एजेन्सी । अब हाम्रो दैनिक जीवनमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग तीव्र रूपमा बढिरहेको छ । इन्टरनेटमा कुनै प्रश्नको उत्तर खोज्न, इमेल लेख्न वा कुनै गीत सुन्नजस्ता काममा समेत अहिले एआई प्रयोग हुँदै आएको छ । कम्प्युटर एल्गोरिदमका माध्यमबाट तुरुन्तै जानकारी उपलब्ध गराइदिन्छ । यसले हाम्रो काम सजिलो बनाउँछ, तर के हामी यसमा आवश्यकता भन्दा बढी निर्भर हुन थालेका छौं ? के हामी गहिराइमा गई सोच्ने क्षमताको प्रयोग कम गर्दैछौं ? के हाम्रो आत्मविश्वासमा समेत गिरावट आएको छ ?
धेरै अध्ययनहरूले एआईको प्रयोगले हाम्रो समीक्षात्मक सोच अर्थात् क्रिटिकल थिङ्किङ क्षमतामा नकारात्मक असर पारिरहेको देखाएका छन् । एमआईटीको मिडिया ल्याबको एक अध्ययनमा केही मानिसलाई निबन्ध लेख्न भनियो । तीमध्ये केहीले एआईको प्रयोग गरे भने अरूले गरेनन् । अध्ययनले देखायो कि एआईको प्रयोग गरेर निबन्ध लेख्नेहरू अर्को निबन्ध लेख्दा झनै आलसी बन्दै गए ।
क्रिटिकल थिङ्किङ के हो?
क्रिटिकल थिङ्किङ भन्नाले कुनै विषयका सबै पक्षलाई विवेकपूर्वक मूल्याङ्कन गरी निष्पक्ष रूपमा निर्णय लिने प्रक्रियालाई बुझिन्छ । अर्थात् कुनै कुरा आँखा चिम्लेर स्वीकार्ने होइन, बरु त्यसका सबै पक्षबारे विचार गर्नु । हामी यो क्षमताको प्रयोग समस्याहरू समाधान गर्नका लागि गर्छौं ।
अमेरिकाको भर्जिनिया विश्वविद्यालयका मनोविज्ञान प्राध्यापक डा. ड्यानियल विलिङह्याम भन्छन्, “हामी प्रायः कुनै कुराको निर्णय क्रिटिकल थिङ्किङको आधारमा होइन, हाम्रो स्मृतिको आधारमा गर्छौं ।”
उनी भन्छन्, “वास्तवमा, हामी धेरैजसो समस्याको समाधान अघिल्लो अनुभव वा स्मृतिका आधारमा गर्छौं । तर कहिलेकाहीँ हामी यस्तो समस्याको सामना गर्छौं जुन पहिलोपटक देखिन्छ । त्यस्तो अवस्थामा स्मृतिले होइन, हाम्रो क्रिटिकल थिङ्किङ क्षमताले काम गर्छ ।”
“स्मृति महत्वपूर्ण हुन्छ र धेरैपटक हामी त्यसकै माध्यमबाट सफलतापूर्वक समस्याहरू समाधान गर्छौं । तर, क्रिटिकल थिङ्किङबाट पनि सधैं सजिलै समाधान पाइँदैन।“
जब हामी कुनै समस्या समाधान गर्छौं, त्यो हाम्रो स्मृतिमा सुरक्षित रहन्छ र त्यसैको आधारमा हामी फेरि त्यस्तै चुनौतीको समाधान खोज्छौं । क्रिटिकल थिङ्किङ क्षमताको नियन्त्रण मस्तिष्कको अगाडिको भाग प्रीफ्रन्टल कोर्टेक्समा हुन्छ भने स्मृति हिपोक्याम्पसमा संचित हुन्छ। धेरै काम गरेपछि प्रीफ्रन्टल कोर्टेक्समा टक्सिन जम्न थाल्छ, जसले गर्दा थकान महसुस हुन्छ ।
डा. विलिङह्यामका अनुसार, यही थकानको कारण हामी स्मृतिमा भर पर्न रुचाउँछौं र गहिरो सोचलाई टार्न खोज्छौं । यसले समस्याको समाधान त दिन सक्छ, तर नयाँ समाधान सिक्ने अवसर गुमाउँछौं ।
एकै किसिमले समस्या समाधान गर्दा दिमागमा दबाब कम पर्छ । तर, क्रिटिकल थिङ्किङले दिमागमा दबाब त पार्छ, तर यसले दिमाग झनै तेज बनाउँछ । डा. विलिङह्याम भन्छन्, “क्रिटिकल थिङ्किङबाट दुई फाइदा हुन्छन् – एक, हामी नयाँ चुनौतीको सामना गर्न सक्षम हुन्छौं र दिमाग तेज हुन्छ; अर्को, जति उमेर बढ्छ, मस्तिष्कको क्षमता घट्न थाल्छ, तर क्रिटिकल थिङ्किङले वृद्धावस्थामा दिमागलाई सक्रिय राख्न सहयोग गर्छ ।”
स्विट्जरल्याण्डको एसबीएस बिजनेस स्कूलमा व्यवस्थापन विषयका प्राध्यापक डा. माइकल गैरलिकले एआईलाई कसरी परिभाषित गर्न सकिन्छ भन्नेबारे बताउँछन् । उनी भन्छन्, “यो परिभाषाका दुई भाग छन्, आर्टिफिसियल अर्थात् कृत्रिम र इन्टेलिजेन्स अर्थात् बुद्धि, जुन मेशिनद्वारा सञ्चालित हुन्छ । यो वास्तवमा मानिसको मस्तिष्कको अनुकरण हो। जसरी हामी बालबालिकालाई प्रशिक्षण दिन्छौं, त्यसरी नै एआईलाई पनि तालिम दिइन्छ ।”
एआईमा धेरै प्रकारको डेटा संचित हुन्छ र त्यसकै आधारमा विश्लेषण गरी उत्तर दिन्छ । पहिलेका कम्प्युटरहरू सीमित जानकारी दिन्थे र एउटै प्रश्नको एउटै उत्तर हुन्थ्यो । तर, एआई सन्दर्भ र परिस्थितिअनुसार फरक उत्तर दिन सक्छ ।
डा. गैरलिक भन्छन्, “एआई हरेक शब्दको विश्लेषण गरेर अनुमान गर्छ कि तपाईं के जान्न चाहनुहुन्छ । तर, यसले सन्दर्भ राम्रोसँग बुझ्दैन। लार्ज ल्याङ्ग्वेज मोडेल इतिहास बुझ्दैन, तर धेरै जानकारीको आधारमा अनुमान गरेर जवाफ दिन्छ ।”
जनरेटिभ इन्टेलिजेन्सले अहिले विभिन्न प्लेटफर्ममा काम गर्न थालेको छ । यसले कहिलेकाहीं हामीलाई चापलूसीपूर्ण उत्तर दिन्छ, किनभने उसले अनुमान गर्छ कि हामी के सुन्न चाहन्छौं । डा. गैरलिक भन्छन्, “यो टेक्नोलोजी हामीलाई राहत दिन डिजाइन गरिएको हो, त्यसैले हामीले प्रश्न गरेको तरिकाको आधारमा सकारात्मक वा नकारात्मक जवाफ दिन्छ। यसमा निर्भर हुनाले हामी आफ्नो विवेकको प्रयोग कम गर्न थाल्छौं ।”
उनी भन्छन्, “जनरेटिभ एआई छिटो काम गरेर हाम्रो समय र श्रम बचाउँछ, तर सोचेका काम पनि आफैं गर्न थाल्छ । निर्णय पनि आफैं लिन थाल्छ । मैले गरेको एक अध्ययनमा देखिएको छ कि एआईमा निर्भरता बढेपछि क्रिटिकल थिङ्किङ क्षमतामा ह्रास आउँछ ।”
के एआई प्रयोगको सकारात्मक तरिका हुन सक्छ?
यूवान सो, सिंगापुरस्थित डिजिटल प्लेटफर्म नूडल फ्याक्ट्रीकी संस्थापक हुन्, जसले शिक्षा र तालिममा एआईको प्रयोग गर्छ । उनले भनिन्, “धेरैपटक विद्यार्थीले कुरा बुझ्न नसक्दा दोहोर्याएर प्रश्न गर्न डराउँछन् । तर यो प्लेटफर्मले चाहिने जानकारी बारम्बार सोध्न मिल्ने सुविधा दिन्छ । साथै, विदेशी भाषामा पढ्दा समस्या भएका विद्यार्थीलाई मातृभाषामा सिकाउने काम पनि गर्छ ।”
यसमा पाठ्यक्रमको सम्पूर्ण डेटा राखिएको हुन्छ, जसको प्रयोग विद्यार्थीले सजिलै गर्न सक्छन् ।
तर, के एआईमा निर्भरता बढ्दा विद्यार्थीहरूको सोचाइ क्षमतामा असर पर्छ ?
यूवान भन्छिन्, “कुनै पनि कार्य गर्न विद्यार्थीले एआई प्रयोग गर्दा प्लेटफर्ममा डेटा हाल्नुपर्छ, जुन सोचेर हाल्नुपर्ने हुन्छ । त्यसैले क्रिटिकल थिङ्किङ त प्रयोग भइहाल्छ । अब शिक्षकले पनि एआई प्रयोगलाई ध्यानमा राखेर मूल्याङ्कनको नयाँ तरिका अपनाउनुपर्छ ।”
एआई प्रयोग गर्दा मस्तिष्कको प्रयोग गर्नुपर्छ । लन्डनको किङ्स कलेजकी एआई विशेषज्ञ प्राध्यापक सना खरेन्घानी भन्छिन्, “हामीले स्मृति प्रयोग गरेर समस्या समाधान गर्छौं, तर एआईबाट प्राप्त जानकारीमा गहिरो सोच गरेर मात्रै निर्णय लिनुपर्छ ।”
उनका अनुसार, “हामी र बालबालिकालाई एआईले दिएको जवाफमा आँखा चिम्लेर विश्वास नगर्न सिकाउनुपर्छ, यसले टेक्नोलोजी नियन्त्रणमा रहन्छ । तर, नियन्त्रणका लागि सरकारी नीति आवश्यक छ ।”
एआईलाई विज्ञापन कम्पनीहरूले दुरुपयोग गर्न सक्ने सम्भावना पनि हुन्छ । सना भन्छिन्, “सरकारले सुनिश्चित गर्नुपर्छ कि एआई पारदर्शी होस् । यदि एआईलाई आफ्नो उत्तरप्रति पूर्ण विश्वास छैन भने उसले हामीलाई अन्य स्रोतबाट पनि जानकारी लिन सुझाव दिनुपर्छ ।”
तर, के एआईले क्रिटिकल थिङ्किङ घटाउँछ?
सना भन्छिन्, “हामीले एआईलाई सन्तुलित रूपमा प्रयोग गर्नुपर्छ। त्यसले हरेक काम गरिदिन्छ भन्ने सोच्नु हुँदैन । त्यसले दिइएको सबै जानकारी गलत पनि ठान्नु हुँदैन, किनभने यसले उत्पादकता घटाउँछ। सन्तुलन कायम गर्नु जरुरी छ ।”






प्रतिक्रिया दिनुहोस्