Skip to content

राष्ट्रपति पौडेललाई अविलम्ब राष्ट्रको नाममा सम्बोधन गर्न सांसद थापाको अपिल

nabil bank

काठमाडौं । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई अविलम्ब राष्ट्रको नाममा सम्बोधन गर्न अपिल गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले अविलम्ब राष्ट्रको नाममा सम्बोधन गर्दै नागरिकलाई आश्वस्त र विश्वस्त बनाउन अपिल गरेका छन् ।

सांसद थापाले केही दिनयता विकसित भएका घटनाक्रम र गतिविधिहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

यस्तो छ सांसद थापाले जारी गरेको विज्ञप्तिः

यस अवधिमा आफ्नो अमूल्य जीवन गुमाउने होनहार जेनजी युवाहरूप्रति श्रध्दाञ्जलि अर्पण गर्दछु । त्यसयता मलुकमा सिर्जित राज्यबिहीनता र सुरक्षा रिक्तताको अवस्थामा असुरक्षा, अमानुषिक दुर्व्यवहार, आक्रमण र सर्वत्र आगजनी एवं लुटपाटको मारमा पीडित-प्रताडित सबैप्रति गहिरो सहानुभूतिकासाथ धैर्यधारण गर्न आग्रह गर्दछु ।

जनताको नासो संसद विघटनको असंवैधानिक कदममा देशी-विदेशी स्वार्थ समूहहरू सक्रिय रहेको स्पष्ट देखिएको छ । संविधानसम्मत र सार्वभौम संसदको छलफल एवं निर्णयभन्दा भिन्नढंगले कोही पनि अघि बढ्न खोज्नु असंवैधानिक मात्र होइन स्वतन्त्रता र मानव अधिकारका लागि पटक पटक भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई कत्लेआम गर्ने पश्चगामी र प्रतिगामी कदम हुनेछ । आवधिक निर्वाचनले स्थापित गरेको जनमतलाई खण्डित गर्ने अर्को निर्वाचनले मात्रै हो । असंवैधानिक रूपमा संसद विघटनको परिकल्पना संविधानले गरेको छैन ।

जहाँसम्म अहिलेको आन्दोलनले खोजेको सुशासन र प्रतिनिधित्व प्रणालीमा परिवर्तनको विषय छ, त्यसलाई संविधान संशोधनको माध्यमबाट समाधान गर्नसक्ने र संविधानको परिधिभित्र रहेरै जान सकिने अवस्था पनि विद्यमान छ । त्यसतर्फ सहमतिका साथ अगाडि बढ्नु संवैधानिक र बुद्धिमत्तापूर्ण निर्णय हुनेछ ।

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू

संविधान विपरितको काम र क्रियाकलापमा सहभागी वा सहमत हुनुभएको छैन र हुनुहुने पनि छैन भन्ने विश्वासमा छौं । सम्माननीय राष्ट्रपतिलाई यस्तो काम गर्नमा कुनै अवाञ्छित प्रयास कहीं कतैबाट नहोस् । सम्माननीय सभामुख महोदयबाट जनमत र जनताको सार्वभौमसत्ताको अभ्यास हुने प्रतिनिधिसभाको रक्षा र उचित भुमिका निर्वाहका निम्ति विशेष अनुरोध गर्दछु ।

नेपाली सेनाका परमसेनाधिपति महोदयले नेपाली सेनालाई शान्तिसुरक्षा व्यवस्थापनको मुख्य काममा निर्देशित गरेर लोकतन्त्रको सर्वस्वीकार्यतामा नै देशलाई अघि बढाउन पहल गर्नु अपरिहार्य छ । यस विपरितका कार्यको किमार्थ समर्थन हुने छैन र हुन सक्ने छैन ।

सरकार बनाउने संसदले हो। यो मूलबाटो छाडेर वा बिराएर अथवा भत्काएर देशलाई सही रूपमा अघि बढाउन संभव हुने छैन । इतिहासमा कलंकको टीका लगाउने गल्ती कसैबाट नहोस् । यति कुरामा हरेक लोकतन्त्र पक्षधरले ध्यान दिनुपर्छ ।

लोकतन्त्रका हिमायती सम्पूर्ण राजनीतिक दलहरू आ–आफ्नो धारणा स्पष्ट गर्दै संयुक्त रूपमा राष्ट्र, संविधान र जनमतको नासोको रक्षाका निम्ति मोर्चाबन्दीमा जुट्नुपर्ने अवस्थातर्फ समेत ध्यानाकर्षण गराउन चाहन्छु । राष्ट्रपति महोदय, कहाँ हुनुहुन्छ ? अविलम्ब राष्ट्रको नाममा सम्बोधन गरेर आम नागरिकलाई आश्वस्त र विश्वस्त बनाउनुहोस !

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime