Skip to content

लकइन अवधिमा गैरकानुनी रूपमा सेयर बिक्री गर्नेको १० वर्षदेखिको विवरण अध्ययन गर्दै सेबोन, केहीलाई कारबाहीको तयारी

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विगत १० वर्षदेखि संस्थापक सेयरधनीले कानुनविपरीत गरेको सेयर कारोबारको विवरण हेर्ने भएको छ ।

सेबोनले बैंक तथा वित्तीय संस्था बाहेकका जलविद्युत्, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, ट्रेडिङ तथा अन्य समूहमा रहेका कम्पनीका संस्थापक सेयरधनीहरुले कानुनविपरीत सेयर बिक्री गरेको पाएपछि सेबोनले अनुसन्धान गर्ने भएको हो ।

बोर्ड निकट उच्च स्रोतका अनुसार यस्तो समूहमा रहेका कम्पनीका संस्थापक सेयरधनीहरुले कानुनविपरीत लकइन अवधि नै नखुली कारोबार गरेको भन्दै सेबोनमा निकै उजुरी परेको छ । ‘विगत लामो समयदेखि लकइन अवधि नै नसकिँदै सेयर बिक्री भएको पाइएको छ’ बोर्ड निकट उच्च स्रोतले भन्यो’  ‘यो शृंखला निकै लामो देखिएको छ ।

कानुनविपरीत भएका यस्ता गतिविधि रोक्न र यसअघि भएका कारोबारको अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याइने छ ।’ कानुनविपरीत कारोबार गरेका केही कम्पनीका बारेमा सेबोनले आन्तरिक अध्ययन पनि गरिरहेको स्रोतको भनाइ छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली– २०७३ र सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासनसम्बन्धी निर्देशिका–२०७४ ले सूचीकृत कम्पनीको सञ्चालकले पदमा बहाल रहुन्जेल तथा पदबाट हटेको एक वर्षसम्म सोही कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था गरेको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ १(क) मा, ‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखा परीक्षक, कम्पनीसचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तोपदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वाहस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन’ भन्ने व्यवस्था छ ।

यता सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासनसम्बन्धी निर्देशिका–२०७४ को निर्देशन १४ को ६ मा ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर, डिबेञ्चर खरिद बिक्री गर्न पाउने छैन’ भन्ने व्यवस्था रहेको छ ।नियमावली र निर्देशिकाले सञ्चालक भएको अवधि र छोडेको १ वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था गरेको छ ।

तर, कतिपय लगानीकर्ताले यसरी सेयर बिक्री गर्ने गरेका छन् । यसअघि आँखुखोला हाइड्रोका कम्पनीका सञ्चालक समिति अध्यक्ष राम श्रेष्ठ र दुई सञ्चालक रामप्रसाद सापकोटा र दिनेशप्रसाद श्रेष्ठले कानुनविपरीत ९२ हजार ८०० सेयर बिक्री गरेका छन् ।

यस्तै शिवम् सिमेन्टको अध्यक्ष पदमा रहँदा सुरेन्द्रकुमार गोयलसहित उनको परिवारका ४ जनाले धितोपत्र ऐनविपरीत करोडौं मूल्यको सेयर कारोबारगरेका छन्। गोयल आफू अध्यक्ष भएको समयमा २७ लाख ४३ हजार ९ सय कित्ता सेयर कानुनविपरीत परिवारका सदस्यका नाममा नामसारी गरीबिक्री गरेका छन् । उनले उक्त सेयर २०७८ चैत २३ मा बेचेका थिए ।

यस्तै राधी विद्युत् कम्पनीका तत्कालीन अध्यक्ष अनिलकुमार रुंगटाले धितोपत्र बोर्डको कानुनविपरीत २ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गरेका छन् ।

 उनले २०७८ वैशाख २९ गतेबाट २०७८ असोज १३ गतेसम्म २१ लाख ६१ हजार कित्ता सेयर २ अर्ब १७ करोड ४७ लाख बढीको सेयर बिक्री गरेका हुन् । यो विषयमा पनि सेबोनले अध्ययन गरिरहेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime