काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सोमबारसम्म सञ्चालन गरिने भएको छ । अपेक्षाभन्दा बढी दर्शकको आगमनले प्रदर्शनीको समय थप गरिएको हो ।
५ दिन सञ्चालन गर्ने भनिएको एक्स्पोमा अवलोकनकर्ताको मागलाई थोरै समयमा सम्बोधन गर्न गाह्रो भएपछि नाइमाले १ दिन प्रदर्शन अवधि थपेको छ ।
आफूलाई मनपर्ने सवारीसाधन अवलोकन, सोधपुछ, बुकिङ र खरिद गर्नेहरूको प्रदर्शनीमा घुइँचो छ । अरू दिन कार्यालयको कामकाजमा व्यस्त रहने व्यक्तिहरूले हिजो शनिबार उत्साहका साथ प्रदर्शनीमा सहभागिता जनाए ।
एक्स्पोका प्रारम्भिक तीन दिनमा सर्वसाधारणका साथै वरिष्ठ कलाकार, कूटनीतिक नियोगका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरू, व्यापारीलगायत समाजका सबै तहका मानिसले उपस्थिति जनाए ।
प्रदर्शनीको पहिलो दिन १५ हजार, दोस्रो दिन साढे १३ हजार, तेस्रो दिन साढे १९ हजार र शनिबार २१ हजार ५०० अवलोकनकर्ताले एक्स्पोमा सहभागिता जनाएका आयोजकले जानकारी गराएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी छन् ।
स्थापनाको केही महिनामै आयोजना गरिएको पहिलो प्रदर्शनीमा अवलोकनकर्ताको अपार माया र समर्थन प्राप्त गर्न सफल नाइमा आउँदा दिनमा पनि नेपालको मोबिलिटी क्षेत्रमा अझ ठूलो योगदान पुर्याउन प्रतिबद्ध रहेको जनाइएको छ ।






प्रतिक्रिया दिनुहोस्