Skip to content

पहिरोले एक पसलमा क्षति, ८ घर जोखिममा, सडक अवरुद्ध

nabil bank

बैतडी । लगातारको वर्षाका कारण बैतडीका विभिन्न स्थानका भौतिक संरचनामा क्षति पुगेको छ । निरन्तरको वर्षा पछि आएको पहिरोका कारण जिल्लाको पाटन नगरपालिका–४ भट्टागाउँका धर्मानन्द भट्टको दुईतले पसल भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

उनका अनुसार पसल भत्किँदाभित्र रहेका खाद्यान्न र किराना सामान गरी रु एकलाख बढीको क्षति भएको छ । पुर्चौंडी नगरपालिका–३ खालीका कर्णबहादुर धामीको दुईवटा घर भत्किन सुरु भएका उनले बताए ।

वर्षाका कारण जमिन भासिएर घरको दुवैतर्फको पर्खाल चर्किन थालेकाले उक्त दुई घर पहिरोको उच्च जोखिममा रहेका प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए । उनका अनुसार धामीको छ जनाको परिवार र पशुचौपायालाई सुरक्षित स्थानमा सारिएको छ ।

‘मेलौली नगरपालिका–३ कुचगाँडका रामसिंह भाट र करणदत्त बागको घर पहिरोको जोखिममा परेका छन् । रामसिंहको घरछेउमा बाँधिराखेको खसी पहिरोले पुरेको छ । दुवै जनाको घरमा क्षति पुगे पनि मानवीय क्षति भने भएको छैन’, उनले भने ।

जिल्लाको सुर्नया गाउँपालिका–३ बुढीबाँसका वीरसिंह विष्ट र मानसिंह विष्टको घर जोखिममा परेका हुन् । लगातारको वर्षाले आँगन भासिएर घर भत्किने अवस्थामा पुगेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण दोगडाकेदार गाउँपालिका–३ इडाकोटका वीरभानसिंह भाट र नारायणसिंह भाटको घर जोखिममा परेपछि दुवैको परिवार आफन्तको घरमा बसिरहेका प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिएयो ।

मंगलबार दशरथचन्द नगरपालिका–१० आधारपिण्डमा पहिरो खसेर अवरुद्ध भएको गोठालापानी–झुलाघाट सडकको पहिरो हटाएपछि सञ्चालनमा आएको थियो । दशरथचन्द–२ सुगरखाली नजिक पहिरो खस्दा भदौ १४ गतेदेखि देहिमाडौँ–गिरेगडा सडक बन्द रहेको प्रहरी प्रवक्ता पाण्डेयले जानकारी दिए ।

‘वर्षाकै कारण पाटन नगरपालिका–६ ओदाली बस्ने गणेशबहादुर चन्दको घर भत्किएको छ । पुर्चौंडी–४ बिडगैराका करवीर भट्टको दुईतले घरको आँगनदेखि जमिन भासिएको छ । उनको छ जनाको परीवारलाई सुरक्षित स्थानमा सारिएको छ । साथै लक्ष्मीपुर आधारभूत विद्यालयको भत्किदा भवन जोखिममा परेको छ’, उनले भने ।

वर्षाका कारण विपद्को जोखिम बढेकाले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको बताउँदै सम्भावित जोखिम भएमा तत्काल उद्धारका लागि जिल्लास्थित सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime