Skip to content

५ करोडको लागतमा पनाहा खोलामा पक्की पुल निर्माण

nabil bank

गुल्मी । जिल्लाको पनाहा खोलामा पुल निर्माण भएसँगै सो क्षेत्रका नागरिकलाई आवागमनमा सहज भएको छ । रेसुङ्गा नगरपालिका–४ र इस्मा गाउँपालिका–२ को सङ्गमस्थल पनाहा खोलामा रु पाँच करोड लागतमा पक्की पुल निर्माण भएको हो ।

लामो समयको प्रतिक्षापछि पनाहा खोलामा निर्माण गरिएको उक्त पक्की पुलले दुई पालिकाका नागरिकलाई आवतजावत गर्न निकै सहज बनाएको छ । यसअघि पक्की पुलको अभावमा सो क्षेत्रमा वर्षौँदेखि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।

पुल निर्माण भएपछि यतिबेला बिहान, बेलुका सदरमुकाम तम्घास आवतजावत गर्न, आवश्यक सामग्री ढुवानीमा सहज भएको स्थानीय पूर्णबहादुर श्रेष्ठले बताए। सडक डिभिजन कार्यालय पाल्पाको पाँच करोड छ लाख रुपैयाँ लागतमा उक्त पुल निर्माण भएको हो । पुलको लम्बाइ ३५ मिटर र चौडाइ ११ मिटर रहेको छ ।

योसँगै अहिले रेसुङ्गा नगरपालिका‐४ बाट इस्माको पालुखा र धुर्कोटको जैसीथोकसम्मका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । गाईवस्तुलाई वारिपारि गराउन, गाउँमा उत्पादिन कृषि उपज बिक्रीका लागि बजारसम्म लैजान, सवारीसाधन सञ्चालन गर्न, बालबालिकालाई विद्यालयसम्म आवतजावत गर्न सजिलो बनाएको स्थानीय कमला पन्थीले बताए।

यसअघि खोलामाथि पक्की पुल नहुँदा वर्षाको समयमा मानिसलाई आधा घण्टामा पुगिने ठाउँमा डेढ घण्टाकोे यात्रा गरेर जानुपर्ने बाध्यता रहेको स्थानीय टङ्कप्रसाद श्रेष्ठले बताए। ‘अहिले पुल निर्माण भएपछि सबैलाई निकै सजिलो बनाएको छ, बर्खाको समयमा खोला तर्दा कतै बगाउँला कि भन्ने ठूलो त्रास हटेको छ’, उनले भने।

खोलामा सवारीसाधन लैजाँदा पहिला जोखिम मोल्नुपर्ने र कतिपय अवस्थामा सवारीसाधन बगाइदिने समस्या थियो । अहिले पुल बनेपछि उक्त जोखिम टरेपछि नागरिक खुसी भएका छन् । महादेव खिम्ती श्रेष्ठ कन्सट्रक्सन प्रालिद्वारा निर्माण सुरु भएको चार वर्षपछि पनाहा खोलामा पक्की पुल सम्पन्न भएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime