Skip to content

२२ अर्बमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्राय: सुनसान, अनियमितता पुष्टि गर्न अधिकारीको चुनौती (भिडियो)

nabil bank

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको आर्थिक अनियमितता पुष्टि गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले चुनौती दिँदै विमानस्थल निर्माणमा गुणस्तरमा केही सम्झौता नगरेको बताएका छन् ।

पोखरा विमानस्थलमा अधिकारीले विमानस्थल निर्माण सम्झौता बाहेक विमानस्थलमा दुई वटा बोर्डिङ वृज थपिएको र पोखराको भूगोललाई ध्यान दिई ३४ सेन्टिमिटर बाक्लो कङ्क्रिटको प्रयोग गरी रनवे र ट्याक्सी वे निर्माण गरिएको बताए । विमानस्थलको गुणस्तर र भौगोलिक अवस्थाले अन्तर्राष्ट्रिय स्तरको बनाइएको पोखरा विमानस्थल हाल आन्तरिक उडानमा मात्र सीमित छ ।

हालसम्म चार्टर उडान बाहेक नियमित रुपमा अन्तराष्ट्रिय उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय उडान मार्फत पोखराको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने पोखरेलीको सपना सपनामै सीमित हुनुपरेको छ । पोखरेली जनताको पटक पटकको आन्दोलन र दबाबपछि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न त भयो, तर अपेक्षा अनुसार सञ्चालनमा आउन सकेको छैन ।

विमानस्थल निर्माणका लागि २०३२ सालमा ३१०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसपछि २०७२ सालमा थप ७९३ रोपनी जग्गा अधिग्रहण गरेर तीन हजार ८९९ रोपनी जग्गामा बनेको विमानस्थलका लागि चार अर्ब ५० करोड रुपैयाँ मुआब्जा वितरणमा खर्च भएको छ ।

२०६८ मंसीर ११ मा अर्थ मन्त्रालयले विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति दिएको थियो । त्यसपछि २०७१ जेठ ८ मा २ प्रतिशत ब्याजदरमा २२ अर्ब रुपैयाँमा ‘आईकाओ फोरडी क्याटेगोरी’ को विमानस्थल निर्माण गर्न प्राधिकरण र चिनियाँ निर्माण कम्पनी सीएएमसीबीच ‘इन्जिनीयरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्शन (ईपीसी)’ मोडलमा निर्माण गर्ने सम्झौता भएको थियो।

चीन सरकारले एक्जिम बैंकले मार्फत सहुलियत ऋण दिने र चिनियाँ निर्माण कम्पनी मात्र प्रतिस्पर्धामा सहभागी हुन पाउने शर्त राखेका कारण अन्य कम्पनी आउन पाएनन् । त्यसपछि २०७२ कात्तिक १० मा मन्त्रिपरिषद्ले चिनियाँ सहुलियतपूर्ण ऋणलाई विमानस्थल निर्माणमा लगाउने व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिए पश्चात नेपाल र चीन सरकारबीच (जी टू जी मोडलमा) २०७२ चैत ८ मा सम्झौता भएको थियो ।

महंगी ऋण सहयोगमा निर्माण गरिएको सो विमानस्थल देख्नलाई आकर्षक भएपनि नियमित अन्तर्राष्ट्रिय उडान कहिले हुन्छ भन्ने कुराको भने टुंगो लागि सकेको छैन ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime