सिड्नी । अष्ट्रेलियाको उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि दर सन् २०२५ को जुलाई महिनामा २.८ प्रतिशत पुगेको छ, जुन पछिल्लो एक वर्षको सबैभन्दा उच्च दर हो ।
अष्ट्रेलियाली तथ्यांक विभागका अनुसार, एक वर्षको अवधिमा उपभोक्ता मूल्य सूचकांक २.८ प्रतिशतले वृद्धि भएको हो, जुन अघिल्लो महिनासम्म १.९ प्रतिशत थियो ।
यो दर सन् २०२४ को जुलाईपछि कै सबैभन्दा उच्च हो, त्यसबेला वार्षिक मूल्यवृद्धि ३.५ प्रतिशत थियो ।
अर्थशास्त्रीहरूले अनुमान गरेको भन्दा यो दर उच्च देखिएको हो । उनीहरूले करिब २.३ प्रतिशतको वृद्धि हुने आकलन गरेका थिए । मूल्यवृद्धिको आधारभूत मापन (ट्रिम गरिएको औसत दर) पनि अघिल्लो महिनाको २.१ बाट बढेर २.७ प्रतिशतमा पुगेको छ ।
वर्षको अवधिमा मूल्यवृद्धिमा मुख्य योगदान दिने क्षेत्रहरूमा घर भाडा तथा आवास खर्चमा ३.६ प्रतिशत, खाद्यान्न तथा गैर–मद्यपेय वस्तुहरूमा ३ प्रतिशत र मद्यपान तथा सुर्तीजन्य वस्तुहरूमा ६.५ प्रतिशतको वृद्धि देखिएको छ ।
विशेषगरी कफी, चिया र कोकोको मूल्य १४.४ प्रतिशतले बढेको छ, जसको कारण अन्तर्राष्ट्रिय उत्पादनमा प्रतिकूल मौसमका कारण आपूर्तिमा आएको असर हो भनी विभागकी प्रमुखले बताउनुभयो ।
देशको केन्द्रीय बैंकले यसै महिनामा सार्वजनिक गरेको अनुमानअनुसार, सन् २०२५ को बाँकी समयमा मूल्यवृद्धि अझै बढ्नेछ र सन् २०२६ को अधिकांश समयसम्म करिब ३ प्रतिशतमा स्थिर रहनेछ ।






प्रतिक्रिया दिनुहोस्