नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा १७औं संस्करणको अटो शो आयोजना गर्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने नाडा अटो शो २०२५ को आकर्षणमा उड्ने ट्याक्सी रहेको छ । त्यति मात्रै नभएर रोबटसमेत अटो शोमा राखिएको छ ।
यो शोलाई सबैको आकर्षकको केन्द्र बनाउन भन्दै नाडाले प्रयास जारी राखेको छ । यो शोलाई मानक बनाउन खोजेको नाडाको तर्क छ । त्यस्तो मानक कसरी बनाउँदै छन् ? अघिल्ला संस्करणभन्दा यो पटक नयाँ के छ ? दर्शक तथा उपभोक्ताले नाडा अटो शोमा के फरक पाउँछन्, यी र यस्तै विषयमा नाडाका अध्यक्ष करण चौधरीसँग लगानी न्युजका लागि सोभित थपलियाले गरेको कुराकानीः
नाडा अटो शोको तयारी कस्तो हुँदैछ ?
नाडा अटो शोका लागि स्टलहरु निर्माणको अन्तिम चरणमा छन् । त्यहाँभित्र आवश्यक पूर्वाधार निर्माण अन्तिम अन्तिम चरणमा छन् । हामी व्यवस्थापनको तर्फबाट सबै आगन्तुकहरुलाई स्वागत गर्नका लागि एकदम तत्पर भएर बसेका छौं।
यस पटकको नाडा अटो शोमा नयाँ के देखाउँदै हुनुहुन्छ ?
यस पटकको १७औं संस्करण परिकल्पना गर्दा नै केही न केही अद्भुत हुनुपर्छ, अविस्मरणीय हुनुपर्छ भन्ने सोचेका थियौं । हामीले नेपाली जगतका लागि केही न केही छाप छोड्नुपर्छ भन्ने हिसाबले नाडा अटो शोको परिकल्पना गरेका हौं ।
नाडा अटो शोको विगतदेखिको मूल उद्देश्य अहिले पनि यथावत् छ । त्यो भनेको व्यवसाय नै हो । व्यापारीहरुले बेच्ने सवारी साधनमा लगभग ४० प्रतिशत बुकिङ लिने काम भएको छ । यसलाई हामीले निरन्तरता दिनैपर्छ । व्यवसाय भएन भने हामी जस्ता संस्था रहन्नौं । यसलाई निरन्तरता दिँदै अब आउँदा दिनमा हामीले कसरी ट्याकल गर्ने भन्ने पनि सोच्नुपर्ने छ ।
त्यो सोचमा हामीले टार्गेट गरेको भनेकै दिगो विकास नै हो । त्यो भनेको के होभन्दा अटोमेटेड ड्राइभिङ, रोबोटिक्स, फ्लाइङ ट्याक्सिज । कसरी हुन सक्छ भविश्यष्लाई प्रोत्साहित गर्देै लैजाने हो ।
यस पटकको अटो शोमा कति वटा स्टल रहन्छन् ?
हामीले त्यहाँ स्टलको स्पेस दिने हो । नाडाले त्यो काम गरेको छ । स्टललाई अत्याधुनिक बनाउने र त्यहाँ प्रदर्शनी गर्ने सम्बन्धित प्रदर्शनकर्ताहरुले नै हो ।
यस पटक मुख्य आकर्षक भनेको रोबट, फ्लाइङ ट्याक्सी, भिन्टेज कार पभिलियन छ । यस पटक हामीले मुख्य ठानेको अटो डाइलग हो । नीति प्रवर्धन गर्नुपर्ने अहिलेको आवश्यकता हो । यसलाई फोकस गर्नका लागि नै हामी अगाडी बढ्नुपर्छ।
नाडा अटो शो हुँदै गर्दा यसलाई व्यावसायिक दृष्टिकोणबाट कसरी हेरिएको छ ?
हामीले व्यापारिक दृष्टिकोणबाट हेर्दा प्रदर्शनिस्थलमा रहेका गाडी, मोटरसाइकल, अन्य पार्ट पुर्जा बिक्री हुनुपर्यो । स्टल राख्नेहरुले नाडा लक्षित गरेर विभिन्न योजना (अफर) निकाल्नु हुन्छ । त्यो योजना उपभोक्ताले कुरिरहेका हुन्छन् । त्यसमा बुकिङ गरेर उहाँहरुले डेलिभरी दिन सक्नुभयो भने हाम्रो उद्देश्य त्यहीबाट पुरा हुन्छ ।
केही दिनअघि नाइमा मोबिलिटी एक्स्पो सकियो, नाडा अटो शो सुरु हुँदैछ, यी दुई बीचको अन्तर के होला ?
नाडा अटो शोको विकल्प छैन । नाडाले जुन तरिकाले अटो शो गर्ने गरेको छ । त्यो नेपालकै सबभन्दा बृहत प्रदर्शनी हो । यो कुरा १६औ संस्करणहरुले पुष्टि गरिसकेको छ । अवलोकनकर्ता, उपभोक्ताहरु सबै ढुक्क भएर नाडाको अटो शोलाई कुरिरहनु भएको छ । नाडाको अटो शोलाई अन्य कुनै प्रदर्शनीले छुन सक्दैन। नाडा अटो शो भनेको नाडा नै हो ।
नाडा अटो शोमा ईभी वा इन्धन गाडीको बाहुल्यता बढी हुन्छ ?
देशमा ७२ प्रतिशत ईभी छ । नाडामा पनि बहुमत ईभी नै देखिन्छ । तर, धेरै ब्राण्डका आईइसहरु पनि छन् । त्यो पनि यहाँले देख्न पाउनु हुनेछ । आईइस, हाइब्रिड पीएचइभ सबै नाडामा देख्न पाउनुहुन्छ ।
पछिल्लो समय नेपालमा अटो व्यवसाय कसरी चलिरहेको छ ?
कोरोनाले अटो व्यवसायीलाई धरातलमा नै पुर्यायो । नाडाले त्यसलाई धेरै प्रयास गरेर थामिरहेको छ । अब उकास्ने बेला आएको छ । मैले विगतको एक वर्षमा सूर्यको किरण जस्तो झुल्का देखेको छ । यो आशाको किरण हो । आउँदो दिनमा अवश्य पनि यो आशाको किरण सूर्य जस्तै उदाउने छ ।
तपाईंले अहिले जुन आशाको किरणको कुरा गर्नुभयो नि त्यो आशाको किरणलाई चालु आर्थिक वर्षको बजेट आउने बेला करका विषयमा अन्ल्यौलता सृजना गरेर बादल लगाइदियो कि भन्ने पनि छ नि ? कर बढ्ने हल्लाले व्यवसायीहरुले निकै गाडी बुक गर्नुभयो । त्यसले व्यापारलाई कस्तो प्रभाव पार्छ होला ?
सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमा म जस्तो खुशी कोही पनि थिएन । मैले जुन तरिकाले यो बजेटलाई स्वागत गर्या थिए न आजसम्म कसैले त्यसरी स्वागत गर्या थियो । म नाडामा कुनै न कुनै रुपमा जोडिएको एक दशक भयो। एक दशकमा यस्तो बजेट आएको छैन ।
यो मेरालाई अविस्मरणीय बजेट हो । मौदिक नीतिले पनि त्यहीअनुसार सहयोग गर्छ भन्ने आशा थियो । तर त्यो भएन । तर मैले हार मान्या छैन । अवश्य पनि पहिलो त्रैैमासिक समिक्षामा त्यो राम्ररी समेटिन्छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अन्य विभिन्न विषय प्राथमिकतामा परेका कारण आउन नसकेको र यसलाई समेटनै जाने आश्वासन पाएका छौ ।
अहिले बैंकको ब्याजदर न्यून बिन्दुमा छ, यसले ब्यापावरलाई राम्रो प्रभाव परेको छ होला नि ?
अहिले ब्याजदर संस्तो त छ । लोन टु भ्याल्यु जब इज हुन्छ अवश्य पनि इन्ट्रेस्ट रेटले किक इन गरिहाल्छ । अहिलेका लागि ब्याजदरभन्दा पनि सहज रुपमा ऋण पाइदिए हुन्थ्यो भन्ने छ । ८० प्रतिशत लोन पाइन्थ्यो भने त्यसलाई ६० प्रतिशतमा झारेको छ । त्यो भनेको समस्या नै हो ।
तपाईंले अटो शोलाई प्रविधि र मोबिलिटिको नयाँ युगमा लैजाने भनेर भन्नु भएको छ, यो कसरी सम्भवछ ?
एउटा परिकल्पना गराउन चाहन्छु कि यो दिन सोच्नुस न, तपाई एउटा गाडीमा बस्नु भएको छ । अगाडि ड्राइभर छैन । त्यो युग नेपालमा आयो भने कस्तो लाग्छ ? नाडा त्यतातिर उन्मुख छ ।
तपाईंको भनाइमा एउटा विषय जोडौं न, करिब ११३ वर्ष अगाडि नेपालमा पहिलो गाडी बोकेर ल्याइएको थियो, अहिले नाडाको प्रदर्शनीमा राख्न भनेर ल्याइएको फ्लाइङकार पनि बोकेरै ल्याउनु पर्यो नि हैन ?
अहिले यो एउटा हाँसोको विषय पनि बनेको छ । कतिले ख्याल ठट्टाको विषय पनि बनाएका छन् । म कतैतिर लक्षित गर्दिन, तर समस्या के छभन्दा विपदलाई कसैले रोक्न वा टार्न सक्दैन । उड्ने चिज किन गुडाएर ल्याउनुपर्यो त भनेर पनि सोध्न सक्नुहुन्छ ? उड्ने चिजका लागि नीति नियम चाहिन्छ । यो अहिलेको लागि कस्तो हो भने अनम्यान्ड एरियल भेकल हो । यसलाई चलाउने भनेको रिमोटले हो । त्यसका लागि नीति नियम आवश्यक पर्छ । नाडाले प्रदर्शन गरेपछि नीति बन्छ । भविश्यमा हाम्रो वरिपरि उडिराखेको देख्छौ होला ।
तर, विपदको कारणले बाटो बिगार्यो । हामीले गाडीमा ल्याउन लागेका थियौ । मलाई अटो शो भव्य बनाउनु छ । मलाई अटो शो सफल बनाउनु छ । त्यो ल्याउनु नै पर्ने थियो । नेपाली हो गरेर देखाउँछु भनेर ल्याएकै हो ।

अटो शोमा पूर्वाधारको विषयमा अटो डाइलग पनि गर्ने हो ?
हामीले रोडका विषयमा विभिन्न समयमा सरोकारवाला निकायसँग कुरा गरिरहेका हुन्छौं । हाम्रो भूगोल पनि त्यस्तै छ । केरुङमा बाढीले बगाएपछि कस्तो भयो, नत्र त्यहाँ कस्तो राम्ररी सञ्चालनमा आएको थियो । तातोपानी नाकामा समस्या आएको २०, २२ दिन भयो ।
हामीले केही समय कुर्यौ, त्यो समस्या समाधान नहुने भएपछि जसरी भए पनि हाम्रो उद्देश्य पूरा गर्नुपर्ने भएर फ्लाइकार बोकेर भए पनि ल्यायौं । तर, खुसीको कुरा के हो भने नेपालमा सुस्त विकास भएपछि केही न केही भइरहेको छ । नाडा अटो शोमा ६ दिन नै कुनै न कुनै विषयमा छलफल हुनेछ । विभिन्न महत्वपूर्ण विषयमा नै छलफल गर्ने छौं ।
पछिल्लो समय डिलर बढी बन्द हुन थालेका गुनासा आउन लागेका छन् । अहिले डिलर चल्न नसकेर बन्द हुने अवस्था आएको हो ?
यो प्रश्न नाडाको मर्म बोकेको प्रश्न हो । हामीले अटोमोबाइल व्यवसाय सम्पूर्णलाई समेट्ने भन्छौ । तर समेट्दा समेट्दै पनि उहाँहरुको समस्या देख्दा खेरी जटिल छ । यो सरकारलाई मेरो सल्लाह के छ भने एकतिर हामीले ह्युमन रिसोर्स रिटेन गर्ने भनेर भन्दै छौ । त्यो रिटेन गर्ने भए अलि अलिकति नियम खुकुलो बनाउनु, बिजनेसलाई प्रोत्साहन गर्नुपर्यो ।
त्यो भनेको के हो ?
हामीलाई व्यवसाय गर्ने वातावरण भनेकै लोन टु भ्यालु रेसियो बढाइदिनु पर्यो । त्यो भयो भने गाडीहरु बढी बिक्री हुन्छन् । गाडीहरु बिक्री भएपछि गाडीको डिलर्हरुले त्यसबाट लाभ लिन सक्नुहुन्छ । त्यो बिक्री भएको गाडी पछि गएर सर्भिस हुन्छ । सर्भिसबाट पनि विभिन्न आफ्टर सेल्सकोले लाभ लिन सक्नुहुन्छ । यो समस्या कारोना महामारीपछि सुरु भएको हो । डिलर भनेको गाडी ब्यापारीका लागि नेटवर्क हो । नेटवर्क बिग्रियो भने समस्या हुन्छ ।
यसले त राज्यलाई पनि नोक्सान होला नि ?
अवश्य पनि हुन्छ नि । यो विषयमा हामीले लबिङ पनि गरिरहेका छौं ।
यसमा ठूलो सहयोग हुने भनेको राष्ट्र बैंकको मौद्रिन नीतिले हो । हामीले अर्थ मन्त्रालयसँग पनि भनेका छौं । व्यवसाय चलायमान हुँदा सबैलाई लाभ हुन्छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा यो समाधान हुनुपर्ने हो जस्तो लाग्छ ।
नाडा अटो शो मा आउनेलाई तपाईको सन्देश के छ ?
नाडामा आउने उपभोक्ता भनौं वा दर्शकले बुझ्नुपर्ने विषय के होभन्दा नाडा भनेको भव्य चाड हो । चाडमा आउनेलाई मैले वर्ग छुट्याउने गरेको छैन । सानो बालकदेखि वृद्धसम्म सम्पूर्णलाई अटो शो हेर्न आउन आह्वान गर्छु । शोमा फ्लाइङ कार छ त्यो हेर्न पाइन्छ, छुन पनि पाइन्छ ।






प्रतिक्रिया दिनुहोस्