काठमाडौं । गत असार २३ गते रसुवा (भोटेकोशी) मा आएको बाढी पहिरोको क्षतिबाट सवा ८४ करोड रुपैयाँभन्दा धेरैको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरणअनुसार ११ निर्जीवन बीमा कम्पनीमा ८४ करोड ३८ लाख १० हजार रुपैयाँ बराबरको बीमा दाबी परेको हो ।
उक्त बाढी परेर हालसम्म ११ कम्पनीमा सवा ८४ करोड रुपैयाँ बराबरको ६८ वटा दाबी परेको छ । यद्यपि यस्तो दाबी पर्ने क्रम जारी रहेको बीमा प्राधिकरणले जानकारी दिएको छ । उक्त बाढी पहिरोको पूर्ण क्षतीको विवरण नआई सकेको कारण बीमा दाबी पनि आउन बाँकी भएको हो ।
उक्त बाढीको कारण सबैभन्दा धेरै बीमा दाबी सम्पत्ति बीमातर्फ परेको छ । सम्पत्ति बीमातर्फ मात्रै ५८ करोड एक लाख रुपैयाँ बराबरको ६ वटा दाबी परेको प्राधिकरणले जनाएको छ । सामुद्रिक बीमा (ढुवानी तथा आयात) तर्फ १६ करोड २३ लाख १० हजार रुपैयाँ बराबरको ७ वटा दाबी परेको छ ।
इन्जिनियरिङ तथा ठेकदार जोखिम बीमातर्फ पाँच करोड ४० लाख रुपैयाँ बराबरको तीन, सार्वजनिक मोटर बीमातर्फ दुई करोड ५९ लाख ५० हजार रुपैयाँ बराबरको ३८ वटा निजी मोटर बीमातर्फ दुई करोड १४ लाख ५० हजार रुपैयाँ बराबरको १४ वटा बीमा दाबी परेको छ ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हिमालय एभरेष्टमा ५५ करोड रुपियाँ बराबरको दुईवटा दाबी परेको छ । यसैगरि शिखर इन्स्योरेन्समा १६ करोड ८५ लाख १० हजार रुपैयाँ बराबरको १२ वटा दाबी परेको छ । नेको इन्स्यारेन्समा पाँच करोड १२ लाख रुपियाँ बराबरको ३ वटा दाबी परेको छ ।
यसैगरी, सगरमाथा लुम्बिनी इन्स्यारेन्समा दुई करोड ६५ लाख रुपैयाँ बराबरको दुई, नेपाल इन्स्योरेन्समा एक करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको १२, युनाइटेड अजोड इन्स्योरेन्समा ९१ लाख रुपैयाँ बराबरको तीन र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सम ७५ लाख ५० हजार रुपैयाँ बराबरको नौवटा दाबी परेको छ ।
यता सानिमा जिआईसीमा ७५ लाख रुपियाँ बराबरको ६ वटा बीमा दाबी परेको छ । एनएलजी इन्स्योरेन्समा ४७ लाख रुपियाँ बराबरको ६, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ३१ कलाख रुपियाँ बराबरको सात र प्रभु इन्स्योरेन्समा २८ लाख रुपैयाँ बराबरको ६ वटा दाबी परेको छ ।






प्रतिक्रिया दिनुहोस्