Skip to content

नगदे बाली अलैंचीको भाउ ७ वर्ष यताकै उच्च

nabil bank

झापा । ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैंचीले उत्पादनको सुरुआती सिजनमा नै उच्च भाउ पाएको छ ।

अलैंचीको खरिद–बिक्री हुने नेपालकै ठूलो बजार बिर्तामोडमा सोमबार प्रतिमन (४० केजी) ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल अलैंची व्यवसायी महासंघका कार्यकारी निर्देशक अनिल ढुंगानाले बताए ।

‘यो निकै राम्रो भाउ हो,’ उनले भने, ‘गत वर्ष अहिलेकै सिजनमा अलैँचीको कारोबार प्रतिमन ४० हजार रुपैयाँसम्ममा भएको थियो ।’ अलैंचीको यो भाउ विगत सात वर्षयताकै उच्च मानिएको छ ।

०७५ सालको यो सिजनमा अलैँचीको प्रतिमन मूल्य एक लाख पाँच हजार रुपैयाँ थियो । सोही सालको मंसिरमा मूल्य अझ बढेर प्रतिमन एक लाख सात हजार रुपैयाँ पुगेको थियो ।

०६७ सालमा अलैँची प्रतिमन एक लाख २० हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । त्यसभन्दा बढी मूल्यमा अलैँचीको कारोबार कहिल्यै भएको छैन । भदौ–असोजतिर भाउ धेरै हुनु भनेको मंसिर–पुसमा अझै बढ्ने संकेत भएको उनको भनाइ छ ।

हाल बढेको भाउले अलैँची उत्पादन गर्दै आएका किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् । किसानले बेच्ने बेलामा अलैँचीको भाउ उच्च हुँदा उनीहरू उत्साही भएका हुन् । किसानबाट यति बेला किनेको अलैँची भण्डारण गरेर व्यापारीले मंसिर–पुसतिर भाउ आकाशिएपछि बेचेर धेरै मुनाफा कमाउने गरेका छन् ।

‘एक मन अलैंची उत्पादन गर्न किसानले अधिकतम २० हजार रुपैयाँसम्म लगानी गरेका हुन्छन्,’ महासंघका कार्यकारी निर्देशक ढुंगानाले भने, ‘आफूले बेच्ने बेलामा भाउ धेरै पाएर किसान धेरै खुसी भएका छन् । यसपालि अलैँचीको भाउ अझै धेरै बढेर जाने सम्भावना देखिन्छ ।’

नेपालका ४२ जिल्लामा अलैँची खेती गर्ने गरिएको छ । तर, कोसी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा, खोटाङ, भोजपुर र तेह्रथुममा यो धेरै उत्पादन हुने गरेको छ ।

कोसी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाका भएर सात अर्ब ६७ करोड रुपैयाँको अलैँची भारत निर्यात गरिएको मेची भन्सार कार्यालयले जनाएको छ ।

नेपालमा उत्पादित ९० प्रतिशत अलैंची निर्यात गर्ने गरिएको छ । नेपालबाट अलैँची भारत पुर्‍याइन्छ । त्यहाँबाट अलैंची ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुर्‍याइने गरेको छ । विश्व बजारमा नेपाली अलैँचीको सोझो पहुँच छैन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime