काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले पुँजी बजारमा दुई वटा इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) दिन भनेर ल्याएको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका २०८२’ यति बेला धितोपत्र बोर्डमा पुगेको छ ।
सिडिएससीले उक्त निर्देशिकाको मस्यौदा बोर्डमा पठाएसँगै यस विषयमा सेबोनले छलफल अघि बढाएको छ । त्यसका लागि सेबोनले बोर्ड भित्र मात्रै नभएर सिडिएससीका अधिकारीहरूलाई बोलाएर छलफल गरेको छ । बोर्ड स्रोतका अनुसार सेबोनले आज (मङ्गलवार) सिडिएससीको प्रबन्ध निर्देशक प्रविन पन्दाकलाई बोलाएर छलफल गरेको हो ।
आज बिहान बोलाएर पन्दाकका साथै बोर्ड अध्यक्ष, बोर्डको सम्बन्धित विभागका अधिकारीहरूसहित छलफल भएको बताइएको छ । ‘कानुन बनाउने विषयमा मस्यौदा तयार भएर आएपछि सम्बन्धित निकायलाई बोलाएर छलफल गर्नुपर्छ त्यही भएर हामीले सिडिएससीलाई बोलाएर छलफल गरेको हो’ बोर्डका एक अधिकारीले भने ‘हामीले निर्देशिकाको मस्यौदा आएपछि त्यसलाई कसरी अघि बढाउने भन्ने लगायतका विषयमा सम्बन्धित पक्षको राय लिएको हो ।’ यो विषयमा सेबोनले सिडिएससीको राय लिएसँगै थप छलफल अघि बढाएको छ ।
अब यो विषयमा सेबोनमा रहेको कानुन प्रबलीकरण समितिले अध्ययन गर्ने भएको छ । उक्त समितिको प्रमुख सेबोनमा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्य रहेन गर्छ । हाल बोर्डको सदस्यमा कानुन मन्त्रालयबाट विनोद कुमार भट्टराई रहेका छन् ।
उनको संयोजकत्वमा रहेको कानुन प्रबलीकरण समितिले सिडिएससीले पठाएको निर्देशिकाको मस्यौदामा छलफल गर्ने भएको छ । यो समिति बोर्ड भित्रको स्थायी संरचना हो ।
बोर्ड स्रोतका अनुसार उक्त समितिले अध्ययन गरेर निर्देशिकाको मस्यौदाका विषयमा सुझाव दिने छ । समितिले दिएको सुझावलाई आधार भनेर सेबोनले निर्देशिकामा संशोधन गरेर कार्यान्वयनका लागि सिडिएससीमा पठाउने छ ।
सिडिएससीले उक्त निर्देशिकाको मस्यौदा सेबोनमा पठाएपछि दुई वटा आईजीन नम्बरका विषयमा निकै ठुलो विवाद सृजना भएको छ । दुई वटा आईजीन नम्बर नभएका कारण केही कम्पनीको सेयर सूचीकरणमा समेत समस्या भएको छ । यसअघि एउटा मात्रै आईजीन नम्बर हुँदा पनि सेयर सूचीकरण हुने गरेको थियो । पछिल्ला केही वर्षयता जलविद्युत कम्पनी, उत्पादन मुलक कम्पनीका संस्थापक सेयरधनी तथा सञ्चालकले लकइन अवधिमा धमाधम सेयर बिक्री गर्न थालेपछि दुई वटा आईजीन नम्बर दिएर रोक्ने सिडिएससीको दाबी छ । सेबोन भने एउटा आईजीन नम्बर बाट पनि कानुन विपरीत लकइन अवधिमा रहेको सेयर बिक्री गर्न रोक्न मिल्ने दाबी गर्छ । तर, नियामक निकायको रूपमा रहेको सेबोनले यस्तो नै हुनुपर्छ भनेर अहिलेसम्म आधिकारीक धारणा सार्वजनिक गरेको छैन ।
सिडिएससीले सेबोनमा पठाएको निर्देशिकाको मस्यौदामा निर्देशिकामा धितोपत्र अभौतिकीकरण गर्ने प्रक्रिया, धितोपत्रको आईजिन दिने प्रक्रिया, आईजिन मिश्रण (मर्जर) प्रक्रिया, आईजिन छुट्याउने प्रक्रिया, निष्कासन तथा बिक्री प्रबन्धकले पालना गर्नुपर्ने विषय समावेश गरेको छ ।
निर्देशिकामा भौतिकीकरणको सम्झौता भए पश्चात् धितोपत्रको निक्षेप गर्नका लागि उक्त संगठित संस्थाले जारी गरेको धितोपत्रको प्रकार अनुसार एकै प्रकारका धितोपत्र समूहलाई एउटै र फरक प्रकारका धितोपत्र समूहलाई छुट्टा छुट्टै आइजिन प्रदान गर्नु पर्ने उल्लेख छ । संगठित संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संस्थापक र सर्वसाधारण समूहको सेयर छुट्टिएको अवस्थामा संस्थापक र सर्वसाधारण सेयर समूहलाई छुट्टा छुट्टै आईजी प्रदान गर्नु पर्ने उल्लेख छ । यस निर्देशिका लागु हुनु पूर्व संस्थापक र सर्वसाधारण समूहको धितोपत्रको लागि एउटै आइजिन दिई लकइन अवधिमा भएका धितोपत्र समेतलाई निर्देशिका लागु भए पश्चात् फरक फरक आइजिन प्रदान गरिने उल्लेख छ ।
आईजीन प्रदान गर्ने विधिमा ‘धितोपत्रको दोस्रो बजारमा कारोबार योग्य धितोपत्रको लागि धितोपत्र बजारले उपलब्ध गराएको युनिक स्टक सिम्बल र रिफरेन्स नम्बरको आधारमा सिडिएससिले विद्युतीय प्रणालीबाट आइजिन सृजना गर्नुपर्नेछ । तर धितोपत्रको दोस्रो बजारमा तत्काल कारोबार नहुने धितोपत्रको लागि धितोपत्र बजारले उपलब्ध गराउने युनिक स्टक सिम्बल र रिफरेन्स नम्बर आवश्यक पर्नेछैन’ भनिएको छ ।
यस्तै ‘धितोपत्रको लागि प्रदान गरिएको आईजिन तथा दर्ताको जानकारी सम्बन्धित संगठित संस्था, शेयर रजिस्ट्रार, धितोपत्र बजार र बोर्डलाई गराउनुपर्नेछ’ भन्ने छ । यस्तै ‘रजिस्ट्रार तथा हस्तान्तरण प्रतिनिधि वा संगठित संस्थाले प्रचलित कानुन बमोजिम तयार गरेको विवरण रुजु पश्चात् आईपीओ फायल सेट अप गरी अपलोड गरेर हितग्राहीको खातामा जम्मा गर्न सिडिएससिमा अनुरोध गर्नुपर्नेछ’ भन्ने व्यवस्था निर्देशिकामा छ ।
प्रतिक्रिया दिनुहोस्