काठमाडौं । शिवम् सिमेन्टले २०७५ साल साउन १३ गते प्रिमियम मूल्यमा साधारण सेयर आईपीओ निष्कासन गर्यो । तत्कालीन समयमा कम्पनीले आयोजना प्रभावित स्थानीयलाई अंकित मूल्यमा १०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०० रुपैयाँका दरले सेयर निष्कासन गर्यो ।
उक्त समयमा कम्पनीले सर्वसाधारण र आयोजना प्रभावितका लागि फरक–फरक मूल्य राखेको थियो । सर्वसाधारणका लागि अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम थपेको थियो ।
त्यसपछि कम्पनीहरूले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न लागे । उत्पादनमूलक कम्पनीका साथै जलविद्युत् कम्पनी, बीमा कम्पनी लगायतले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न थाले । केही कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने तयारी गरेका छन् ।
तर, २०८० पुस १२ गते लेखा समितिको बैठकले १३ गते धितोपत्र बोर्डलाई दिएको निर्देशनपछि भने कम्पनीहरूले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न पाएका छैनन् । प्रिमियम आईपीओ निष्कासन गरेको कम्पनीले धितोपत्र बोर्डमा पेस गरेको वित्तीय विवरण पनि गलत देखिनु र धितोपत्र बोर्डले तत्कालीन समयमा प्रिमियम मूल्यमा सेयर जारी गर्ने समयावधी ३ वर्षबाट २ वर्षमा झारेको थियो ।
लेखा समितिले नियमावलीका व्यवस्था संशोधन गर्दा सरोकारवाला निकायहरूसँग छलफल नगरेकाले नियमनकारी निकायको काम कारबाहीमा प्रश्न उठेको जनाएको छ । साथै बोर्डले तत्कालीन समयमा आर्थिक चलखेल गरी अवाञ्छित र अपारदर्शी रूपमा विभिन्न कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ ल्याउन अनुमति दिएको लेखा समितिले जनाएको थियो ।
उक्त बैठकले लेखा समितिले प्रिमियम मूल्यमा सेयर जारी गर्न दिँदा तजबिजी अधिकार प्रयोग भएको देखिन्छ । लिक्विडेसनमा जाने अवस्थामा जान लागेका कम्पनीलाई आफूखुसी मूल्यांकन बढाएर सेयर निष्कासन गर्न दिएको समितिको ठहर छ । धितोपत्र बोर्डले नियम संशोधने गरेर कम्पनीको पुनः मूल्यांकन गरी मूल्य बढाएर आईपीओ जारी गर्न लगाएको जनाएको छ । लेखा समितिले उक्त विषय उल्लेख गरेर धितोपत्र बोर्डलाई पत्र पठाएपछि बोर्डले अहिले प्रिमियम मूल्यमा आईपीओ निष्कासन अनुमति रोकेको छ ।
तत्कालीन समयमा प्रिमियम मूल्यमा सेयर निष्कासन गरेका घोराही सिमेन्ट, सोनापुर सिमेन्टको वित्तीय विवरण विषयमा प्रश्न उठेर निकै विवाद भएको थियो । घोराही सिमेन्टले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्दा स्वार्थ बाझिने गरी रेटिङ गराएको, आईपीओ निष्कासन भएको दिन नै मागभन्दा बढी आईपीओ परेको देखाउन नक्कली आवेदिन दिन लगाएको थियो ।
नक्कली आवेदन दिन लगाएर लगानीकर्तालाई आकर्षण गर्न खोजेको थियो । तत्कालीन समयमा घाटामा रहेर पनि निष्कासन गरेको सोनापुरको आईपीओमा मागअनुसार आवेदन नपरेपछि पटक–पटक समय थपिएको थियो ।
नेपालमा प्रिमियम मूल्यमा आईपीओ निष्कासन भएदेखि नै विवाद सुरु भएको हो । त्यो विवादबाट नियामक निकाय धितोपत्र बोर्ड पनि अछुतो हुन सकेको छैन । सरकारले उत्पादन मूल्य कम्पनीलाई सेयर बजारमा ल्याउने नीति लिएपछि कतिपय उत्पादन मूलक कम्पनी बजारमा प्रवेश गरे । वर्षौं लगाएर कमाएको कम्पनीको ख्याति, कम्पनीको नाफा अंकित मूल्यमा सर्वसाधारणलाई दिन सकिँदैन भनेर प्रिमियम मूल्यमा ल्याउने व्यवस्था गरिएको थियो । केही कम्पनीले गरेको बदमासीको असर अहिले दर्जनौं कम्पनीमा परेको छ ।
घोराही सिमेन्टले आयोजना प्रभावितलाई प्रतिकित्ता ४०० रुपैयाँ र सर्वसाधारणलाई प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो । सोनापुर मिनिरल एन्ड आयल लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थपेर २२५ रुपैयाँमा आईपीओ निष्कासन गरेको छ । सर्वसाधारणका लागि अंकित मूल्यमा १४९ रुपैयाँ ८४ पैसा प्रिमियम थपेर २४९ रुपैयाँ ८४ पैसामा आईपीओ निष्कासन गरेको हो ।
बीमा कम्पनीहरूमा सिटिजन्स लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको हो । कम्पनीले अंकित मूल्यमा १९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २९० रुपैयाँमा सेयर निष्कासन गरेको थियो । आईएमई लाइफले अंकित मूल्यमा १७६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २७६ रुपैयाँ, सन् नेपाल लाइफ इन्स्योरेन्सले अंकित मूल्यमा १५० रुपैयाँ ५५ पैसा प्रिमियम थपेर प्रतिकित्ता २५० रुपैयाँ ५५ पैसा, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्कासन गरेका छन् ।
यस्तै, भगवती हाइड्रोपावरले अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ, माण्डु हाइड्रोपावरले अंकित मूल्यमा १४८ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २४८ रुपैयाँमा सेयर निष्कासन गरेका थिए । जगदम्बा स्टिलले अंकित मूल्यमा २ सय रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ३ सय रुपैयाँ, छायाँ देवी कम्प्लेक्स प्रतिकित्ता ४०० रुपैयाँ, मारुती सिमेन्टले प्रतिकित्ता ३७७, शौर्य सिमेन्टले प्रतिकित्ता २६४.५१ रुपैयाँ र ऋद्धिसिद्धि सिमेन्टले प्रतिकित्ता २१४.१ रुपैयाँमा सेयर निष्काशन गर्न बोर्डमा पुगेका छन् ।
यस्तै सेन्चुरी इनर्जीले अंकित मूल्यमा २७५.११ रुपैयाँ र नुम्बुर हिमालय हाइड्रोले अंकित मूल्यमा प्रतिकित्ता २१८ रुपैयाँ प्रिमियम थपेर सेयर निष्कासन गर्न अनुमति मागेका छन् । यस्तै, शिवम् सिमेन्टले अंकित मूल्यमा २१० रुपैयाँ प्रिमियम, जगदम्बा स्टिलले अंकित मूल्यमा ३०० रुपैयाँ, सौर्य सिमेन्टले अंकित मूल्यमा २६४.५१ रुपैयाँ, मारुती सिमेन्टले अंकित मूल्यमा ३७७ रुपैयाँ, रिद्धिसिद्धि सिमेन्टले अंकित मूल्यमा २१४.१०, अम्बे स्टिलले अंकित मूल्यमा ३०३ रुपैयाँ, हुलास इन्फ्राले अंकित मूल्यमा ३३३.५६ रुपैयाँ, ह्याम्स हस्पिटलले अंकित मूल्यमा २८८ रुपैयाँ, नेपाल ब्रोडकास्टिङ च्यानलले अंकित मूल्यमा ५० रुपैयाँ, कैलाश हेलिकप्टरले अंकित मूल्यमा ३२७ रुपैयाँ प्रिमियम थपेर आईपीओ ल्याउने बोर्डको पाइपलाइनमा छन् ।
यी प्रिमियम मूल्यमा आईपीओ ल्याउन धितोपत्र बोर्डले २०८० पुस १३ गते लेखा समितिले गरेको निर्णय देखाउँदैै रोकेको छ । यो विषयमा बोर्डको कोही पनि अधिकारी आधिकारीक रूपमा बोल्न चाँहदैनन् । कुनै प्रतिक्रिया लिन खोज्दा अध्ययन मात्रै भइरहेको छ भन्छन् । यता लेखा समितिले अर्थ समितिको क्षेत्र मिच्यो भनेर दुई समितिबीच पनि विवाद भएको छ । लेखा समितिले रोकेको भन्दै बसेको सेबोनले आईपीओमा जाने भनेर आउने फाइललाई दर्ता गर्न पनि छोकडेको छैन । बोर्ड सञ्चालक समितिले लेखा समितिसँग बसेर समस्याको समाधान पनि खोजेको छैन । केही कम्पनीले गरेको गल्तीका कारण अहिले दर्जन बढी कम्पनी एक वर्षभन्दा लामो समयदेखि बोर्डको पाइपलाइनमा छन् ।
उत्पादनमूलक, राम्रा कम्पनीलाई सेयर बजारमा ल्याउने राज्यको नीतिलाई राज्यका विभिन्न निकायले रोकेर राखेका छन् । यसमा सरोकारवाला निकायले असन्तुष्टि जनाएका छन् ।






प्रतिक्रिया दिनुहोस्