काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पुँजी बजारमा दुई वटा इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) नम्बर दिन भनेर ल्याएको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका २०८२’ यतिबेला धितोपत्र बोर्डमा पुगेको छ ।
सिडिएससीमा साउन ११ गते साँझ करिब ४ घण्टा लामो समय बसेको सञ्चालक समितिको बैठकले उक्त निर्देशिका पास गरेर स्वीकृतिका लागि बोर्डमा पठाएको छ ।
सिडिएससीले धितोपत्र सम्बन्धी प्रचलित कानुन बमोजिम धितोपत्रको अभौतिकीकरण गर्ने कार्यलाई व्यवस्थित, पारदर्शी तथा प्रभावकारी बनाउनका लागि वाञ्छनीय भएकाले धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को नियम ३० (१) तथा धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को विनियम ५० को अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा लागू गर्ने जनाएको छ ।
निर्देशिकामा धितोपत्र अभौतिकीकरण गर्ने प्रक्रिया, धितोपत्रको आईजिन दिने प्रक्रिया, आईजिन मिश्रण (मर्जर) प्रक्रिया, आईजिन छुट्याउने प्रक्रिया, निष्कासन तथा बिक्री प्रबन्धकले पालना गर्नुपर्ने विषय समावेश गरेको छ ।
निर्देशिकाको मस्यौदाको परिच्छेद ३ मा धितोपत्रको आईजिन दिने प्रक्रियाको व्यवस्था गरिएको छ । परिच्छेद ३ को ७ मा आईजिन प्रदान गरिने भन्ने व्यवस्थामा, ‘अभौतिकीकरणको सम्झौता भए पश्चात् धितोपत्रको निक्षेप गर्नका लागि उक्त संगठित संस्थाले जारी गरेको धितोपत्रको प्रकार अनुसार एकै प्रकारका धितोपत्र समूहलाई एउटै र फरक प्रकारका धितोपत्र समूहलाई छुट्टा छुट्टै आइजिन प्रदान गर्नु पर्नेछ । तर संगठित संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संस्थापक र सर्वसाधारण समूहको शेयर छुट्टिएको अवस्थामा संस्थापक र सर्वसाधारण शेयर समूहलाई छुट्टा छुट्टै आइजिन प्रदान गर्नु पर्नेछ । यस निर्देशिका लागु हुनु पूर्व संस्थापक र सर्वसाधारण समूहको धितोपत्रको लागि एउटै आइजिन दिई लकइन अवधिमा भएका धितोपत्र समेतलाई निर्देशिका लागु भए पश्चात् फरक फरक आइजिन प्रदान गरिने छ’ भन्ने व्यवस्था रहेको छ ।
यस्तै ८ मा आईजिन प्रदान गर्ने विधि रहेको छ । उक्त विधिमा ‘धितोपत्रको दोस्रो बजारमा कारोबार योग्य धितोपत्रको लागि धितोपत्र बजारले उपलब्ध गराएको युनिक स्टक सिम्बल र रिफरेन्स नम्बरको आधारमा सिडिएससिले विद्युतीय प्रणालीबाट आइजिन सृजना गर्नुपर्नेछ । तर धितोपत्रको दोस्रो बजारमा तत्काल कारोबार नहुने धितोपत्रको लागि धितोपत्र बजारले उपलब्ध गराउने युनिक स्टक सिम्बल र रिफरेन्स नम्बर आवश्यक पर्नेछैन’ भनिएको छ ।
यस्तै ‘धितोपत्रको लागि प्रदान गरिएको आईजिन तथा दर्ताको जानकारी सम्बन्धित संगठित संस्था, शेयर रजिस्ट्रार, धितोपत्र बजार र बोर्डलाई गराउनुपर्नेछ’ भन्ने छ । यस्तै ‘रजिस्ट्रार तथा हस्तान्तरण प्रतिनिधि वा संगठित संस्थाले प्रचलित कानुन बमोजिम तयार गरेको विवरण रुजु पश्चात् आइपिओ फायल सेट अप गरी अपलोड गरेर हितग्राहीको खातामा जम्मा गर्न सिडिएससिमा अनुरोध गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।
‘सिडिएससीले रजिस्ट्रार तथा हस्तान्तरण प्रतिनिधिबाट प्राप्त अनुरोधका आधारमा अपलोड भएको विवरणलाई हितग्राहीको खातामा जम्मा गर्नुपर्नेछ’ भन्ने व्यवस्था रहेको छ ।
यस्तै परिच्छेद ४ मा आईजिन मिश्रण (मर्जर) प्रक्रियाका बारेमा रहेको छ । यसमा आईजिन मिश्रण गर्न सकिने भन्ने व्यवस्था मा ‘कुनै धितोपत्रलाई फरक फरक आईजिन प्रदान गरिएकोमा त्यस्तो धितोपत्रको लागि प्रचलित कानुन बमोजिम फरक आइजिन आवश्यक नपर्ने देखिएमा सम्बन्धित संगठित संस्थाको अनुरोधमा सिडिएससिले आवश्यकता अनुसार प्रदान गरिएको आइजिन मिश्रण (मर्जर) गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।
फरक फरक आईजिन प्रदान गरिएको धितोपत्र एउटै आईजिनमा मिसाउनु परेमा सम्बन्धित संगठित संस्थाले देहाय बमोजिमको कागज तथा प्रमाण सहित सिडिएससिमा निवेदन दिनुपर्नेछ । आइजिनमा मिसाउने सम्बन्धमा सम्बन्धित संगठित संस्थाको साधारण सभाबाट पारित गरेको निर्णयको प्रमाणित प्रतिलिपि, धितोपत्र मिश्रण गराउने सम्बन्धमा राष्ट्रिय स्तरको दैनिक पत्रिका तथा अन्य सञ्चारका माध्यममा कम्तीमा दुई पटक सूचना प्रकाशन गरेको प्रमाण, धितोपत्र मिश्रण गराउने सम्बन्धमा बोर्डको सहमतिको प्रमाण, धितोपत्र मिश्रण गराउने सम्बन्धमा धितोपत्र बजारलाई जानकारी गराइएको प्रमाण, प्रचलित कानुन बमोजिम फरक आइजिन आवश्यक नपर्ने सम्बन्धमा सम्बन्धित संगठित संस्थाको स्वघोषणा आवश्यक पर्ने छ।
संगठित संस्थाहरू एक आपसमा गाभिई हुने आईजिनको मिश्रणको व्यवस्था निर्देशिकामा छ । ‘संगठित संस्थाहरू एक आपसमा गाभिई (मर्जर) कायम हुने आइजिन दफा ७ बमोजिम हुने गरी सम्बन्धित धितोपत्र समूहमा राख्नु पर्नेछ’ भनिएको छ ।
परिच्छेद ५ मा आईजिन छुट्याउने प्रक्रिया रहेको छ । जसमा ‘कुनै धितोपत्रलाई एउटै आईजिन प्रदान गरिएकोमा त्यस्तो धितोपत्रको लागि प्रचलित कानुन बमोजिम फरक फरक आइजिन आवश्यक पर्ने देखिएमा सम्बन्धित संगठित संस्थाको अनुरोधमा सिडिएससिले आवश्यकता अनुसार प्रदान गरिएको आइजिन छुट्याई फरक फरक आइजिन प्रदान गर्न सक्नेछ’ भनिएको छ ।
यसरी प्रदान गरिएका आईजिन छुट्याउनु परेमा सम्बन्धित संगठित संस्थाले कागज तथा प्रमाणसहित सिडिएससिमा निवेदन दिनुपर्नेछ । जसमा आइजिन छुट्याउने सम्बन्धमा सम्बन्धित संगठित संस्थाको साधारण सभाबाट पारित गरेको निर्णयको प्रमाणित प्रतिलिपि, धितोपत्र छुट्याउने सम्बन्धमा राष्ट्रिय स्तरको दैनिक पत्रिका तथा अन्य सञ्चारका माध्यममा कम्तीमा दुई पटक सूचना प्रकाशन गरेको प्रमाण, धितोपत्र छुट्याउने सम्बन्धमा बोर्डको सहमतिको प्रमाण, धितोपत्र छुट्याउने सम्बन्धमा धितोपत्र बजारलाई जानकारी गराइएको प्रमाण, प्रचलित कानुन बमोजिम फरक फरक आईजिन आवश्यक पर्ने सम्बन्धमा सम्बन्धित संगठित संस्थाको स्वघोषणा गर्नुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस्