट आयात गरिन्छ ।
यसैगरी, चामलका फाका र चिनीजस्ता अन्य कच्चा पदार्थ नेपालमै उत्पादन हुने स्रोतहरूबाट खरिद गरिन्छ । यस कम्पनीको देशभर ३०० डिलर र ५३ हजार खुद्रा विक्रेताहरू रहेका छन् ।






प्रतिक्रिया दिनुहोस्