काठमाडौं । आज बिहीबारदेखि शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
उक्त कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ।
उक्त कम्पनीले हकप्रद सेयर निष्कासनका लागि गत साउन १६ गते बुकक्लोज गरेको थियो। कम्पनीको हकप्रद सेयरमा असोज ८ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंक इन्टरनेशनलका कुमारीपाटी, ठीमी, विराटनगर, बिर्तामोड, विरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौंडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिन्छ ।






प्रतिक्रिया दिनुहोस्