Skip to content

ऊर्जा प्रबर्धकको ध्यान ठूला जलविद्युत् आयोजनामा, बैंकले धमाधम बढाउन थाले लगानी

nabil bank

सम्झौता–१
बूढीगण्डकी अर्धजलाशययुक्त ३४१ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा लगानी गर्नका लागि साउन २३ गते सम्झौता भएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा ८ बैंक र अन्य २ कम्पनीले ५२ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेका छन् ।

उक्त सम्झौताअनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ भने लक्ष्मी सनराइजले ८ अर्ब, नबिलले ८ अर्ब, ग्लोबल आइएमईले बैंकले ७ अर्ब, माछापुच्छ्रेले ४ अर्ब, सिटिजन, नेपाल इन्फ्रास्ट्रक्चर र प्रभु बैंकले ३-३ अर्ब रुपैयाँ, कृषि विकास बैंकले २ अर्ब ५० करोड र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपलमेन्ट कम्पनी (एचआईडीसीएल) ले ४ अर्ब रुपैयाँ लगानी गर्न तयार भए ।

सम्झौतामा बैंकहरूका तर्फबाट नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र साहस ऊर्जाका निर्देशक सुशील थापाले हस्ताक्षर गरे । आयोजना टाइम्स इनर्जीले निर्माण गर्ने लागेको हो । यो साहस ऊर्जाको सहायक कम्पनी हो । आयोजना निर्माण गर्दा प्रतिमेगावाट २० करोड ५३ लाख रुपैयाँका दरले ७० अर्ब खर्च हुनेछ । आयोजनाले २५ प्रतिशत अर्थात् १७ अर्ब ५० करोड रुपैयाँ स्वपुँजीबाट जुटाउने जनाएको छ । स्वपुँजीमध्ये ५१ प्रतिशत लगानी साहस ऊर्जाको हुनेछ । आयोजनाको निर्माण आगामी पुसबाट सुरु गर्ने जनाएको छ ।

सम्झौता–२

२०८२ साउन १६ गते सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको बझाङको साइपाल गाउँपालिका–४ र ५ मा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भयो । कुमारी बैंकको नेतृत्व तथा एनएमबी बैंकको सह-नेतृत्वमा माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एसिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइसिएफसी फाइनान्स सहितले लगानी गर्ने सम्झौता भयो ।

उक्त सम्झौतामा कुमारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र प्रबद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरे करिब ४१ अर्ब ६० करोड लागतमा निर्माण हुन लागेको आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाइने छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) २०८० साल साउन १९ गते सम्पन्न भई २०८१ वैशाख ३१ गते विद्युत् उत्पादन अनुमति प्राप्त भइसकेको छ ।

सम्झौता–३
२०८१ फागुन २७ गते कालीगण्डकी गर्ज हाइड्रोपावरमा लगानी गर्न लक्ष्मी सनराइजसहितका ६ बैंकले सम्झौता गरे । उक्त आयोजनामा लक्ष्मी सनराइज र कालीगण्डकी गर्जबीच लगानी सम्झौता भएको छ । १८० मेगावाट क्षमताको लक्ष्मी आयोजनामा सनराइजको बैंकको अगुवाइमा २९ अर्ब ६२ करोड ६० लाख रुपैयाँ लगानी गर्न तयार भएका छन् । आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको छ  ।

आयोजनामा ग्लोबल आइएमई बैंकको ७ अर्ब १२ करोड ६० लाख, सिद्धार्थ बैंकको ५ अर्ब रुपैयाँ, हिमालयन बैंकले ३ अर्ब, नेपाल एसबिआई बैंकले ३ अर्ब र एभरेष्ट बैंकले २ अर्ब ५० करोड लगानी गर्र्ने छन् । बाँकी रहेको रकम लक्ष्मी सनराइज बैंकले गर्ने छ । परियोजना निर्माणका लागि बैंकको नेतृत्वमा सहभागी बैंकले कुल लागतको ७५ प्रतिशत र बाँकी २५ प्रतिशत कम्पनीका संस्थापक तथा सर्वसाधारणले लगानी गर्नेछन् ।

सम्झौता– ४
मनाङ–मस्र्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित १३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनामा नेपाली मात्रै नभएर विदेशी कम्पनीको सहित लगानी गरेको छ । आयोजनामा २०८१ कात्तिकमा चीनको एक्जीम बैंकसँग कर्जा सम्झौता भएको थियो ।

एक्जिम बैंकले १ अर्ब २४ करोड २५ लाख चिनियाँ युआन अर्थात् १७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर ऋण लगानी गर्नेछ । बाँकी ऋण रकम अन्य स्रोतबाट जुटाइएको छ । आयोजनाको अनुमानित लागत ३२ करोड ३० लाख अमेरिकी डलर (४३ अर्ब ६५ करोड रुपैयाँ) रहेको छ ।

उक्त आयोजनामा बुटवल पावर कम्पनीको पनि लगानी छ । साथै चिनियाँ कम्पनीहरू एसीआईजी इन्टरनेसनल लिमिटेड, सिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाइइसी इन्टरनेसनल कम्पनी लिमिटेड र सो कम्पनीहरूको संयुक्त लगानीको एसिआईजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट इन्भेसटमेन्ट कम्पनीको लगानी रहेको छ । यस आयोजनाको बाँध चामे गाउँपालिका–३ कोतोमा तथा विद्युत् गृह नासों गाउँपालिका–९ मा रहेको छ । यो आयोजनाले २०७७ चैत ९ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता गरेको छ ।

सम्झौता–५
२०८१ पुस २१ गते अप्पर मस्र्याङ्दी हाइड्रोपावर कम्पनीमा लगानी गर्न लक्ष्मी सनराइज बैंकको अगुवाईमा सम्झौता भयो । लमजुङ जिल्लास्थित मस्र्याङ्दी नदीमा निर्माण हुने १०२ मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी–१ जलविद्युत् आयोजनामा २१ अर्ब ४० करोड लगानी गर्न सम्झौता भयो ।

उक्त परियोजना निर्माण गर्नका लागि लक्ष्मी सनराइज बैंकले ७ अर्ब, ग्लोबल आइएमई बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्बसमेत गरी १६ अर्ब लगानी गर्न सम्झौता भयो । यो आयोजनाले २०८१ पुस ९ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता गरेको छ । कम्पनीको प्रवद्र्वकको रुपमा केसी ग्रुप र क्याल ग्रुप छन् ।

सम्झौता–६
२०८२ भदौ १७ गते एक्पर्ट हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले निर्माण गर्ने ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । आयोजनामा सिटिजन्स बैंकले २ अर्ब ५० करोड, नबिल बैंकले १ अर्ब ५० करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब २० करोड, सानिमा बैंक र सिद्धार्थ बैंकले समान १/१ अर्ब लगानी गर्ने भएका हुन् ।
द्विपक्षीय सम्झौतामा एक्पर्ट हाइड्रो इभेन्टका प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

९ अर्ब ६० करोड लागत रहने आयोजनामा २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत ऋणबाट जुटाइने प्रबन्ध निर्देशक नेपालले जानकारी दिए । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–७ र १४ मा निर्माण हुने सो आयोजना ४२ महिनाभित्र सम्पन्न गरिनेछ ।

आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विसं २०८० असार २७ मा विद्युत खरिद बिक्री सम्झौता गरिसकेको छ । करिब १ वर्षको अवधिमा १०० मेगावाटभन्दा ठूला यी ६ आयोजनामा वित्तीय व्यवस्थापन भएको छ । यी आयोजनामा स्वदेशी तथा विदेशी लगानीकर्ताले लगानी बढाएका छन् । यी मात्रै होइन, गत आवमा २० मेगावाट भन्दा ठूला २२ वटा आयोजनामा लगानी व्यवस्थापन भएको छ ।

२३.६७ मेगावाट क्षमताको इलेप (तातोपानी) खोला जलविद्युत् आयोजनामा पनि लगानी जुटिसकेको छ । गत आवमा लगानी व्यवस्थापन भएको आयोजनाले २०७५ असार २५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता गरेको छ ।

यस्तै ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनामा गत आवमा लगानी व्यवस्थापन भएको छ । यो आयोजनाले २०७५ कात्तिक ११ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भएको छ । माथिल्लो बलेफी जलविद्युत् आयोजनाले ४६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाले २०८० मंसिर ५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भएको छ ।

कपिलवस्तु सोलारले ३० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनाले २०८० वैशाख १० गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको छ ।

अप्पर मोदी जलविद्युत् आयोजनाले ४३ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । यसका लागि लगानी व्यवस्थापन भइसकेको छ । आयोजनाले २०८० भदौ ६ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको छ ।

संखुवाखोला जलविद्युत् आयोजनाले ४१.०६ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनाको लगानी व्यवस्थापन भइसकेको छ । आयोजनाले २०८० फागुन ८ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको छ ।

मदामे खोला हाइड्रोपावरले २४ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनाको लगानी व्यवस्थापन भएको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २०७५ साउन १५ गते विद्युत् खरिद सम्झौता गरेको छ ।

सागुखोला हाइड्रोपावर प्रोजेक्टले २० मेगावाट क्षमताको आयोजना निर्माण गर्न लागेको छ । आयोजनामा लगानी व्यवस्थापन भइसकेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २०७५ साउन १० गते विद्युत् खरिद सम्झौता गरेको छ ।

दानाखोला जलविद्युत् आयोजनाले ४९.९५ मेगावाट क्षमताको जलविद्युत् आयोजना बनाउने भएको छ । आयोजनाको लगानी व्यवस्थापन भइसकेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २०८० मंसिर ५ गते विद्युत् खरिद सम्झौता गरेको छ ।
घुन्साखोला जलविद्युत् आयोजनाले ७७.५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न लागेको छ । आयोजनाको लगानी व्यवस्थापन गत आवमा भइसकेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २०८१ वैशाख २१ गते विद्युत् खरिद सम्झौता गरेको छ ।

माथिल्लो संखुवाखोला हाइड्रो इलेक्ट्रिसिटी प्रोजेक्टले ४० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न लागेको छ । आयोजनाको वित्तीय व्यवस्थापन भइसकेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २०८० असार २५ गते विद्युत् खरिद सम्झौता गरेको छ ।

लेप्चे तामाकोसी हाइड्रोपावर प्रोजेक्ट आयोजनाले ४२ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न लागेको छ । आयोजनाको वित्तीय व्यवस्थापन भइसकेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २०७९ माघ ४ गते गते विद्युत् खरिद सम्झौता गरेको छ । गत आवको लगानी व्यवस्थापन गरेका कम्पनीमा धेरै २० मेगावाटभन्दा ठूला आयोजना रहेका छन् ।

करिब एक वर्षयता २० मेगावाटभन्दा ठूला १ हजार ७१२.७४२ मेगावाटका आयोजनामा लगानी जुटेको छ । नेपालको इतिहासमा निजी क्षेत्रले निर्माण गर्न लागेको ठूलो आयोजना भनेको बूढीगण्डकी आयोजना हो । यी तथ्यले जलविद्युत् क्षेत्रमा निजी क्षेत्रले गर्ने लगानी बढ्दै गएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका महासचिव बलराम खतिवडाले ऊर्जा क्षेत्रमा अहिले मात्रै नभएर भविश्यमा समेत राम्रो प्रतिफको सम्भावना भएका कारण स्वदेशी तथा विदेशी लगानी भित्रिरहेको बताउँछन् । ऊर्जा क्षेत्रमा लगानी गर्दा त्यसको प्रतिफल सुनिश्चित रहेको र कर्जा डुब्ने सम्भावना नहरेका कारण पनि यो क्षेत्रमा लगानी बढ्न थालेको उनको भनाइ छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले पनि यो क्षेत्रमा लगानी बढाइरहेका छन् । अहिले बैंकले गर्ने लगानीका क्षेत्रमध्ये ऊर्जा क्षेत्र निकै सुरक्षित रहेको उनको भनाइ छ । पछिल्लो समय ऊर्जा प्रबर्धकहरू पनि सानाभन्दा ठूला आयोजनामा लगानी बढाउन थालेका छन् । लगानीको सुनिश्चित, सरकारले लिएको २८ हजार ५०० मेगावाटको लक्ष्य पुरा गर्न सघाउनका लागि पनि अहिले प्रबर्धकहरू सानाभन्दा ठूला आयोजना निर्माणमा ध्यान दिन थालेका छन् ।

अहिले विश्वभर नै ग्रिन र क्लिन इनर्जीको माग बढेका कारण यो क्षेत्रमा लगानी बढ्दै गएको, यो क्षेत्रमा लगानी गर्न सबैको चासो रहेको इप्पानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भीम गौतम बताउँछन् । नेपालमा ऊर्जा उत्पादनको सम्भावना धेरै रहेको, उत्पादन भएको विद्युत् भारत, बंगलादेशमा निर्यात हुन थालेकोले पनि लगानीकर्ता आकर्षिक हुने गरेको सीईओ गौतमको भनाइ छ । नेपालमा निजी क्षेत्रले लगानी गर्ने क्षेत्रमा जलविद्युत् क्षेत्र निकै आकर्षित मानिन्छ । उत्पादनमूलक क्षेत्रमा भएको लगानी मध्ये ऊर्जा सबैको प्राथमिकतामा पर्ने गरेका छन् ।

हालसम्म बैंकले मात्रै करिब साढे ६ खर्ब लगानी यो क्षेत्रमा गरेको उनका छन् । ऊर्जा क्षेत्रलाई सरकारले लोडसेडिङ हटेपछि अली प्राथमिकतामा राखेको छ । समय समयमा हुने नीतिगत अवरोध बाहेक सरकारले ऊर्जा क्षेत्रमा हुने लगानीलाई प्राथमिकतामा राखेको छ । ‘ऊर्जा सबैका लागि अनिवार्य हो । यसमा सरकारले पनि प्राथमिकता दिएको छ ।

आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने भनेको छ’ गौतमले भने ‘सरकारको यो लक्ष्य सरकारी लगानीले मात्रै पूरा हुँदैन । निजी क्षेत्रको पनि सहयोग आवश्यक छ । आयोजना तयार भएर विद्युत् उत्पादन भएपछि आयोजनामा लाग्ने खर्च, हुने आम्दानी निश्चित भएपछि लगानीकर्ताको पनि आकर्षण देखिएको छ ।’

लगानीकर्तामात्रै होइन, ऊर्जा प्रबर्धकहरू पनि अहिले साना भन्दा ठूला आयोजना निर्माण गर्नतर्फ लागेका छन् । ‘सरकारले प्रशारण लाइन बनाउने, बजार सुुनिश्चित गरेपछि प्रबर्धकहरू पनि ठूला आयोजना बनाउने तर्फ जुटेका छन्’ उनले भने, ‘ऊर्जा उत्पादन हुन थालेपछि खर्च, आम्दानी निश्चित हुन्छ । प्रतिफल पनि राम्रो पाइन्छ । राज्यको लागि योगदान पनि हुन्छ ।’

हाल ४१ सयर मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । करिब ४ हजार क्षमताका आयोजनाको पीपीए भएर वित्तीय व्यवस्थान भएको छ । ३६ सय मेगावाट क्षमताका आयोजनाको निर्माण सम्पन्न भएको छ । अझै १३ हजार मेगावाट क्षमताका आयोजना निर्माणका लागि प्राधिकरणलाई आवेदन दिएर पीपीएको चरणमा छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime