Skip to content

सुनको मूल्य इतिहास कै उच्च, किन बढिरहेको छ ?

विश्व बजारमा सुनको मूल्य कसरी निर्धारण गरिन्छ ? 

nabil bank
काठमाडौं । पछिल्लो केही समय यता सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम भइरहेको छ । गत शुक्रबारदेखि सोमबारसम्म सुनको मूल्य तोलामा ४ हजार ७ सय रुपैयाँले बढेको छ । गत शुक्रबार २ लाख ६ सय रुपैयाँ रहेको सुनको मूल्य सोमबार २ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको छ ।
यसैगरी, अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति औंस ३ हजार ४७० रुपैयाँ पुगेको छ । यो मूल्य वृद्धि भएर केही दिनमा ३ हजार ५ सय रुपैयाँ पुग्ने अनुमान गरिएको छ । सुनको मूल्य बढेको कारण अहिले सुन व्यवसाय सुनसान बनेको सुन–चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेज रत्न शाक्य बताउँछन् ।
अहिले नेपालले अन्तर्राष्ट्रिय बजार अनुसार गरेको मूल्य निर्धारणमा सुनको मूल्य २ लाख ५ हजार ३ सय रुपैयाँ रहेको छ । तर, सर्वसाधारण सुन किन्दा उक्त मूल्यमा पनि सरकारले लगाएको २ प्रतिशत विलासिता कर तिर्नुपर्ने हुन्छ । २ लाख ५ हजार ३ सय रुपैयाँ सुनको मूल्यमा विलासिताको कर थप्दा सुनको मूल्य २ लाख १० हजार रुपैयाँको हाराहारीमा पुगेको शाक्य बताउँछन् ।
यसरी सरकारले लगाएको विलासिता कर तिरेपश्चात् पनि सुनको ज्याला र जर्ती व्यवसायीले जोडेर सुन बेच्ने गदर्छन । सुनमा ज्याला जर्ती जोड्दा नेपाली बजारमा सुनको मूल्य तोलाको नै २ लाख १५ हजार देखि २०  हजार रुपैयाँसम्म पुगेको शाक्य बताउँछन् । पछिल्लो १२ महिनामा मात्रै सुनको मूल्य अन्ताराष्ट्रिय बजारमा ३० प्रतिशतले वृद्धि भएको छ।
किन बढ्यो मूल्य ? 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशमा ट्यारिफ (कर नीति) ल्याएका छन् । उनले विभिन्न देशलाई १० देखी ५० प्रतिशतसम्म करको दर बढाएका छन् । जसकाे असर सुन-चाँदी व्यवसायमा परेको छ । विभिन्न देशले ट्रम्पको नीतिलाई असुरक्षित नीति र व्यापार युद्ध निम्त्याउने नीतिका रूपमा लिएका छन् । यसको कारण पनि सुन खरिद बिक्री बढेको छ र यसले सुनको मूल्य वृद्धि भएको हो ।
पछिल्लो समय नेपालमा भारतीय र नेपाली मुद्राबीच नेपाली मुद्रा सस्तो भइरहेको छ । विश्व बजारमा नेपाली मुद्रा धेरै नै सस्तो भएका कारण यसले पनि नेपालीले महँगोमा सुन खरिद-बिक्री गर्नु परेको महासंघका पूर्व अध्यक्ष शाक्य बताउँछन् । पछिल्लो केही समय यता अमेरिकी डलरको भाउ पनि उच्च रूपमा बढेको छ । वैशाखमा एक रुपैयाँ अमेरिकी डलर बराबर नेपाली मुद्रा १३६ रुपैयाँ रहेकोमा भदौ १६ गतेसम्म आउँदा १४१.४२ पैसा रहेको छ ।
डलरको मूल्य दर बढ्दा आयात पनि महँगो हुन्छ । नेपाल आयात–केन्द्रित अर्थतन्त्र भएकाले अमेरिकी डलरको सटही दरले मूल्य निर्धारणमा ठुलो भूमिका खेल्छ । हाल डलर मजबुत भएका कारण आयातकर्ताले बढी मूल्य तिरेर सुन खरिद गर्नुपर्ने बाध्यता छ । जसको कारण सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम भएको छ ।
विगत केही वर्षदेखी सुरु भएको युक्रेन-रुस युद्ध, मध्यपूर्वमा बढ्दो तनाव तथा एसियाली क्षेत्रमा आपूर्ति सञ्जालमा अवरोध भएको छ । जसको कारण विश्वव्यापी व्यापार महँगो भएको छ । यसले विश्व बजारमा नै सुनको मूल्य बढेको छ । यसको प्रभाव नेपालमा पनि परेको हो । यसैगरी, बैंक अफ अमेरिकाले सन् २०२६ को मध्यसम्म सुनको मूल्य प्रति आउन्स ४ हजार अमेरिकी डलरसम्म पुग्ने अनुमान गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । फेडरल रिजर्भको स्वतन्त्रतामाथि देखिएको अनिश्चितता र बढ्दो भूराजनीतिक तनावको कारण सुनको मूल्य बढ्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको दाबी छ ।
पछिल्लो केही समय यता बैंक अफ युके लगायतका देशहरूले मुद्धति निक्षेपको ब्याजदर घटाइ रहेका छन्। जसका कारण बैंक अफ अमेरिकाले पनि ब्याजदर घटाउने संकेत गरेको छ । यसले पनि सुनको मूल्य बढ्न सहयोग गरेको छ ।  बैंक अफ अमेरिकाले ब्याजदर घटायो भने लगानीकर्ताले सुनमा लगानी बढाउने भएको कारण सुनको मूल्यमा वृद्धि हुने नेपाल-सुन चाँदी व्यवसायी महासँगको पधादिकारीहरु बताउँछन् ।
केही समय यता चीन र पोल्यान्डजस्ता देशहरूले सुन किन्ने दरलाई तीव्र बनाएका छन् । विभिन्न देशका केन्द्रीय बैंकहरूले निरन्तर रूपमा सुन खरिद गरिरहेका छन् । सन् २०२५ को मध्यसम्म विश्वव्यापी गोल्ड ईटीएफ होल्डिङमा ३ हजार ६१६ टन पुगेको छ । जसले सुरक्षित सम्पत्तितर्फ पुँजी रिकलेक्सन बढिरहेको देखाएको छ । ब्ल्याकरक जियोपोलिटिकल रिस्क इन्डिकेटर (बिजिआरआई)को जुलाई २०२५ मा प्रकाशित रिपोर्ट अनुसार विश्वव्यापी द्वन्द्व र व्यापार युद्धसँग सम्बन्धित जोखिम ऐतिहासिक औसतभन्दा एक ‘स्ट्यान्डर्ड डिभिजन’ माथि रहेको पुष्टि गरेको छ ।
विश्व बजारमा सुनको मूल्य कसरी निर्धारण गरिन्छ ? 
विश्वको थोक मूल्य निर्धारण मानिने ‘लेगल प्राक्टिस म्यानेजमेन्ट एसोसिएसन’ले हरेक दिन सुनकाे मूल्य २ पटक अमेरिकी डलरमा तोक्ने गरेको  छ। यसैगरी, अमेरिकाको कमेक्स, जापानको टोकम, सांघाई गल एक्सचेन्ज लगायतका अन्तर्राष्ट्रिय एक्सचेन्जहरूमा गरिने मूल्य निर्धारण (फ्युचरर्स कनट्याक्ट)  गरिएको हुन्छ ।
यो भनेको भविष्यको कुनै निश्चित मितिमा एउटा निश्चित मूल्यमा सुन किनबेच गर्ने सम्झौता भएको हुन्छ । यसैगरी, सुनको लागि ठुला बैंक तथा व्यापारी सिधै आफै ओटिसी मार्केटबाट पनि सुनको खरिद बिक्रीको कारोबार गर्ने गरेका छन् । यसको कारण विश्वमा सुनको मूल्यमा दैनिक उतारचढाव भएको छ ।
मुद्रास्फीति बढ्यो भने मान्छेहरू पैसाको साटो सुनमा लगानी गर्न रुचाउँछन् । सुनको माग बढे मूल्य वृद्धि हुने देखिन्छ । यसैगरी अमेरिकी डलरको मूल्य पनि सुनको मूल्यसँग जोडिएको छ । सामान्यतया डलरको मूल्य कमजोर भयो भने सुनको मूल्य बढ्ने गर्छ ।
सुनको मूल्य डलरमा तोकिने हुन्छ । यसले डलर सस्तो हुँदा अन्य मुद्रामा सुन खरिद गर्नेले सस्तोमा सुन किन्न सक्छन् । यसैगरी, विभिन्न देशका केन्द्रीय बैंकले पनि सुन किनेर राख्ने गरेका छन् । यसरी किनबेच हुँदा बजारमा सुनको आपूर्ति घट्छ र मूल्य बढ्छ ।
यसैगरी, ब्याजदरको प्रभाव पनि सुनको मूल्यमा पर्ने गरेको छ । जब विश्वमा राजनीतिक तथा आर्थिक अनिश्चितता सुरु हुन्छ यसले पनि सुनको मूल्य वृद्धिमा प्रभाव पार्ने गरेको हुन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा भएको व्यापार युद्ध, अन्य युद्ध लगायतका कारणले पनि सुनको मूल्य बढ्छ । लगानीकर्ताले सुनलाई सुरक्षित लगानीको रूपमा लिने गरेका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime