काठमाडौं । “जनताको पसिना बेचियो, तर रगत बेच्न मिल्दैन,” ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले शुक्रबार आयोजित माथिल्लो सेती २१६ मेगावाट जलविद्युत आयोजना सम्बन्धी वित्तीय व्यवस्थापन हस्ताक्षर समारोहमा बताए ।
मन्त्री खड्काले उत्पादित विद्युतको उचित मूल्य प्राप्त गर्दै मुलुकलाई समृद्ध बनाउने यात्रामा सरकारले कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरे ।
समृद्धि इनर्जी प्रालिको अगुवाइमा निर्माणाधीन उक्त आयोजनाको वित्तीय व्यवस्थापनका लागि आयोजित कार्यक्रममा मन्त्री खड्काले निजी क्षेत्रको उत्साहजनक सहभागिताले ऊर्जा क्षेत्रमा नयाँ आशा थपिएको बताए । “निर्माणकालागि आवश्यक सम्पूर्ण वित्तीय व्यवस्थापनको चरण पार भएको छ। अब यो आयोजना समयमै सम्पन्न हुने विश्वासका साथ अघि बढाइएको छ,” मन्त्री खड्काले भने ।
उनले ऊर्जा मन्त्रालय मुलुकको दीर्घकालीन समृद्धिको आधार ऊर्जा क्षेत्र हो भन्ने बुझाइका साथ तीव्र गतिमा अघि बढिरहेको उल्लेख गरे । “हामी निजी क्षेत्रलाई निरुत्साहित गर्ने प्रवृत्तिलाई स्थान दिन्दैनौं । बुझाइ र भोगाइमा आधारित अवरोधहरूले अब विकास रोकिनेछैन,” उनको जोड थियो।
मन्त्री खड्काले लामो समयदेखि विद्युत खरिद सम्झौता पीपीए रोकिएको, बजार सुनिश्चितता नभएको र ट्रान्समिशन लाइनको अभावजस्ता समस्याले निजी क्षेत्र हतोत्साहित बनेको भए पनि अब ती अवरोध क्रमशः हट्दै गएको बताए । “देशभित्र १३ हजार ५ सय मेगावाट विद्युत खपत गर्न सकिने सम्भावना छ। भारत र बंगलादेश निर्यात सुरु भइसकेको अवस्थामा अब हाम्रा स्रोत र उत्पादनको सदुपयोग नगर्ने प्रवृत्तिले देशलाई पछि पार्छ,” मन्त्री खड्काले स्पष्ट गरे ।
“हामी जनताको पसिना बेचेर समृद्धि ल्याउन चाहन्छौं, तर खून बेच्ने कुरा हुँदैन,” भन्दै उहाँले राष्ट्रिय स्रोत साधनको समयमै उपयोग गरेर दिगो आर्थिक विकास सम्भव हुने विश्वास व्यक्त गरे । यस्ता आयोजनाहरूमा देखिने समस्या समाधान गर्ने जिम्मा सरकारले लिनैपर्छ भन्ने धारणा पनि उनले राखे ।
उक्त अवसरमा समृद्धि इनर्जीका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र गुरागाईं र कुमारी बैंकका तर्फबाट रामचन्द्र खनालबीच वित्तीय व्यवस्थापन सम्झौतापत्रमा हस्ताक्षर भई कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो ।






प्रतिक्रिया दिनुहोस्