जशकिरत सिंह भारतमा चामल व्यवसायमा चौथो पुस्ताका व्यवसायी हुन् । सन् १९०० मा स्थापना भएको ‘लालकिल्ला’ चर्चित चामलको ब्रान्ड हो । लालकिल्लाले हालैमात्र नेपालमा हाइलाइफ फुडसँगको साझेदारीमा चामल व्यवसाय सुरु गरेको छ । यही अवसरमा नेपाल आएका सिंहसँग लगानीन्युजले गरेको कुराकानीः
चामलको ब्रान्डमा लालकिल्ला भारतको निकै पुरानो र लोकप्रिय ब्रान्ड हो । अहिले नेपालको हाइलाइफसँग कसरी सहकार्य हुन पुग्यो ?
भारतमा लालकिल्ला ब्रान्डको इतिहास १ सय वर्षभन्दा बढी समय भइसकेको छ । यसको इतिहास मात्रै होइन, यो निकै लोकप्रिय पनि छ । सबैको भान्सामा पुगेको छ । केही समयअघि हाइलाइफका पंकज ज्ञवालीजी र अम्बिकाप्रसाद पौडेलजीसँग भेट भयो । उहाँहरू पनि नयाँ आफ्नो ब्रान्डलाई विस्तारको योजनामा हुनुभएको थाहा पाएँ । त्यसै क्रममा हाम्रो भेट भएको हो । लालकिल्ला ब्रान्ड भारतसँग नेपालमा पनि चर्चित थियो । उहाँहरूसँगको भेटमा ब्रान्ड विकास र ब्रान्ड पोर्टफोलियो विस्तारबारे छलफल भयो । त्यसपछि हामीले नेपालमा ‘हाइलाइफ’ बासमती चामल ल्याउने योजनाअनुरूप सहकार्य सुरु गरेका हौं ।
नेपालको बजारमा अहिलेसम्मको अनुभव र बिक्री अवस्था कस्तो छ ?
नेपालमा हाल समग्रमा मासिक करिब ६ हजार मेट्रिक टन बासमती चामल आयात भइरहेको छ । यो अघिल्लो वर्षको तुलनामा बढी हो । गत वर्ष मासिक ४ हजार मेट्रिक टन थियो, जसमा २ हजार मेट्रिक टनको वृद्धि भएको छ । यसले नेपालमा बासमती चामलको ठूलो माग रहेको देखाउँछ । देशमा पर्यटक र विदेशीहरूको आगमन बढ्दै जाँदा र नेपालीहरूको खर्च गर्ने क्षमता बढ्दै जाँदा यसको माग दिन प्रतिदिन बढिरहेको छ ।
तपाईंको ब्रान्डको हालसम्मको बिक्री कस्तो छ ?
हालै मात्र ‘हाइलाइफ’ नामबाट बासमती चामल बजारमा ल्याएका छौं । हामी पहिले नै सुपरमार्केटमा गइसकेका थियौं । यसअघि नेपालमा ‘लालकिल्ला’बाट वार्षिक करिब ३०० मेट्रिक टन बिक्री हुन्थ्यो । अब ‘हाइलाइफ’ सँगै यो बिक्री बढ्ने अपेक्षा । मासिक १०० देखि १२० मेट्रिक टन अर्थात् वार्षिक करिब १ हजार २०० मेट्रिक टन पुग्ने लक्ष्य छ ।
के तपाईंको ब्रान्ड अन्य मुलुकहरूमा पनि विस्तार भएको छ ?
हाम्रो उत्पादन अहिले विश्वका करिब ८३ देशमा पुगिसकेको छ । प्रमुख बजारहरूमा यूएई पहिलो नम्बरमा छ, त्यसपछि कुवेत, नेदरल्यान्ड्स र क्यानडा हाम्रो लागि मुख्य बजार हुन् ।
युरोप वा अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालको बजार कस्तो देख्नुहुन्छ ?
मेरो अनुभवमा भारतका बासमती चामल निर्यातकर्ताहरूले नेपालमा ठूलो सम्भावना गुमाइरहेका छन् भन्ने लाग्छ । यहाँको बजारमा आयात राम्रो छ, र उपभोक्ताहरू मूल्य तिर्न तयार छन् । अहिलेको ६ हजार मेट्रिक टनको बजार क्षमता भविष्यमा अझ बढ्नेछ भन्नेमा विश्वास छ ।
कोभिडपछिका दिनमा कन्टेनरको भाडा अत्यधिक महँगो भएको छ । पहिले जबल अली पोर्टसम्म २० अमेरिकी डलरमा पुग्ने कन्टेनर अहिले १ हजार डलर खर्च गर्नुपर्छ । नेपालमा भने कन्टेनरको सट्टा ट्रकमार्फत पठाउँदा लागत धेरै घट्छ
नेपालमा ब्रान्ड विस्तार गर्दा के अवसर र चुनौती देख्नुहुन्छ ?
सबैभन्दा ठूलो अवसर भनेको लजिस्टिक्स हो । पञ्जाबबाट चामल पठाउँदा ३–४ दिनमै नेपाल पुग्छ, तर अरू मुलुकमा पठाउँदा करिब एक महिना लाग्छ । यसले लागत घटाउँछ, किनभने कोभिडपछिका दिनमा कन्टेनरको भाडा अत्यधिक महँगो भएको छ । पहिले जबल अली पोर्टसम्म २० अमेरिकी डलरमा पुग्ने कन्टेनर अहिले १ हजार डलर खर्च गर्नुपर्छ । नेपालमा भने कन्टेनरको सट्टा ट्रकमार्फत पठाउँदा लागत धेरै घट्छ ।
हालका दिनमा अन्य ब्रान्डहरूले पनि नेपाली बजारमा बलियो उपस्थिति बनाइसकेका छन् । यस्तो प्रतिस्पर्धी बजारमा तपाईंको रणनीति के हो ?
नेपाली बजारमा अधिकांश ब्रान्डहरू व्यापारीमार्फत ल्याइएका छन् । तर, हामीजस्तो मिलसँग प्रत्यक्ष सम्बन्धित छैनन् । हामी मिलमै उत्पादन गर्छौँ, जसले वर्षभरि एउटै गुणस्तरको चामल उपलब्ध हुन्छ । उपभोक्ताले आज किनेको चामल र ६ महिनापछि किनेको चामल एउटै गुणस्तरको पाउँछन् । हाम्रो अमृतसरमा दुईवटा कारखाना छन् र गुजरातमा तेस्रो निर्माण भइरहेको छ । उत्पादनदेखि ‘एजिङ’ सम्म सबै प्रक्रिया हाम्रो कारखानामै हुन्छ । यसले नेपाली उपभोक्तालाई उत्कृष्ट बासमती चामल कस्तो हुनुपर्छ भन्ने अनुभव दिनेछ ।
के थप भन्न चाहनुहुन्छ ?
‘हाइलाइफ’ ले दिएको अवसरप्रति म आभारी छु र भविष्यमा यसलाई अझै अगाडि बढाउने आशा गर्दछु ।






प्रतिक्रिया दिनुहोस्