तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले फरक क्षमता (अपांगता) भएकालाई निवासमा नै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्ने कार्यलाई जारी राखेको छ ।
यसक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आइतबार व्यास नगरपालिका–११ का मिनानाथ पन्थ र पवित्रादेवी पन्थकी फरक क्षमता भएकी छोरी २७ वर्षीया सविना पन्थलाई निवासमै नागरिकताको प्रमाणपत्र प्रदान गरे ।
विविध कारणवश हालसम्म नागरिकता प्राप्त नगर्नुभएकी सविनालाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रजिअ अधिकारीले जानकारी दिए।
सविनाको नागरिकता प्रमाणपत्रको सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयमा तयार गरिएको थियो । प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, ‘छिटो, छरितो र सहुलियत ढंगले सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य हो, सविना अपाङ्गता भएका कारण आवतजावतमा समस्या हुने भएपछि घरमै पुगेर नागरिकता दियौँ । यस्ता कार्यले सरकारप्रतिको भरोसा र सकारात्मक धारणा थप अभिवृद्धि भएर जाने छ ।’
यसअघि प्रजिअ अधिकारीले गत साउन ६ गते म्याग्दे गाउँपालिका–१ गुणादी निवासी फरक क्षमता भएकी २० वर्षीया नविना खनाललाई उनको निवासमै नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्