काठमाडौं । आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको छ ।
तिब्बतका राजा स्रोङ्चन गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि प्रारम्भ भएको ऐतिहासिक सम्बन्ध आधुनिक युगमा अझ झाङ्गिदै गएको छ । सन् १९४९ मा स्थापना भएको चीनसँग आज कै दिन अर्थात् १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध कायम भएको हो ।
यही ७० वर्ष पुगेको अवसरमा यो अवधिका ऐतिहासिक दस्तावेजलाई समेटेर ‘सुमधुर सम्बन्धका ७० साल’ नामक पुस्तक सार्वजनिक भएको छ । ७० वर्षमा नेपाल–चीन मित्रताका विविधि आयाम समेटेर नेपाल–चीन मिडिया फोरमले उक्त पुस्तक सार्वजनिक गरेको हो ।
पारस्परिक सहयोग, भौगोलिक अखण्डता, सम्प्रभूताको सम्मान र अहस्तक्षेपलगायत पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई दुवै मुलुकले उच्च प्राथमिकतामा राखेका छन् ।
चीन र नेपालबीचको सम्बन्धलाई चिनाउने पुस्तक ‘सुमधुर सम्बन्धका ७० साल’ दुई छिमेकीबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा नेपाली र चिनियाँ भाषामा प्रकाशित भएको छ । यो पुस्तकमा समेटिएका विषय दुवै भाषामा अध्ययन गर्न पाइने छ ।
इतिहास हेर्दा नेपाल र चीनबीच सबैभन्दा पहिले बौद्ध धर्ममार्फत् भएको पाइन्छ । १३ औँ शताब्दीमा अरनिको चीनमा गई त्यहाँका सम्राटको निमन्त्रणमा महत्वपूर्ण स्तूपहरू तथा मूर्तिकला निर्माण गरेको पाइन्छ । कूटनीतिक सम्बन्ध औपचारिक रुपमा धेरै लामो नभए पनि नेपाल र चीनबीच परापूर्वकालदेखि नै व्यापारिक सम्बन्ध थियो । प्राचीन समयमा हिमपथ (ट्रान्स हिमालयन ट्रेड रुट्स) को माध्यमबाट नेपाल र तिब्बत (तत्कालीन चीनसँग सम्बन्धित क्षेत्र) बीच नुन, ऊन, अन्न र अन्य सामग्रीको व्यापार हुन्थ्यो । यसरी अघि बढेको सम्बन्ध अहिले निकट साझेदार र सहयोगीका रुपमा स्थापित भएको छ । दुई देशबिचको ब्यापार खर्बौमा हुने गरेको छ ।
चीनले नेपालमा विभिन्न परियोजनामा लगानी गरेको छ । अनुदान दिएको छ । सरकारलाई ऋण दिने गरेको छ । यो पुस्तकमा नेपाल चीनको सम्बन्ध र स्थायी साथ, नेपाल चीनको बहुआयामिक साइनो, नेपाल–चीन सांस्कृतिक सम्बन्ध, नेपाल–चीनको आधुनिक आर्थिक सम्बन्ध, सि चिनफिङ युग र नेपाल चीन सम्बन्धको प्रगाढताका विषयमा यो पुस्तकमा चर्चा गरिएको छ । यो पुस्तकमा ऐतिहासिक तस्विर समेत राखिएको छ ।







प्रतिक्रिया दिनुहोस्