काठमाडौं । दशकौंको मेहनत, पसिना र सपना—मिनेटमै खरानी भयो। रातदिन नभनी, पिँढी दरपिँढी बनाएको उद्योग–व्यापार, पसिना र पूँजी, केही घन्टामै धुलोमा मिल्यो। सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनमा निम्तिएको अराजकताले मंगलबार हिंस्रक मोड लिनासाथ निजी क्षेत्रले सबैभन्दा ठूलो घाउ खेप्नुपर्यो।
कसैले सोचेको थिएन अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्र, एकै झट्कामा भत्किन्छ भनेर। तर, मंगलबारको आन्दोलनले संघीय संसद भवनदेखि सिंहदरबारसम्म, अख्तियारदेखि सर्वोच्चसम्म सरकारी संरचना मात्रै होइन, देशभरका निजी संरचनामाथि पनि आगोको बलिरहेको थियो ।
काठमाडौं उपत्यकाभित्र मात्रै होइन, बाहिरका जिल्लामा समेत जेनजी आन्दोलनले छानिछानी व्यवसायी, उद्योगी र उद्यमीको घर–व्यवसायमाथि भयोआक्रमण गर्यो। भाटभटेनी सुपरमार्केटका २१ वटा स्टोरमा क्षति, जस मध्ये १२ पूर्णरूपमा ध्वस्त भयो,हिल्टन होटल र वर्णबास होटलमा आगो लाग्यो चौधरी ग्रुपका शो–रुमदेखि टाटा गाडीको शोरुमसम्म आगो र लुटपाट भयो । शेखर गोल्छा, विनोद चौधरी, ध्रुव थापालगायतका उद्यमीका घर–कार्यालयमा आक्रमण भए । करिब दुई दर्जनभन्दा बढी उद्यमी व्यवसायीका घर कार्यालय र प्रतिष्ठान जले ।
यो केवल तोडफोड मात्र थिएन, यो दशकौंको मेहनत, हजारौं परिवारको रोजगारी र लाखौं उपभोक्ताको विश्वासमाथि गरिएको निर्दयी प्रहार थियो।
यो भयावह क्षणपछि पनि निजी क्षेत्र निराश होइन। बरु, खरानीबाट उठ्ने फिनिक्स चरा झैं उनीहरूले पुनःनिर्माण र लगानी गर्ने संकल्प लिएकाछन्।
भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले भने,“अर्बौंको क्षति बेहोर्नुपरेको छ। तर, ग्राहकहरूको साथ र समर्थनले हामीलाई अझै उठ्ने मनोबल दिएको छ। आशाको दियो निभेको छैन।”
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको स्वरमा पनि साहस झल्किन्छ। “हाम्रो परिवार पनि प्रभावित भयो। तर, निराश वा विचलित भएका छैनौं। अन्धकारपछि उज्यालो आउँछ भन्ने विश्वासका साथ हामी अझ सशक्त भएर रोजगारी सिर्जना गर्नेछौं।”
नेपालकै ठूला व्यवसायिक घराना मध्ये एक चौधरी ग्रुप (सीजी) पनि अछुतो रहेन। शोरुम जले, सम्पत्ति खरानी भयो। तर, प्रबन्ध निर्देशक निर्वाण चौधरीको प्रतिक्रियामा साहस र आत्मबल प्रस्ट देखिन्छ।
“हामीलाई चोट लागेको छ, हामी हल्लिएका छौं, तर भाँचिएका छैनौं। भवनहरू जलाउन सकिन्छ, तर हाम्रो सपना जलाउन सकिँदैन। शो–रुमलुट्न सकिन्छ, तर हाम्रो मूल्य चोर्न सकिँदैन। हामी पुनःनिर्माण गर्नेछौं, अझ बलियो भएर अघि बढ्नेछौं।”
यसरी, सबैभन्दा पीडादायी घडीलाई पनि उनले अवसरको रुपमा लिएर भविष्यप्रति दृढ संकल्प देखाएका छन्।
नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का निवर्तमान अध्यक्ष ध्रुव थापाले पोखरास्थित शोरुम र पुर्ख्यौली घर दुवै गुमाए। ३५ वर्षकोमेहनत, बुबाबाजेले आर्जेको सम्पत्ति, केही मिनेटमै खरानीमा परिणत भयो। तर, उनी निराश होइनन्।
“जीवनकै सबैभन्दा ठूलो पीडा हो। तर तपाईंहरूको उत्प्रेरणाले हामीलाई अझ सशक्त भएर अघि बढ्ने हौसला दिएको छ।”
उनको भनाइले स्पष्ट पार्छ—भौतिक सम्पत्ति गुमे पनि साहस गुमेको छैन।
देशको निजी क्षेत्र : अन्धकारपछि उज्यालोतर्फ
जेनजी आन्दोलनको तात्कालिक परिणाम भयावह छ—५१ जनाको मृत्यु, अर्बौंको क्षति, रोजगारी गुमाएका हजारौं कामदार। तर, दीर्घकालीनप्रभाव अझ गहिरो छ। यसले देशको राजनीतिक नेतृत्वलाई मात्र होइन, निजी क्षेत्रलाई पनि नयाँ सोच, नयाँ संकल्प र नयाँ यात्रातर्फ धकेलेकोछ।
व्यवसायीहरूले यो घटनालाई केवल नोक्सानी वा हारको रूपमा होइन, चुनौतीलाई अवसरको रूपमा लिन थालेका छन्।
खरानीबाट पुनःनिर्माणतर्फको यात्रा
निजी क्षेत्रलाई थाहा छ—पुनःनिर्माण सजिलो छैन। ठूलो आर्थिक घाटा, कामदारको विस्थापन, उपभोक्ताको विश्वास पुनःस्थापित गर्ने चुनौती।तर, उनीहरूका संकल्प अझ अटुट छन्। यो संकल्प केवल निजी व्यवसायको मात्रै होइन, संपूर्ण देशको आशा पनि हो। किनभने, रोजगारी सिर्जना गर्ने, अर्थतन्त्रलाई गति दिने, र समाजलाई जोड्ने मेरुदण्ड निजी क्षेत्र नै हो।
जेनजी आन्दोलनले भष्ट्राचारको विरोध थियो । जुन जरुरी पनि थियो । तर,आन्दोलनको नाममा भएको अराजकताले देशलाई घोर अन्धकारमा धकेलेको छ। तर, यही अन्धकारबीच पनि निजी क्षेत्रका उद्यमीहरूले आशाको दियो बालिरहेका छन्। तिनीहरूको स्वर, पीडा र संकल्प एउटै कुराभन्छ—
“हामीलाई जलाउन सकिन्छ, तर हाम्रो सपना जलाउन सकिँदैन। हामी पुनःउठ्छौं, अझ बलियो भएर।”






प्रतिक्रिया दिनुहोस्