Skip to content

४ वर्षदेखि नोक्सान रहेको नारायणी डेभलपमेन्ट बैंकले पुँजी कोष पुर्याउन हकप्रद बेच्दै, सेयरको पैसाले शाखा विस्तार गर्ने

‘सञ्चालकमा राष्ट्र बैंकका पूर्वकार्यकारीदेखि टियूका प्राध्यापकसम्म’ 

nabil bank
काठमाडौं । विगत चार वर्षदेखि नोक्सानीमा रहेको नारायणी डेभलपमेन्ट बैंकले असोजको २ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले पुँजी कोष पर्याप्तता कायम गर्ने उद्देश्य राखेर राइट सेयर निष्कासन गर्न लागेको हो ।
बैंक विगत चार वर्षदेखि खुद नोक्सानीमा रहेको छ । राष्ट्र बैंकले तोकेको विभिन्न क्षेत्रमा कर्जा विस्तार गर्नका लागि पनि बैंकले हकप्रद सेयर जारी गर्न लागको हो । बैंकले हकप्रद सेयर बेचेर आएको पैसाले २ वटा शाखा विस्तार गर्ने उद्देश्य राखेको छ ।
शाखा सञ्चालन गर्नको लागि बैंकले हकप्रद सेयरबाट उठेको पैसाबाट ९० लाख रुपैयाँमा २ वटा  शाखा विस्तार गर्ने जनाएको छ । यसैगरी, हकप्रद सेयर जारी गरेर लगानी अभिवृद्धि-धितोपत्रमा लगानी, सरकारी ऋणपत्रमा लगानी, म्युचअल फण्डमा लगानी) भौतिक पूर्वाधारमा लगानी बढाउने बैंकको उद्देश्य छ । बैंकले हकप्रद सेयरबाट उठेको २५ अर्ब ३४ करोड ६७ लाख ६० हजार रुपैयाँ पैसा धितोपत्रमा लगानी, सरकारी ऋणपत्रमा लगानी, म्युचअल फण्डमा लगानी गर्ने जनाएको छ ।
‘नेपाल राष्ट्र बैंकले मिति २०७७-०४-२१ मा संस्थालाई समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट फुकुवा गर्दा दिएको निर्देशन तथा २०८१-११-२० को निर्देशानुसार यस वित्तीय संस्थाको लागि तोकिएको न्यूनतम चुक्ता पुँजी तथा पुँजीकोष पर्याप्तता कायम गर्न’ बैंकले हकप्रद जारी गर्न लागेको छ ।
यसैगरी, २०७९-०३-०८ गते सम्पन्न विशेष साधारणसभाबाट पारित भए बमोजिम हाल कायम रहेको चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको  छ । बैंकले प्रतिकित्ता अंकित मूल्य सय रुपैयाँका दरले २६ लाख २४ हजार ६७६ कित्ता थप एक बराबर एक (१ः१) अनुपातमा हकप्रद सेयर जारी गरी संस्थाको लागी तोकिएको न्यूनतम चुक्ता पुँजी  ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ कायम गरी चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेकोले सोही बमोजिम पुँजी संकलन गर्न हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ ।
बैंकले वित्तीय संस्थाले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिलाई विस्तार गर्नका लागि आवश्यक पुँजी संकलन गर्न हकप्रद सेयर जारी गर्न लागिएको जनाएको छ । बैंकको अर्को उद्देश्य वित्तीय संस्थाको प्रबन्धपत्रमा उल्लेख गरिएको उद्देश्यहरू अनुरूप गर्नुपर्ने कार्यहरूको लागि संस्था शाखा विस्तार गरी कारोबार वृद्धि गर्न आवश्यक पुँजी जुटाउन र कम्पनीको पुँजी आधारलाई मजबुत तुल्याइ राख्नका लागि हकप्रद सेयर जारी गर्न लागेको हो ।
चार वर्षदेखि नोक्सानीमा बैंक 
विगत ४ वर्षदेखि लगातार नोक्सानीमा रहेको बैंकले आगामी आर्थिक वर्षमा भने नाफा कमाउने प्रक्षेपण गरेको छ । बैंकको खराब कर्जा उच्च रूपमा बढ्दा बैंक नोक्सानीमा छ । बैंकको कर्जा पोर्टफोलियोमा समयमै उठ्न नसकेको कर्जा  (नन पफर्मिङग लोन) धेरै बढेको छ । उद्योग, व्यापार तथा व्यक्तिगत कर्जामा डिफल्ट हुने क्रम बढ्दा ब्याज आम्दानी घटेको र राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकले लोनलस प्रोभिजन बढाउनुपर्ने बाध्यता आयो । जसको प्रत्यक्ष असर नाफामा देखिएको छ ।
बैंक आर्थिक वर्ष २०७७/०७८  मा १ करोड १९ लाख ४० हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । यसैगरी, आर्थिक वर्ष २०७८/०७९ मा ५ करोड ४२ लाख ४८ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । बैंकको खुद नोक्सानी वर्षेनि बढेको देखिएको छ।  आव २०७९/०८० मा बैंक ७ करोड ८१ लाख १ हजार रुपैयाँले नोक्सानीमा रहेको थियो । यसैगरी आर्थिक  वर्ष २०८०/०८१ १ करोड ७६ लाख रुपैयाँ नोक्सानीमा रहेको छ भने गत आर्थिक वर्ष २०८१/८२ मा बैंक २ करोड ५१ लाख ६९ हजार रुपैयाँ नोक्सानीमा रहेको बैंकले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
बैंकले हकप्रद सेयर निष्कासन गर्नको लागि सार्वजनिक गरेको सूचनाअनुसार यस बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ को अन्यसम्म प्रक्षेपित ८५ लाख १२ हजार रुपैयाँ नाफामा जाने गरेको छ ।  यसैगरी, आगामी आर्थिक वर्ष २०८३/०८४ मा  १ करोड ९४ लाख ८८ हजार रुपैयाँ नाफामा जाने प्रक्षेपण गरेको छ भने आर्थिक वर्ष २०८४/०८५ मा २ करोड ३४ लाख ९ हजार रुपैयाँले नाफामा जाने बैंकको प्रक्षेपण रहेको छ ।
यस बैंकको प्रतिसेयर आम्दानी (इपीएस) गत आर्थिक वर्ष २०८१/८२ मा ९ रुपैयाँ ५९ पैसा ऋणात्मक रहेको छ । चालु आवमा बैंकले १ रुपैयाँ ६२ पैसा प्रतिसेयर आम्दानी गर्ने जानकारी दिएको छ । यसैगरी, आर्थिक वर्ष २०८३/८४ मा ३.७१ रुपैयाँ, आर्थिक वर्ष २०८४/५८ मा ४.४६ पैसा प्रतिसेयर आम्दानी गर्ने बैंकले जानकारी दिएको छ  ।
गत आर्थिक वर्षसम्म आउँदा यस बैंकको प्रति सेयर नेटवर्थ २७.१५ रुपैयाँ रहेको छ। बैंकले चालु आवमा प्रतिसेयर नेटवर्थ ५८.२२ रुपैयाँ हुने प्रक्षेपण गरेको छ । यसै गरी, यस बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ मा ६१.९४ रुपैयाँ नेटवर्थ कायम गर्ने र २०८४/८५ मा ६७.९४ रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।
सञ्चालकमा राष्ट्र बैंकका पूर्वकार्यकारीदेखि टियूका प्राध्यापकसम्म 
यस बैंकको सञ्चालक समितिको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी अधिकृत चन्द्रमान मलेकु छन् । तानसेन नगरपालिका-१, पाल्पा घर भएका मलेकु ३० वर्ष नेपाल राष्ट्र बैंकमा काम गरेका छन् । नेपाल राष्ट्र बैंकमा ३० वर्ष कार्यरत रही निर्देशक पदबाट सेवा निवृत्त भएका मलेकु २०६५ देखि २०६७ सम्म निक्षेप तथा कर्जा सुरक्षण निगमको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन् । यसैगरी, मलेकु २०६८ देखि २०७२ सम्म क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड प्रमुख सञ्चालन अधिकृत र २०७२ देखि २०७३ सम्म प्रमुख कार्यकारी अधिकृत भई काम गरिसकेका छन् ।
यसैगरी, मलेकु २०६२ देखि २०६५ सम्म अरनिको डेभलपमेन्ट बैंकको सञ्चालक र २०६१ देखि २०६२ सम्म मनकामना मनी एक्सप्रेस प्रालिको महाप्रबन्धक भएका थिए । मलेकुको प्रस्तावित व्यापार/व्यवसायमा अनुभव, वि.सं. २०७५ देखि वि.सं. २०७७ सम्म तथा मिति २०८१-०१-१८ देखि हालसम्म यस कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा रही काम गरेको अनुभव पनि रहेको छ ।
यसै गरी, यस बैंकको सञ्चालकमा सिरान चोक–८, गोरखाका टेकनाथ ढकाल रहेका छन् । उनी वि.सं. २०४६ देखि २०७५ सम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक एवम् विभागीय प्रमुखको रूपमा कार्यरत थिए । उनले वि.सं. २०६७ देखि २०७३ सम्म कसमस डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा रही काम पनि गरेका छन् । ढकालले वि.सं. २०७८ देखि २००० सम्म साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक पदमा रही काम गरेको अनुभव पनि रहेको छ। ढकाल मिति २०८१-०१-१८ देखि हालसम्म यस बैंकको सञ्चालक पदमा रहेर काम गरेका छन् । यस बैंकको सञ्चालकमा यशोदा अधिकारी रहेकी छिन् । यसै गरी, पुकार थापा पनि यस बैंकको सञ्चालकमा रहेका छन् ।
हाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पशुपति पौडेल छन् । उनी तत्कालिन पौवादुङ्गामा गाविस–२, भोजपुरका हुन् ।  एमबिए गरेका पौडेलले २०७५ सालसम्म विभिन्न कलेजहरूमा प्राध्यापन बि.सं. २०६९ सालदेखि बि.सं. २०७५ सालसम्म नारायणी डेभलपमेन्ट बैंकको सञ्चालक हुँदै अध्यक्षसम्म रही काम गरिसकेका छन् । उनले  बि.सं. २०७६ सालदेखि बि.सं. २०७० सालसम्म यस बैंकमा प्रमुख कार्यकारी अधिकृत भई काम गरेका छन् ।  उनले प्रस्तावित व्यापार-व्यवसायमा अनुभवरूः बि सं २०८२-०५-०१ देखि नारायणी डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime