Skip to content

नाडा अटाे-शाे : गाडी किन्न कुन बैंकले कति ब्याजदरमा ऋण दिन्छन् ? 

nabil bank
काठमाडौं । वाणिज्य बैंकहरूले सवारी खरिद गर्न सस्तो ब्याजदरमै कर्जा दिने गरेका छन् । पछिल्लो समय अटो मोबाइल बजार क्रमशः चलायमान हुँदै गएपछि बैंकहरूले पनि सस्तो ब्याजदरमै हायर पर्चेज र अटो लोन लगायतका कर्जाहरू दिन थालेका हुन् ।
केही वर्षयता बैंकहरुको ब्याजदर निरन्तर घट्दो अवस्थामा रहेको छ । विगत डेढ वर्ष अघिबाट बैंकहरूले लगातार कर्जाको ब्याजदर घटाउँदै  आएका छन् । बैंकको बेस रेट पछिल्लो समय सस्तिएको छ । बेस रेट घटेसँगै बैंकहरूले कर्जाको ब्याजदर पनि घट्दो अवस्थामा रहेको कारण यस बेला गाडी खरिद गर्ने ग्राहकले सस्तो ब्याजदरमा कर्जा पाउने भएका हुन् ।
बैंकहरुले भदौ मसान्तसम्मको लागि ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले भिन्न सीमाभित्र रहेर भदौ महिनाभरि कर्जा दिन्छन् । भदौपछि बैंकको ब्याजदर परिवर्तन हुने छ । राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकहरुले हरेक महिनाको मसान्तमा आगामी महिनाका लागि ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ ।
उक्त व्यवस्थाअनुसार बैंकको ब्याजदरमा पनि केही परिवर्तन आउन सक्ने हुन्छ । आज (मंगलबार भदौ ३ गते) सुरु भएको १७औं संस्करणको ‘नाडा अटो शो’मा विभिन्न ब्रान्डका गाडीहरु राखिएको छ । यो शो भदौ ८ गतेसम्म चल्ने छ । यस शोमा गाडी बुक गर्ने ग्राहकलाई बैंकले थप सहुलियत दिने गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले भदौमा पेट्रोलियम सवारी खरिद गर्ने आफ्ना ग्राहकलाई ७ वर्ष अवधिको कर्जामा १० प्रतिशत र इलेक्ट्रिक सवारी खरिद गर्ने आफ्ना ग्राहकलाई ७ अर्ब अवधिसम्मको कर्जामा ८.५० प्रतिशत ब्याजदरमा कर्जा दिने घोषणा गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले स्थिर कर्जातर्फ यस बैंकले हायर पर्चेज कर्जामा ५ देखि १० वर्षको कर्जामा १० प्रतिशत र १० वर्षभन्दा माथिको कर्जामा ११ प्रतिशतसम्म ब्याजदरमा कर्जा लगानी गर्ने गरेको छ। सोही अवधिको गाडी कर्जामा पनि बैंकले सोही ब्याजदर निर्धारण गरेको छ ।
प्रभु बैंकले आफ्ना ग्राहकलाई हायर पर्चेज कर्जा दिँदा बेस रेटमा २ प्रतिशत ४ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने गरेको छ । यस बैंकले व्यक्तिगत अटो कर्जाको लागि आफ्ना ग्राहकलाई पाँच वर्षको कर्जामा बेस रेटमा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज थपेर कर्जा दिने गरेको छ । पाँच वर्षमाथि ८ वर्षसम्मको अटो कर्जामा बेस रेटमा २.५० प्रतिशत देखी ४.५० प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा लगानी गर्ने गरेको छ । व्यक्तिगत हायर पर्चेज कर्जाको लागि यस बैंकले सोही ब्याजदरमा कर्जा दिने गरेको जानकारी दिएको छ । यस बैंकको बेस रेट  ६.४३ प्रतिशत रहेको छ ।
एनएमबी बैंकले अटो लोन तर्फ इन्धन गाडीलाई बेस रेटमा २.५ देखि ४.५ प्रतिशतसम्म ब्याजदरमा कर्जा दिने गरेको छ । यसैगरी, इलेक्ट्रिक व्यक्तिगत गाडी लिने ग्राहलाई बेस रेटमा ०.५ प्रतिशतदेखि २.५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने गरेको छ भने व्यापारतर्फको इभ खरिदलाई बसरेटमा १ प्रतिशत देखी ३ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्ने गरेको छ । यसैगरी, सार्वजनिक कमर्सियल इभी खरिद गर्दा यस बैंकले बेस रेटमा २ देखी ४ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा लगानी गर्ने गरेको छ । यस बैंकको हालको बेस रेट ६.१३ प्रतिशत रहेको छ ।
यसैगरी, एनआईसी एसिया बैंकले १० वर्षसम्मको अटो लोनमा ९.६० प्रतिशत ब्याजमा कर्जा दिने गरेको छ । यता नेपाल एसबीआई बैंकले व्यक्तिगत तथा व्यावसायिक अटो लोन र हायर पर्चेज लोन पाँच वर्षसम्मको ९.९९ प्रतिशत ब्याजदर लिने गरेको छ । यस बैंकले पाँच वर्षमाथिको यस्तो कर्जामा १०.४९ प्रतिशत ब्याजदरमा कर्जा दिने गरेको छ।
एसबीआई बैंकले व्यक्तिगत इभी खरिदका लागि फल्टिङ इन्ट्रेस्ट रेटमा बेस रेटमा ०.२५ प्रतिशत देखी २.२५ प्रतिशतसम्म ब्याजदर  तोकेको छ । यसैगरी, फल्टिङ  इन्ट्रेस्ट रेटमा अन्य गाडी खरिदका लागि बेस रेटमा ०.५० प्रतिशतदेखि २.५० प्रतिशत प्रिमियम ब्याजदर तोकेको छ । अफिसियल इभी खरिदमा बैंकले बेस रेटमा ०.२५ प्रतिशतदेखि २.२५ प्रतिशत नै प्रिमियम थपेर कर्जा लगानी गर्ने गरेको छ।
यसैगरी, प्राइम कमर्सियल बैंकले आफ्ना ग्राहकलाई प्राइम हायर पर्चेज कर्जाको लागि ९ प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याजदरमा कर्जा दिने गरेको छ। यसैगरी,नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भदौ महिनाका लागि आफ्ना ग्राहकलाई अटो लोनमा ६.२८ प्रतिशतदेखि ८.२८ प्रतिशत ब्याजदरमा कर्जा दिने गरेको छ । इभीको लागि पनि ब्याजदर एउटै रहेको बैंकले जनाएको छ ।
नेपाल बैंकले पाँच वर्षसम्मको अटो लोनका लागि ६.१३ प्रतिशतदेखि ८.१३ प्रतिशतसम्म ब्याजदरमा कर्जा दिने गरेको छ । हायर पर्चेज कर्जाका लागि यस बैंकले ६.६३ प्रतिशतदेखि ८.६३ प्रतिशतसम्म ब्याजदरमा कर्जा दिने गरेको छ । कमर्सियल सवारी खरिद गर्दा यस बैंकले ७.१३ प्रतिशतदेखि ८.१३ प्रतिशतसम्म ब्याज लिने गरेको छ ।
यसैगरी, नबिल बैंकले भदौ महिनामा व्यक्तिगत अटो लोनका लागि बेस रेटमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्ने गरेको छ ।  यस बैंकले व्यावसायिक अटो लोनको लागि बेस रेटमा ३ देखि ४ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्ने गरेको छ ।
ट्याक्टर खरिद गर्ने ग्राहकले यस बैंकबाट बेस रेटमा ३ देखि ४ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा लिन पाउने व्यवस्था रहेको बैंकले जनाएको छ । यस बैंकले व्यक्तिगत इभी खरिद गर्ने  ग्राहकलाई बेस रेटमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने गरेको छ भने व्यावसायिक इभी खरिद गर्ने ग्राहकलाई ३ देखि ४ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने गरेको छ । नबिलको बेस रेट ५.७४ प्रतिशत रहेको छ ।
माछापुच्छ्रे बैंकले अटो लोन (स्पेस फिक) तर्फ बेसर रेटमा ०.५० प्रतिशत देखी २.५० प्रतिशतसम्म  प्रिमियम थप गरेर र अटो लोन (नर्मल) तर्फ बेस रेटमा १ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा लगानी गर्ने जनाएको छ ।  यसैगरी, व्यावसायिक गाडी (स्पेस फिक) तर्फ बेस रेटमा ०.५० प्रतिशतदेखि २.५० प्रतिशत र नर्मलतर्फ २.४ प्रतिशत ब्याजदरमा कर्जा दिने गरेको छ । फिक्स रेटमा अटो लोन दिँदा बैंकले पाँच वर्षसम्मको कर्जाको ९.५० प्रतिशत र पाँच वर्षदेखि माथि १० वर्षसम्मको लोनमा १०.५० प्रतिशत तथा १० वर्ष माथिको अटो लोनमा ११.५० प्रतिशत ब्याजदर लिने गरेको छ ।
लक्ष्मी सनराइज बैंकले भदौसम्म अटो लोन दिँदा आफ्ना ग्राहकलाई ७.९९ प्रतिशत देखी ११.९९ प्रतिशतसम्म ब्याजदरमा कर्जा दने गरेको छ । यस बैंकले इलेक्ट्रिक सवारी खरिद गर्ने ग्राहकलाई पनि उक्त ब्याजदरमा नै कर्जा दिने गरेको बैंकले जनाएको छ । कुमारी बैंकले अटो लोन (प्राइभेट) तर्फको लागि बेस रेटमा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने गरेको जानकारी दिएको छ ।
यस बैंकको बेस रेट ६.४४ प्रतिशत रहेको छ । यस बैंकले हायर पर्चेज कर्जा (कमर्सियल) तर्फ बेस रेटमा ३ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा लिने गरेको बैंकले जनाएको छ । यस बैंकले फिक्स रेटमा पाँच वर्षभन्दा माथिको कर्जा लिने ग्राहकका लागि ८.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने गरेको छ ।
हिमालयन बैंकले सात वर्षसम्मको हायर पर्चेज कर्जाको (प्राइभेट) मा ८.५० प्रतिशत ब्याजदरमा कर्जा दिने गरेको छ भने हायर पर्चेज कमर्सियल तर्फ ९.५० प्रतिशत ब्याज लिने गरेको छ । ग्लोबल आईएमई बैंकले अटो लोनमा फल्टिङ इन्ट्रेस्ट रेटमा कर्जा दिँदा बेस रेटमा १.५० प्रतिशत देखी ३.५० प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने गरेको छ ।
ग्लोबलको बेस रेट हाल ५.६० प्रतिशत रहेको छ । यस बैंकको फिक्स इन्ट्रेस्ट रेटमा अटो लोन दिँदा ८.९९ प्रतिशत देखी १०.९९ प्रतिशतसम्म ब्याजदरमा कर्जा दिने गरेका छ । यसैगरी, यस बैंकले हायर पर्चेज कर्जाको लागि फल्टिङ कर्जामा बेस रेटमा २.५० प्रतिशत देखी ४.५० प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने गरेको छ । हायर पर्चेजको लागि फिक्स इन्ट्रेस्ट रेटमा कर्जा दिँदा यस बैंकले १०.९९ प्रतिशत देखी १२.९९ प्रतिशतसम्म ब्याजदर लिने गरेको छ । 
एभरेष्ट बैंकले सात वर्षसम्मको लागि भेइकल लोन र हायर पर्चेज कर्जाका लागि ७.४९ प्रतिशत ब्याजदरमा कर्जा दिने गरेको छ । यस बैंकले फल्टिङ  कर्जा दिन लागेको हो । बैंकको तोकेको अवधिभन्दा माथिल्लो अवधि राखेर कर्जा लिने ग्राहकलाई यस बैंकले ब्याजदर बढाउने जानकारी दिएको छ । कृषि विकास बैंकले हायर पर्चेजमा १०.६५ प्रतिशत ब्याजदरमा कर्जा दिने गरेको छ ।
बैंकले यो कर्जा दुई वर्ष माथिको लागि दिने गरेको छ । यसैगरी, यस बैंकले अटो लोन साढे दुई वर्ष माथिको लागि पनि १०.६५ प्रतिशत नै ब्याजदरमा कर्जा दिने गरेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime