Skip to content

२०८४ सालसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छः प्रधानमन्त्री

nabil bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भीडद्वारा कुनै एक अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राखिएका आधारमा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सधैं माग्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भीडको पछि लागेर कुद्ने भीड अचम्मको मात्र होइन दयालाग्दो पनि भएको टिप्पणी गरे । ‘लाखौँ जनताले सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौँ व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ । अदालतले मुद्दा हेरिरहेको छ । पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला मेयरलगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौं व्यक्तिहरुलाई अदालतले थुनामा पठाएको छ ।

तर अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ’, प्रश्नात्मक शैलीमा प्रधानमन्त्री ओलीले भने, ‘एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो ? त्योचाहिँ कानुनी कारबाही हो ? अर्बौं रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौँमध्ये कुनकुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको हो रु कुन कुन व्यक्तिमाथिको थुना जायज हो ?’

उनले यस्ता कुरालाई लिएर लगातार संसद् अवरुद्ध गरी विस्मयकारी, भावनात्मक र हानिकारक उत्तेजनाको एकालापमा मुलुकलाई लैजानु कदापि उचित नहुने बताए । प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयले गर्ने निर्णय सरकार अनुकूल वा प्रतिकूल जेसुकै भए पनि त्यसमा सरकारको हात नहुने स्पष्ट गर्दै संसद्, सरकार, न्यायालयलगायत आफ्नो काम गर्नुपर्ने लोकतान्त्रिक प्रणालीका सबैजसो अङ्गहरुलाई पेशेवर ‘मास म्यानुपुलेसन’को आक्रमणबाट बचाउनुपर्नेमा जोड दिए ।

उनले अहिलेको सरकार विथोलिएको राजनीतिलाई लयमा फर्काउने, शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने, राजनीति र नीतिमा उत्पन्न अस्थिरतालाई अन्त्य गरी नीतिगत स्थिरता कायम गर्ने, थालेको काम सक्ने– प्रतिनिधिसभाको यस कार्यकालमा हुन नसक्ने कामलाई थाती राख्ने, र मुलुकलाई बोझ बनेका असान्दर्भिक योजना÷कार्यक्रमहरु खारेज गर्ने क्रममा रहेको बताए ।

प्रधानमन्त्री ओलीले आज संसद्मा उछालिएका कतिपय विषय राष्ट्रिय प्राथमिकता र आवश्यकतामा आधारित नभएको तथा देश र जनताको हितमा केन्द्रित रहेर काम गर्नुपर्ने यस सम्मानित सदनलाई झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको टिप्पणी गरे ।

‘कतिसम्म भने भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरु र भिजिट भिसामा गएर उतै दुईदुई पटक बिहे गरिसकेका व्यक्तिहरुले समेत अन्तरराष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन् । यसका पछाडि मुलुक र नागरिकको हित जोडिएको छैन, यसले इमोसनल ब्ल्याकमेलिङ मार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको छ ।’ उनको भनाइ थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime