Skip to content

सरकारको योजना र आफ्नो लक्ष्यविपरीत राष्ट्र बैंक, कानुन बनाउन छोडेर सेवा नै बन्द

nabil bank

काठमाडौं । लक्ष्मी सनराइज बैंकले करिब डेढ वर्षदेखि सञ्चालन गरेको ‘अरेन्ज नेक्स्ट’ नामक डिजिटल बैंकिङ सेवा बन्द गर्न राष्ट्र बैंक केही महिनाअघि निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशन लगत्तै बैंकले उक्त सेवा स्थगन गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले यस्तो सेवा सञ्चालन गर्न कानुनी व्यवस्था नरहेको जनाएको छ । नेपाल राष्ट्र बैंकको प्रवक्ता किरण पण्डितले बैंकले उक्त सेवा नेपाल राष्ट्र बैंकको अनुमति नलिई सञ्चालन गरेको बताए ।

‘लक्ष्मी सनराइज बैंकले नेपाल राष्ट्र बैंकसँग अनुमति नलिई सञ्चालन गरेको थियो’ प्रवक्ता पण्डितले भने, ‘यो विषयमा राष्ट्र बैंकले नियामकीय व्यवस्था नगरेका कारण बन्द गर्न केही महिनाअघि निर्देशन दिएको हो ।’

उनले यस्ता सेवा सञ्चालन गर्नका लागि कानून आवश्यक पर्ने बताए । अब डिजिटल बैंकिङको कानुन बनाउने अनि अघि बढ्ने उनको भनाइ छ । डिजिटल बैंकिङका विषयमा राष्ट्र बैंकले अध्ययन गरिरहेका उनको भनाइ छ । अहिले राष्ट्र बैंकले अरेन्ज नेक्स्टलाई बन्द गरेर सरकारको डिजिटल नेपालको अवधारणालाई असहयोग गरेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ‘नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार वित्तीय पहुँच विस्तार गर्न ‘नियो बैंक’ स्थापनका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाइनेछ’ भन्ने व्यवस्था गरेको छ ।

यस्तै सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नम्बर ३२७ मा ‘दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार गरी ग्रामीण अर्थतन्त्रको विकास गरिनेछ । डिजिटल, मोबाइल तथा शाखारहित बैंकिङ सेवा विस्तार गरिनेछ’ भन्ने उल्लेख छ ।

मौद्रिक नीतिमा कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाउनले नीति लिएको केन्द्रीय बैंकले राष्ट्र बैंकले लिने नीतिलाई सहजीकरण गर्ने गरी लक्ष्मी सनराइज बैंकले सञ्चालनमा ल्याएको अरेन्ज नेक्स्ट सेवालाई भने बन्द गराएको छ । डिजिटल नेपालको अवधारणालाई पूर्ण कार्यान्वयनमा लैजान सञ्चालनमा रहेका यस्ता सेवालाई आवश्यक कानून बनाएर सहजीकरण गर्नुपर्ने, यस्ता सेवा दिन चाहने अन्य कम्पनीलाई पनि सहजीकरण गर्नुपर्नेमा राष्ट्र बैंकले भएका सेवा पनि बन्द गरेर उल्टो बाटोमा हिँडेको जानकारहरुको तर्क छ।

लक्ष्मी सनराइज बैंकका अनुसार अरेन्ज नेक्स्ट नामक मोबाइल एपमा हाल ६५ हजारभन्दा बढी ग्राहकले अनलाइन खाताबाट खोलेर बैंकिङ कारोबार गरिरहेका थिए । उनीहरुको १७ करोड रुपैयाँ निक्षेप रहेको बैंकले जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता पण्डितले अहिले लक्ष्मी सनराइज बैंकलाई अरेन्ज नेक्स्ट अन्तर्गत खोलिएका खाता अन्य खातामा सार्न निर्देशन दिइसकेको बताए । तर, खाताहरु तत्काल सार्न प्राविधिक रूपमा समस्या रहेको जनाइएको छ ।

लक्ष्मी सनराइज बैंकले सुरु गरेको मोबाइल एपबाट सबैकाम घरमै बसेर गर्न सकिने थियो । सरकारले बजेटमा भने जस्तो दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार गरी ग्रामीण अर्थतन्त्रको विकास गर्न सहयोग पुग्ने थियो । तर राष्ट्र बैंकले भने रोकेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime