काठमाडौं । नेपालमा सडक निर्माण तथा विकासको इतिहास हेर्ने हो भने राणाकालीन समयदेखि नै सडक निर्माण कार्य सुरु भएको विभिन्न अभिलेखहरु पाइन्छ । यस्ता विभिन्न प्रकाशनहरुमा प्रकाशित आलेखअनुसार पहिलोपटक विसं. १९९८ मा मानिसले बोकेर सवारीसाधन काठमाडौं उपत्यकामा ल्याइएको भए तापनि विसं. १९८० को दशकबाटै काठमाण्डौं उपत्यकामा पहिलो सडक निर्माण सुरु भएको पाइन्छ ।
त्यस्तै काठमाडौं उपत्यका बाहिर निर्माण भएको पहिलो सडक भने ४२ किमि लामो अमलेखगन्ज(भिमफेदी सडकलाई लिइने गरिएको छ । यसरी सडक निर्माण तथा विकासको एक शताब्दी लामो इतिहास भएको नेपाल अब भने इतिहासमै पहिलो पटक सुरुङमार्गको चरणमा प्रवेश गर्दै छ ।

निर्माणको अन्तिम चरणमा रहेको काठमाडौंको नागढुङ्गा र धादिङको सिस्नेखोला सुरुङमार्ग नेपालको सडक निर्माण तथा विकासको इतिहासमा पहिलो सुरुङमार्गको रुपमा रहने छ ।वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विसं. २०७६ कात्तिक ४ गते शिलान्यास गरी निर्माणको कार्य सुरु गरिएको सो सुरुङमार्गको लगभग निर्माणको कार्य सकिसकेको छ भने अब सञ्चालनको कार्य र कार्यविधि तयार गरी सञ्चालन गर्न मात्र बाँकी रहेको छ ।
सो सुरुङमार्ग आयोजना अन्तर्गत मुख्य र सहायक (इभ्याकुएसन टनेल) गरी दुईवटा मार्ग रहेका छन् जसमा मुख्य सुरुङमार्गमा सवारी साधन सञ्चालन गरिन्छ भने सहायक सुरुङमार्ग आपतकालीन समयमा प्रयोग गर्ने गरी निर्माण गरिएको हो । सो आयोजना अन्तर्गत पूर्वी खण्ड -काठमाडौंतर्फ) २.५ किमी एप्रोच सडक निमा गरिएको छ भने जड अन्तर्गत बलम्बुमा निर्माण गरिएको ओभरपास अन्तिम चरणमा रहेको छ ।
त्यस्तै पश्चिम खण्ड (सिस्नेखोलातर्फ) मिचिनीकी अर्थात् रोड साइड स्टेसन निर्माण गरिने भनिएकोमा जग्गा उपलब्ध नहुनाले र विभिन्न कारणले त्यो काम आधिअधुरोमा छोड्नु परेको कोइरालाले जानकारी दिए ।तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कृष्णा ज्वालाले २०८० साउन २२ गते सहायक सुरुङमार्गको ब्रेक थ्रु गरेका थिए भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले २०८१ वैशाख ३ गते मुख्य सुरुङमार्गमा ब्रेक थ्रु गरेका थिए ।
हाजमा कर्पोरेशन जापानले निर्माणको जिम्मा लिएको ६ वर्षपछि अब भने निर्माण कार्य सकेर नेपाल सरकारलाई यही अक्टोबरको अन्तिममा हस्तान्तरण गर्ने तयारी गरिरहेको कम्पनीका कन्सल्टेन्ट इन्जिनियर रमेश कोइरालाले जानकारी दिए ।

जाइकाको १६ अर्ब सहुलियत ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब गरी जम्मा २२ अर्ब लागतमा सो सुरुङमार्गको निर्माण कार्य सम्पन्न भएको उनले बताए । सिस्नेखोलादेखि नागढुङ्गासम्म करिब पौने ३ किमीको दूरी रहेको सो सुरुङमार्ग प्रयोगका लागि साउन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क (ट्रोल ट्याक्स) समेत निर्धारण गरिसकेको छ ।
हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको यो सुरुङमार्ग आगामी पुस–माघसम्ममा सञ्चालन ल्याउने तयारी भइरहेको छ । खुला प्रतिस्पर्धाबाट निजी कम्पनीलाई यो सुरुङमार्ग सञ्चालनको जिम्मा दिने तयारी सरकारको छ । यो सुरुङमार्ग सञ्चालनमा आएपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ । यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट समय बचत गर्नेछ ।
नयाँ प्रविधिको प्रयोग, सुरुङमा विभिन्न यन्त्रहरू जडान, सुरुङमार्गमा ट्राफिक स्थितिको जानकारीका लागि कन्ट्रोल रूम लगायत हरेक १५० देखि २०० मीटरको दूरीमा सीसी क्यामेरा जडान गरिएको र सवारी साधनबाट निस्कने हानिकारक ग्यासको फिल्टरका लागि र सुरुङमार्गमा अक्सिजनको प्रवाहलाई कायम राख्नका लागि १५ वटा जेट फ्यानको प्रयोग गरिएको छ भने भिजिविलित मीटरको समेत प्रयोग र आपतकालिन सञ्चारका लागि टेलिफोन समेत जडान गरिएको छ ।

तस्बिरः प्रकाशचन्द्र तिमिल्सेनार नेपाल फोटो लाइब्रेरी
















प्रतिक्रिया दिनुहोस्